काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले पार्टीभित्र निषेधको नीति लागू हुन नसक्ने बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत उनले लेखे, ‘पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन ।’ उनले भने, ‘केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सकियोस् ।’

बाँस्कोटाले विगतका वर्षहरू—२०३९/४५, २०४७/४९, २०५२/५४, २०५८/५९, २०६५, २०७१ र २०७७/७८ लाई स्मरण गर्दै ती समयमा पार्टीभित्र र बाहिरका घटनाक्रममा आफ्नो संलग्नता र अनुभव रहेको उल्लेख गरे। उनले प्रश्न गरे, ‘को कस्ता थिए, कता थिए र छन् रु त्यो पनि थाहै छ ।’
यो भनाइले पार्टीभित्रको वर्तमान गतिशीलता र नेतृत्वको भूमिकाप्रति उनको गम्भीर टिप्पणी झल्काउँछ । यो टिप्पणी पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा र पार्टीभित्र गुटबन्दीको विषयले चर्को रूप लिएको सन्दर्भमा आएको हो ।
बाँस्कोटा विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कनुपर्ने पक्षमा रहेका नेतामध्ये एक हुन् । उनको यो अभिव्यक्तिलाई पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्वको भूमिकामाथिको बहससँग जोडेर हेरिएको छ। एमालेमा पछिल्लो समय नेतृत्व र गुटबन्दीका विषयमा तीव्र बहस चलिरहेको छ ।