काठमाडौं । गुरु पूर्णिमाको अवसरमा योग विज्ञान साधना केन्द्रका प्रमुख योग प्रशिक्षक विद्यालक्ष्मी श्रेष्ठलाई एक समारोहबीच अभिनन्दन गरिएको छ ।

कुलेश्वर आवास परिवार कल्याण संस्थाको समन्वय र सहकार्यमा पतञ्जली योग समितिद्वारा सञ्चालित साधना केन्द्रका परिवारद्वारा योग गुरु श्रेष्ठलाई सम्मान गरिएको हो ।
उक्त समारोहमा सात जना सह–प्रशिक्षकहरु श्यामराज पौडेल, कविता सुवेदी, सरु श्रेष्ठ, राधा बस्नेत, तुल्सा दाहाल, सृर्जना अर्याल र माया लामालाई पनि सम्मान गरिएको थियो ।
कुलेश्वर आवास क्षेत्रको तीनकुनेमा सञ्चालित उक्त योग शिविरमा दैनिक ५० जनाभन्दा बढी योग साधकहरु सहभागी रहेका छन् । जसमध्ये, अधिकांश महिला रहेका छन् ।

२०७२ सालदेखि नियमितरुपमा सञ्चालन हुँदै आएको उक्त योग शिविरमा धेरैले स्वास्थ्य लाभ गर्नुका साथै तनावमुक्त जीवन जिउने कला सिकेका छन् । उक्त शिविरमा सहभागीहरु प्रायः गृहिस्थी रहेका छन् । शिविरमा योग, ध्यान, शारीरिक व्यायामका साथै बेला बेलामा गुरुहरुद्वारा प्रवचन पनि दिइने गरिएको छ ।
‘योग गरौँ, स्वास्थ्य बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालित उक्त योग शिविरलाई वडा कार्यालय १४ र कुलेश्वर आवास परिवारबाट सहयोग प्राप्त भएको प्रमुख योग गुरु विद्यालक्षमी श्रेष्ठले दृष्टिन्युज अनलाइनलाई बताइन् ।














