काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा एमालेमा पुनःप्रवेशसँगै पार्टीको आगामी नेतृत्व र वैचारिक बहस तीव्र बनेको छ । १०औँ महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले एकछत्र प्रभाव जमाउन सफल भएपनि भण्डारीको फर्किएसँगै त्यो सन्तुलनमा चुनौती देखिन थालेको छ ।
भण्डारीको फिर्तीले एमालेको आगामी महाधिवेशन तथा नेतृत्व चयनमा उल्लेख्य प्रभाव पार्ने देखिन्छ । विशेषतः उनलाई पार्टीको अध्यक्ष बनाउन सक्ने गृहकार्य भइरहेको चर्चा एमालेभित्र चलिरहेको छ । विद्याले पनि अध्यक्ष बन्नकै लागि आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेकी छन् ।

सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चारमाध्यममा पहिलो पटक बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताइन् ।
पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए । जबाफमा उनले भनिन्, ’तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुप¥यो नि !’ एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ’त्यसमा कुनै सन्देह छ र ?’
विद्याले उक्त उभिव्यक्तिपछि ओलीले भने आँफूविनाको एमाले होस भन्नेहरूको सपना कहिल्यै पूरा नहुने दाबी गरे । झापामा आइतबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने चाहना राख्नेहरूको सपना कहिल्यै पूरा हुँदैन ।’
भण्डारीको पुनरागमन र सम्भावित नेतृत्वको दाबेदारी अध्यक्ष ओलीका लागि चुनौती बनेको छ । त्यसैले उनले पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिँदै आफ्नो पकड मजबुत बनाउने प्रयास गरिरहेका छन् ।
विद्याको कमब्याकपछि मदनलाई नै जबजबाट हटाउने प्रयास
भण्डारीको कमब्याकसँगै ‘जनताको बहुदलीय जनवाद’ (जबज) को विषयमा पनि नयाँ बहस सुरु भएको छ । १४ असारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जबजको प्रारम्भ चौथो महाधिवेशनबाट भएको र पाँचौँ महाधिवेशनमा पास भएको उल्लेख गरे पनि मदन भण्डारीको नाम नै लिएनन् । उल्टै, मदन भण्डारीको विषयमा सहकारी ठगीदेखि चारवटी श्रीमती भएको आरोपसम्मको किस्सा निकाले ।
ओलीले भनेका थिए– ‘मदन भण्डारीलाई चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्बाच्य बोलिए, सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’
असार १३ गते एमाले कार्यकर्ताको एउटा पंक्तिले ’मदनको नीति, विद्याको नेतृत्व’ भन्दै पोस्टर सामाजिक सञ्जालमा छरपस्ट पारिएको थियो । त्यसैको जवाफ १४ असारमा ओलीले दिन खोजेको अर्थमा हेरिएको थियो ।
महासचिव शंकर पोखरेलले पनि फेसबुकमा लामो स्टाटस लेख्दै मदन भण्डारीको नाम उल्लेख नगरी जबजको विकासक्रम प्रस्तुत गरेका थिए । यसबाट ओली र पोखरेल दुवैले मदन भण्डारी र जबजलाई कित्ताकाट गर्ने खोजेको देखिन्छ ।
मदन भण्डारीकी जीवनसंगीनी विद्या सक्रिय राजनीतिमा फर्किएपछि एमालेभित्र मदन भण्डारीको नामसँग जबजलाई छुट्याउने प्रयास सुरु हुनुले एमालेको वैचारिक पहिचानमा समेत फेरबदल ल्याउन सक्ने संकेत देखिन थालेको छ ।
देउवा समेत विद्या रोक्ने रणनीतिमा
पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक पुनरागमनले सत्तारूढ नेपाली कांग्रेसमा पनि चासो र हलचल उत्पन्न गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँगको भेटमा भण्डारीको सक्रियताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वराष्ट्रपतिले फेरि दलगत राजनीतिमा फर्किनु लोकतान्त्रिक गणतन्त्रका लागि अनुचित हुने देउवाको तर्क छ । भण्डारीको उदय ओलीका लागि मात्र होइन, देउवाका लागि पनि चुनौती बन्नसक्ने देखिन्छ ।
देउवाले पत्नी आरजु राणालाई भावी प्रधानमन्त्री बनाउन चाहेको र विद्याको उदयले त्यो कठिन हुने भएकाले उनलाई रोक्न ओलीसँगको सहकार्य खोजेको चर्चा समेत हुन थालेको छ । भण्डारीको उदय ओलीका लागि मात्र होइन, देउवाका लागि पनि चुनौती बन्नसक्ने देखिन्छ । देउवाले पत्नी डा. आरजु राणालाई भावी प्रधानमन्त्री बनाउन चाहेकाले भण्डारीको उदयलाई सम्भावित अवरोधका रूपमा हेरेको विश्लेषण समेत भइरहेको छ ।
यही कारणले उनले भण्डारीको सक्रियता रोक्न ओलीसँग सहकार्य खोजेको चर्चा छ । विद्याको पुनरागमनले एमालेभित्र शक्ति सन्तुलन, नेतृत्व चयन र वैचारिक दिशामा गहिरो असर पार्न सक्छ । यद्यपि, यो प्रक्रिया सहज र निर्विवाद नहुने देखिन्छ । यसले एमाले मात्र होइन, समग्र नेपाली राजनीतिको धारामा नयाँ तरङ्ग र बहस निम्त्याउने सम्भावना छ ।











