काठमाडौँ । काठमाडौंको बबरमहलमा रहेको ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’का तीन चिकित्सकसहित पाँच जनालाई किशोरीको डिम्ब बेचबिखनको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ ।

निःसन्तान दम्पतीलाई आईभीएफ लगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने यस संस्थाले १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको उजुरीको आधारमा सीआईबीले अनुसन्धान उनीहरूलाई पक्राउ गरेको थियो ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुरमा जाहेरीसमेत दर्ता भएको छ । सीआईबीले अनुसन्धानका लागि डा. अश्मि अधिकारी, डा. स्वस्ती शर्मा, डा. मालिना चौधरीसहित जस्टिना प्रधान र अलिसा वलीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई हाजिरीजमानीमा छाडेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
एक प्रहरी अधिकृतका अनुसार विभिन्न प्रलोभन देखाई डिम्ब निकालेबापत किशोरीहरूलाई सामान्य पैसा दिने गरेको थियो । किशोरीहरूमध्ये एक जनालाई १० र अर्कोलाई १५ हजार रुपैयाँ दिएको पाइएको छ ।
प्रलोभनमा फसेका किशोरीले घटनाबारे अभिभावकलाई बताएपछि २६ असारमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा यो प्रकरणमा पुगेको थियो । किशोरीको डिम्ब निकालेर पैसा दिएको र डिम्ब प्रयोग गरेको विषय ब्युरोले आफ्नो क्षेत्र भित्र नपरेको देखेपछि सीआईबीले यसको अनुसन्धान गरेको थियो ।
एक जना बिचौलिया महिलाले ती किशोरीहरुलाई डिम्बको लागि होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालिसम्म पुर्याएको पनि बालिकाहरूले प्रहरीलाई बताएका थिए ।











