काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूलाई उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतका कमजोरीहरू सुधार्दै व्यावसायिकता र संयमता प्रदर्शन गरी नागरिक केन्द्रित भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत समसामयिक विषयमा सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो।महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन र विपद्को समयमा स्रोतसाधनको उच्चतम प्रयोग गरी जोखिम क्षेत्रमा सचेतना फैलाउन तथा विभिन्न निकायहरूसँग समन्वय गरी उद्धार कार्यमा सक्रिय हुन प्रहरी कर्मचारीहरूलाई आह्वानगरे ।
उनले प्रविधिजन्य अपराध, सङ्गठित अपराध र लागूऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रणमा विशेष सजगता अपनाउन जोड दिए । साथै, महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधप्रति संवेदनशील भई कार्य गर्न, हिरासत व्यवस्थापनमा सुधार गर्न र फरार प्रतिवादी पक्राउमा सक्रियता देखाउन निर्देशन दिए ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगले परिचालन हुनुपर्नेमा उनले जोड दिए । सङ्गठनको नीति–निर्देशनको कडाइका साथ पालना गर्न, प्रहरी कर्मचारीका गुनासो सम्बोधन गर्न र उच्च मनोबलका साथ सामूहिक भावनामा कार्य गर्नसमेत उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै सातवटै प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय, जिल्ला प्रहरी परिसर र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए ।