
माओवादी ‘जनयुद्ध’ केवल एक सशस्त्र द्वन्द्व मात्र थिएन, त्यो नेपाली कम्युनिष्ट इतिहासको एउटा क्रान्ति थियो । जन क्रान्तिमा हातमा किताब बोकेका विद्यार्थी, काँधमा हलो बोकेका किसान, छुवाछूत र अपहेलनाको भारीले थिचिएका दलित, जनजाति र उत्पीडितहरूको सपना थियो । तर आज त्यो सपना सपना नै रह्यो ।
भनिन्छ, यदि शहीदको रगतमा फूल फुल्न सकेन भने त्यो इतिहासको कलंक बन्छ, तर माओवादी नेतृत्वले शहीदलाई सुविधाका लिस्टमा होइन, स्मृतिमा राख्यो । घाइतेहरू आज पनि शरीर टालेर जिन्दगी धकेलिरहेका छन्, बेपत्ता परिवारहरू शासकको गेट अगाडि आँसु लिएर उभिएका छन् ।
युद्ध मैदानमा शाही सेनासँग लडेर क्रान्तिलाई विजयोन्मुख बनाउने ‘जनसेना’का लडाकुहरू अयोग्य ठह¥याइए । उनीहरु पार्टीको साख बचाइदिने बहानामा जनसेनाबाट मात्रै होइन, इतिहासबाटै बहिर्गमित भए । क्रान्तिको झोला बोकेका काँधहरू आज पुराना पोस्टरका बन्डलजस्ता भतभत्तिएका छन् । पार्टीमा आस्था राख्ने ती असल कार्यकर्ता आज एक किसिमको राजनीतिक अनाथ बन्न पुगेका छन् ।
पूर्वलडाकु, जनकलाकार, गाउँका सेल संयोजक, इलाका इन्चार्ज, अञ्चल कमान्डर– यी सबै अहिले खोलो त¥यो लौरो बिर्सियो जस्ता बनेका छन् । जनयुद्धको उद्देश्य परिवर्तन थियो । तर परिवर्तनको सबैभन्दा ठूलो विडम्बना के भयो भने, माओवादीको सत्तामोह र ‘शासक बन्ने अभ्यास’ले ‘संवेदनाको मर्म’लाई खर्लप्पै निलिदियो ।
संसदीय बेथितिका चाङले पुरिएका माओवादी नेताहरूले गत पुसमा केन्द्रीय कमिटी बैठकबाट एउटा अनौठो निर्णय गरे । बैठकले आफ्ना नेताहरूको सम्पत्ति विवरण पार्टीलाई बुझाउने निर्णय ग¥यो । सबै केन्द्रीय सदस्य, प्रदेश तहका नेताहरू र पदाधिकारीहरूले फागुन १ गतेभित्र आफ्नो सम्पत्ति विवरण तथा आयस्रोतबारे पार्टीलाई बुझाउनुपर्ने समयसीमा निर्धारण गरियो ।
त्यो दिन एकथरि क्रान्तिकारी साथीहरू भावुक भएर फेसबुकमा लेखिरहेका थिए– ‘अब हेर्नुहोस्, माओवादी फेरि जनताको पार्टी बन्छ । अब माओवादी नेताहरूले आफ्नो सम्पत्ति लुकाउँदैनन्, जनताका माझमा छर्लङ्ग हुनेगरी सार्वजनिक गर्छन् ।’ तर वास्तविकता के छ भने, गएको फागुनमा सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरणको चिल्लो कुरा आजसम्म कार्यान्वयनमा आउन सकेन ।
सरासर हेर्दाखेरि त्यो सम्पत्ति विवरण अभियान किंवदन्तीजस्तै बन्ने छनक देखिएको छ । निकै तामझामका साथ सञ्चारमाध्यममा आइपुगेको माओवादी केन्द्रको त्यो बैठक, जहाँ एकपछि अर्को नेताले खडेरी लागेझैँ गम्भीर अनुहार बनाउँदै पार्टीलाई सम्पत्ति विवरण बुझाउने निर्णय लिएका थिए । पारदर्शिता आफूहरूको नशा र शुद्ध राजनीति अठोट भएको वक्तव्यबाजी गरेका थिए । यद्यपि, त्यो सम्पत्ति विवरणको निर्णय अहिलेसम्म कुन नैतिकताको भारीले च्यापिएर सार्वजनिक हुन नसकेको हो ? पत्तो लाग्न सकेको छैन ।
हुन त सार्वजनिक भइनै हाले वा गर्नैपरे पनि सर्वहारा वर्गका नेताहरूसँग कति नै सम्पत्ति होला र ? लुकाउनु पनि के छ र ? एक दुईवटा पुराना गाडी, केही पुराना प्लट, एकदुई चिटिक्क परेका घरघडेरी, केही बैंक खाता ।
यत्रो वर्ष राजनीति गरेर जोडेको भनेको जम्मा त्यही त हो । यत्रो वर्ष क्रान्ति गरेकै कारण थोरै सम्पत्ति जोडिएको हो भनेर बहाना बनाउने नेताहरू, विवरण बुझाउन चाहँदैनन्, किनकि, उसको पृष्ठभूमिबारे वरपरका सबै जानकार नै छन् । फेरि त्यति थोरै विवरण लुकाउनु त्यति सजिलो पनि छैन ।
उतिबेला रातभर रुखमुनि सुत्ने, दिउँसो गाउँगाउँ हिँड्नेसँग कति पो सम्पत्ति होला र ? एउटा झोला, त्यसमै जीवन । खल्तीमा एउटा कलम र सपनाको नक्सा । न हातमा घडी, न खुट्टामा जुत्ता । गोडा लुगलुग काम्ने तर आँखा उर्लिने कमरेडहरू यतिबेला तारे होटेल र महँगा रिसोर्टमा रात बिताउँछन् ।
ठेकेदारहरूसँग कफी खाँदै बिहानी सुरु हुन्छ । दिनभर दुई–चार ठूला कम्पनीका मालिक, ठेकेदार, सिइओसँग बैठक र साँझ विभिन्न परियोजनाका एजेन्टसँग रसपान । यसरी ठाँटिएर बसेका कमरेडहरुलाई सम्पत्ति विवरण भनेको सानो ‘बुर्ज खलिफा’ जत्तिकै हो । अनि कताबाट सार्वजनिक गर्नु र जनताले थाहा पाउनु ?
हामीले सुनेका थियौँ, चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले दुई हजार डलरभन्दा बढी सम्पत्ति देखाए तुरुन्तै छानबिन हुन्छ । हामीकहाँ भने छानबिन गर्ने मान्छे नै करोडौं दस्तुर बुझाएर त्यो पदमा नियुक्त हुन्छ । वास्तवमा, ‘सम्पत्ति विवरण’ माओवादीका केही नेताहरुका लागि उनीहरूको झुटको नांगो ऐनाजस्तै बनेको छ ।
जनयुद्धको सुरुवात गर्दा १० रुपैयाँ खोज्न चारवटा गोजी छाम्नुपर्ने माओवादी नेताहरू अहिले प्रख्यात शहरको चोकहरूमा घडेरी, पाँच–सातवटा वटा बैंक खाता, कयौं व्यापारिक च्यानल र थुप्रै नाफामूलक क्षेत्रमा अप्रत्यक्ष लगानीको मालिक भएका छन् ।
बाहिरबाट हेर्दा पार्टी ठिकठाक चलिरहेको झैँ लाग्छ । महाधिवेशनहरू भइरहेकै छन् । धुइँयाँ उठ्ने सभा–सम्मेलनहरु पनि बेलाबखत भइनै रहेका छन् । केही समय बाहिरिए पनि अधिकांश समय नेताहरू सरकार र मन्त्रिपरिषद्मा सामेल भएकै छन् । यद्यपि भित्रभित्रै पार्टी आदर्शहीनताको घातक बिरामीले ग्रसित छ ।
नेताले नाफा कमाउनु हुँदैन भन्ने जनताको आदर्शलाई यिनीहरू पुरानो कम्युनिष्ट मूर्खता र जडसुत्रवादीको आरोप लगाउँछन् । बिहान जुरुक्क उठेर ठेकापट्टा, टेन्डर र कमिसनको हिसाबकिताबमा लाग्ने माओवादी नेताहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु र एमाले–कांग्रेस गठबन्धनको सरकारले ‘छयालीस साल यता सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्छु’ भन्नु उही केपी ओलीले भ्रष्टाचारीको मुखसमेत हेर्दैन भनेजस्तो हो ।
सारांशमा, सम्पत्ति विवरण भन्नासाथ माओवादी नेताहरूको अनुहार ‘पाइलटले जहाजलाई आकस्मिक अवतरणको घोषणा गर्दा’ जस्तै अत्तलिन हुन थाल्छ । सम्पत्ति विवरण बुझाउने निर्णय वास्तवमा एउटा ऐतिहासिक आत्मालोचना हुन सक्थ्यो । तर नेताहरूको मनोविज्ञान त्यस्तो देखिएन । किनभने उनीहरूभित्र विवरण बुझाएपछि आफूहरू नांगिने त्रास बढ्यो । यदि यो विवरण माओवादी नेताहरूले बुझाए भने ‘पार्टीको साख’ केही अंशमा पुनः फर्किनेछ । नत्र भने जनताको विश्वास जित्न अहिलेको सन्दर्भमा त्यति सजिलो छैन ।
आफू अनैतिक धन्धाको पोखरीमा चुर्लुम्म डुबेर अकूत सम्पत्ति आर्जन गर्ने अनि लाजै पचाएर अरूलाई शुद्धीकरणको प्रवचन दिँदै हिँड्नुको कुनै औचित्य छैन । आफ्नो इमानलाई दराजमा थुनेर अर्को गाउँतिर औँला ठड्याउँदैमा राजनीतिको रथ कुँदाउन सकिँदैन । हिजो युद्ध लड्दा जनताको गाँस काटेर आदर्श खोक्नेहरू अहिले जनताकै सम्पत्तिको चुरोट सल्काएर आम भुइँमान्छेका सपना धुवाँमा उडाइरहेका छन् । यसको गहिरो मूल्यांकन जनस्तरमा भइरहेकै छ ।
हिजोको माओवादी पार्टी केवल एक विचार थिएन, त्यो एक प्रतिबद्धताको दस्ताबेज थियो । जसले लाखौँ युवाको रगत उमाल्न सक्थ्यो । ती युवाहरू जो गाउँ–बस्तीमा रातभर जनसभामा बोल्थे, बिहान प्रहरीको बुथ छलेर हिँड्थे र दिनभर जनसेवामा होमिन्थे । आज आएर उनीहरूले कहिल्यै पदीय आकांक्षा राखेनन्, भत्ता मागेनन्, मन्त्रालयको चस्मा पनि लगाएनन् । उनीहरू राजनीतिमा धर्मझैँ रमाए, क्रान्तिमा कर्मझैँ समर्पित भए ।
सत्ताको ताज पहिरिएर ठेक्कापट्टाको राजनीति गर्नेहरू आज रातारात करोडपति बने । जसका अनुहारमा जनताको दुःख देखिँदैन, आँखामा सत्ताको आँच, सम्पत्तिको मोह र लोभको काइदा मात्र बाँकी छ । यसरी आफ्नो हुँदा खाँदाको इमानलाई दराजभित्र थुनेर गरिएको कस्मेटिक राजनीतिले न पार्टी र विचार जोगाउन सक्छ, न त इतिहासको त्याग र बलिदानको मूल्य ।
– लमही दाङ, हालः साउदी अरेबिया











