काठमाडौं । नेकपा एमालेमा यतिखेर पूर्वराष्ट्रपति विद्या भण्डारीको चर्चा छ । दुई कार्यकाल राष्ट्रपति बनेपछि पुनः राजनीतिमा सक्रिय भएपछि विद्याको चर्चा चुलिएको हो । यतिमात्र नभएर एमालेको आगामी नेतृत्व लिने विद्याको योजनासहितको सक्रियताले एमालेभित्र एक किसिमको तरंग उत्पन्न भएको छ । यससँगै एमालेभित्र तीव्र ध्रुवीकरण देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी समूहबीच ध्रुविकरण स्पष्ट देखिएको हो । अहिले ओली र भण्डारी समूहमा नेताहरु विभाजित हुँदै गएका छन् । भदौमा विधान महाधिवेशन र त्यसपछि हुने ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छान्ने विषयमा एमालेमा ध्रुवीकरण देखिएको हो । तर, केही नेताबाहेक को कतातिर भनेर खुलेका छैनन् ।
ओली समूहले आगामी महाधिवेशनपछि पनि ओलीलाई नै अध्यक्ष बनाउने रणनीति बनाउँदैछन् । तर, भण्डारी समूह भने त्यसलाई रोक्ने र नेतृत्व परिवर्तन गर्ने प्रयासमा लागेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओली अबको ६ महिनाभित्रै पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गराएर तेस्रोपटक अध्यक्ष बन्ने दौडमा छन् । त्यसका निम्ति आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनबाट विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानलाई हटाएर आफ्नो बाटो खुला गर्ने प्रयासमा लागेका छन् ।
तर, पूर्वराष्ट्रपति भण्डारी विधानमा भएको ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान कायमै राखेर ओलीलाई रोक्ने र आफू नेतृत्व लिने रणनीतिमा लागेकी छन् । दुवै समूह अहिले विधान महाधिवेशन लक्षित तयारी गरिरहेका छन् ।
एमालेले ०८४ मा हुने निर्वाचनबाट एकल बहुमतसहितको सरकार चलाउने घोषणा गरेर ‘मिसन ८४ अभियान’ चलाइरहेको छ । ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउन महासचिव शंकर पोखरेलसहित उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पदमा अर्यालसहित केही स्थायी कमिटिका नेता सक्रिय भएका छन् । तर, ओली समूहलाई आफ्नो रणनीतिअनुसार अघि बढ्न त्यति सजिलो छैन ।
पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिकरूपमै आफू एमालेको नेतृत्व लिन तयार भएको घोषणा गरिसकेकी छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहितका पदाधिकारीलाई आफ्नो पक्षमा ल्याएर आफू अध्यक्ष बन्न भण्डारी सक्रिय भएकी छन् । उनले वामपन्थी दलहरूबीचको एकता गराएर ‘शक्तिशाली कम्युनिस्ट पार्टी’ निर्माणको योजना बनाएर ११औँ महाधिवेशनमा अध्यक्षको दाबी गर्दैछिन ।
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले पनि आफूलाई साथ दिने उनको बुझाइ छ । अहिलेसम्म कुनै समूहमा नखुलेपनि उपाध्यक्ष अष्टलक्षमी शाक्य ओली तेस्रोपटक अध्यक्ष बन्न नहुने पक्षमा छिन् ।
अर्का, उपाध्यक्ष रामबहादुर थापा, सचिवहरु रघुवीर महासेठ र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र लेखराज भट्ट अहिलेसम्म मौन छन् । तर, रामबहादुर थापा भने ओली समूहमा लाग्ने देखिन्छ । सुरुदेखि नै महासचिव पोखरेल, उपमहासचिवद्वय विष्णु रिजाल र प्रदीप ज्ञवाली ओलीनिकट छन् ।
तर, एउटै राजनीतिक धारको प्रतिनिधित्व गर्ने ओली र भण्डारी नै अध्यक्षका प्रत्याशीका रूपमा अघि सरेपछि तेस्रो पंक्तिका नेताहरू भने अन्योलमा देखिन्छन् । विद्या समूहका एक नेताले भने, ‘अहिले बाहिर जे हल्ला छ, त्यो सही हो, पार्टीभित्र ध्रुविरकरण देखिएको छ । अहिले धेरै नेताहरु मौन छ । तर, केही समयपछि को कतातिर भन्ने स्पष्ट हुनेछ ।’ केन्द्रीय नेताहरुबीच पनि विभाजित रहेको उनको भनाइ छ ।














