कैलाली । कैलालीको मोहना नदी क्षेत्रको कटान रोक्न २० हेक्टर क्षेत्रमा ३२ हजार बिरुवा रोपण सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका–३ र १३ मा रहेको डिलासैनी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्रको बगर क्षेत्रमा वृक्षारोपण सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय कैलालीको सहकार्य र नेचर नेक्सस नेपालको आयोजनामा शनिबारदेखि वृक्षारोपण सुरु गरिएको डिभिजन वन अधिकृत कृष्णदत्त भट्टले बताए ।
वन क्षेत्रभित्रको खाली जमिनलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण सुरु भएको बताउँदै उनले यसले नदी कटान रोकथाममा सहयोग पुग्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण सहयोग मिल्ने बताए ।
डिलासैनी सामुदायिक वनका अध्यक्ष कृष्णसिंह ऐरका अनुसार सामुदायिक वनभित्रको खाली जमिनमा वृक्षारोपण गर्ने योजना रहेको जानकारी दिनुभयो । मोहना नदीको कटान हुने क्षेत्रलाई पनि मध्यनजर गर्दै ३२ हजारभन्दा बढी बिरुवा रोप्ने योजना रहेको उनले बताए ।
नेचर नेक्सस नेपालका निर्देशक वीरेन्द्र विष्टले वृक्षरोपणले वातावरण संरक्षणमा मात्र नभई जनचेतना फैलाउने काममा सहयोग पुग्ने बताउनुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपण गर्ने काम भरपर्दो भएकाले जैविक विविधता संरक्षणका लागि वृक्षारोपण अनिवार्य रहेको जनाइएको छ ।