
काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै अमेरिकी भिसाको डिएस १६० फाराममा हाल नयाँ सुरक्षासम्बन्धी मापदण्ड लागू गरिएको जानकारी दिएको हो ।
नयाँ मापदण्डअनुसार अब भिसा आवेदकले आफूले पाँच वर्षदेखि प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जालबारे सम्पूर्ण जानकारी दिनुपर्ने छ । सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्ने र भविष्यमा पनि अमेरिकी भिसाका लागि अयोग्य ठहरिन सक्ने समेत दूतावासले चेतावनी दिएको छ ।
‘भिसा आवेदन फारम म्क्–१६० मा आवेदकहरूले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरू तथा ती सबैका प्रयोगकर्तानाम वा ह्यान्डलहरू उल्लेख गर्नु अनिवार्य छ,’ दूतावासले भनेको छ, ‘आवेदन फारम हस्ताक्षर गरी पेश गर्नु अघि आवेदकहरूले आफूले दिएको सम्पूर्ण जानकारी सही र सत्य भएको प्रमाणित गर्नुपर्छ । सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुन सक्छ र भविष्यमा पनि अमेरिकाको भिसाका लागि तपाईं अयोग्य ठहरिन सक्नुहुनेछ ।’















