काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनामा ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले यो प्रक्रियालाई ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचार’ को संज्ञा दिए। डा. वाग्लेले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाको भनाइलाई उद्धृत गर्दै नयाँ स्टक एक्सचेन्जको प्रक्रियालाई ‘शुद्ध र नाङ्गो भ्रष्टाचार’ को खेल भनेका हुन् ।

उनले भने, ‘अर्थशास्त्रीको नाताले यो सुन्दा मलाई दुख लाग्यो, तर डा। खतिवडाको विश्लेषणमा मेरो पूर्ण समर्थन छ ।’ प्रतिस्पर्धा र उपभोक्ता हितमा आफ्नो विश्वास रहे पनि अहिलेको प्रक्रिया गलत नियतबाट अघि बढेको उनको भनाइ छ ।
‘यो प्रक्रिया स्वार्थ समूहले नीति निर्माणलाई कब्जा गरेको डरलाग्दो नमुना हो,’ उनले भने । ‘राजनीतिक दलहरूले स्रोत जुटाउन यस्ता खेलहरू रच्ने गरेको र नेपालको खर्चिलो राजनीतिक प्रणालीलाई धान्न यस्ता कार्य हुन्छन् ।’
नेप्सेको पुनर्संरचना, पुँजी वृद्धि र निजी क्षेत्रको सहभागिता बढाउन समयबद्ध योजना बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘पहिला नेप्सेलाई सुधारौँ, निश्चित समयसीमामा काम गरौँ । अर्थतन्त्रको आकार र वित्तीय विविधीकरणले मागेमा मात्र दोस्रो एक्सचेन्जको कुरा सोचौँ, अहिले हतार गर्नु हुँदैन,’ उनले भने । वाग्लेले प्रक्रियामा संलग्न केही व्यक्तिहरूको स्वार्थ बाझिएको पनि औँल्याए ।
‘निर्णय प्रक्रियामा स्वार्थ बाझिएका व्यक्तिहरूले आफूलाई अलग राख्ने अन्तर्राष्ट्रिय अभ्यास यहाँ पालना भएको छैन। यो अपारदर्शी र शङ्कास्पद प्रक्रियाले सीमित व्यक्ति र समूहलाई मात्र फाइदा पुग्छ,’ उनले बताए।उनले सरकारको प्राथमिकता विद्यमान संरचनालाई बलियो र पारदर्शी बनाउनु हुनुपर्नेमा जोड दिए । ‘यो अनावश्यक हतार र लवीको खेल तत्काल बन्द गर्नुपर्छ,’ उनले भने ।














