काठमाडौं । रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारिसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् ।

भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए । एक्कासि ठुलो बाढी आउँदा ती गाडी बगेका हुन् । नबगेका गाडी पनि हिलोमा डुबेका छन् । बाढीमा हराएका मध्ये ८ वटा ईभी गाडी फेला परेका उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडी पनि बिजोग अवस्थामा छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।














