
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको नेतृत्वमा आउने चर्चालाई एमालेभित्रकै केही कमरेडहरूले नकारात्मक रूपमा हेरेका छन् । झट्ट सुन्दा पूर्वराष्ट्रपतिको हैसियतमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरालाई आलोचनात्मक रूपमा हेरिए पनि, राजनीतिमा आवश्यकताअनुरुप नेतृत्व जन्मने कुरालाई नकार्न सकिन्न ।
मानौँ मदन भण्डारी अहिलेसम्म जीवित भइदिएको भए न माधवकुमार नेपाल १५ वर्ष एमालेको महासचिव हुन्थे, न त केपी शर्मा ओली नै चारपटक प्रधानमन्त्री, दुईपटक पार्टी अध्यक्ष हुन्थे, न त विद्या भण्डारीले नै एमालेको नेतृत्व गर्ने महत्वाकांक्षा राख्थिन् ।
मदन भण्डारी यस्तो खुबी भएका नेता थिए, जसले सबैलाई पार्टीभित्र सन्तुलन मिलाएर राख्थे । ०४८ सालपछि खुला राजनीतिमा उदाएका मदन भण्डारी कति दूरदर्शी थिए भन्ने कुरा आफू महासचिव पदमै बसेर पार्टी अध्यक्षको शीर्षस्थानमा मनमोहन अधिकारीलाई विराजमान गराए ।
आफ्ना प्रतिद्वन्द्वी सिपी मैनालीलाई संसदीय दलको उपनेता बनाए । पार्टीभित्रका गुट उपगुटलाई सन्तुलित रूपमा राखे । यिनै गुणले मदन भण्डारी मरेर पनि हाम्रो मन मस्तिष्कमा बाँचेका छन् । तर त्यही पार्टीमा बाँचेर पनि कतिपय नेताहरू मरेतुल्य छन् ।
सामाजिक सञ्जालमा पढेँ ‘मदनको नीति, विद्याको नेतृत्व ।’ नारा सुन्दर छ, त्यसभित्र गहिरो अर्थ पनि छ । हिजोसम्म मदन भण्डारीको नाम बेचेर राजनीतिक व्यापार गर्नेहरू आज उक्त नारा सुनेर झस्किएका छन् । बाजेको पुरानो पेडा पसलका ‘प्रोपाइटर’हरू अत्तालिएका छन् ।
वास्तवमा कम्युनिष्ट आन्दोलनका नाममा थुप्रिएको फोहोरको डंगुर सफा गर्न पनि एमालेमा विद्या भण्डारीजस्तो शालीन, दूरदर्शी नेतृत्वको आवश्यकता छ, जसले सबैखाले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै लैजान सकुन् ।
एमालेमा विद्याको आगमनले सोह्रश्रद्धामा ‘जबज’ जप्नेहरूको व्यापार सुक्न थालेको छ । ‘जबज’ जप गर्ने मन्त्रमात्र होइन, देशलाई सुखी नेपाली समृद्ध नेपाल बनाउने सिद्धान्त हो भन्ने कुरा अब व्यवहारमै लागू गरेर देखाउने बेला आएको छ । त्यति मात्र होइन, गल्ती आफूले गर्ने दोष संविधानमाथि थोपर्ने प्रवृत्ति पनि अब क्रमशः अन्त्य हुँदै जाने विश्वास गर्न सकिन्छ । विद्या भण्डारीको एमालेमा आगमनले नेपालको राजनीति पनि ध्रुवीकृत हुनेछ ।
‘भेडा भेडा एकातिर बाख्रा बाख्रा अर्कोतिर’ भनेझैँ दक्षिणपन्थी र वामपन्थीबीच व्यापक ध्रुवीकरणको सम्भावनालाई नकार्न सकिन्न । त्यसो भयो भने समानुपातिक प्रणालीका कारण कुनै पनि दलले बहुमत हासिल गर्न सकेन भनेर रोइलो गर्ने दिनको अन्त्य हुनेछ ।
किनभने, अहिले पनि कम्युनिष्ट पार्टीका घोषणापत्रहरूमा प्रधान शत्रु भनेर नेपाली कांग्रेसलाई किटान गरिएको छ । तर व्यवहारमा त्यही शत्रुसँग मिलेर सरकारको नेतृत्व गरिरहेको छ । यो नै एमाले नेतृत्वको वैचारिक विचलन हो । यसमा ‘कोर्ष करेक्सन’ हुनैपर्छ । एमाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जन्मिएको पार्टी होइन ।
सबै प्रमुख राजनीतिक दल ‘मिसन ८४’ मा जुटिसके । एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हो । यी दुई प्रतिस्पर्धीहरू सत्तामा बस्नु नैतिकताको हिसाबले पनि उचित होइन, तर ओली भन्दैछन्– ‘एक वर्षपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु ।’
चुनावको मुखमा कुन मुर्खले सत्ता हस्तान्तरण गर्ला, बरु ओलीकै नेतृत्वमा वाम गठबन्धनको सरकार निर्माण गर्न अहिलेदेखि जुट्नु बुद्धिमानी हुनेछ । जुन कुरा विद्या भण्डारीको पहलले मात्र सम्भव छ । अहिले देशभरि छरिएर रहेका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुलाई एक ठाउँ ल्याउन सकियो भने, कुनै पनि शक्तिले एमालेलाई पराजय गर्न सक्दैन । त्यसका लागि समन्वयकारी भूमिका खेल्न सक्ने र सबै कम्युनिष्ट पार्टीलाई मिलाएर लैजान सक्ने नेतृत्वको खाँचो छ । जुन अपेक्षा विद्या भण्डारीबाट गरिएको छ । यो समयको माग पनि हो ।











