नेपालको वामपन्थी आन्दोलनका दुई ठूला दल माओवादी र एमालेबीचको एकता सफल हुन नसकेपछि त्यसयता वाम सहकार्य र एकताको बहस निरर्थक साबित हुन पुग्यो । अलग पृष्ठभूमिसहित वाम आन्दोलनमा उदय भएका यी दुई ठूला दलका शीर्ष नेताहरूको व्यक्तिगत टकराबले वाम सहकार्य र एकताको वातावरण निर्माण हुन सकेन ।
अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीको एमालेमा पुनरागमनले वाम एकताको मनोवैज्ञानिक वातावरण बनिरहेको बेला पार्टीभित्र र बाहिर उनीविरुद्ध तगारो बनेका छन् । माओवादी नेताहरूबाट नकारात्मक विचार आउनु राम्रो कुरा होइन ।

यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वार्थ प्रेरित एकता भएकाले दुई पार्टी मिलेर बनेको नेकपा टिक्न नसकेको हो । कार्यकर्ता तहबाटै एकताको वातावरण नबनाएरै अध्यक्षद्वयको स्वार्थले पार्टी एकता गरिएको थियो । त्यस समयमा जनताको अत्यधिक अपेक्षा समेत नेकपामाथि थियो । तर, उनीहरूको व्यक्ति केन्द्रित प्रवृत्ति र आपसी स्वार्थले नेकपा कायम रहन सकेन । दुईवटै दल पूर्ववत् अवस्थामै फर्किए भने तत्कालीन एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहितका नेताहरू बाहिरिए । यसले निराश भएका एमाले–माओवादी नेता कार्यकर्ताहरूमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पुनरागमनले आशा पैदा गरेको छ ।
अहिले विद्याको पुनरागमनले माओवादी र एमालेको एउटा पङ्क्तिले वाम एकताको वातावरण बनाउने अभिप्रायका साथ उनको कदमलाई स्वागत गरेको अवस्था छ । सर्वस्वीकार्य नेतृत्व र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको रूपमा विद्यालाई हेरिएको छ । एमालेको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)का अवधारणाकार रहेका मदन भण्डारीको उत्तराधिकारीका रूपमा समेत उनलाई चित्रित गरिएको छ ।
तथापि, पार्टीभित्रै र बाहिर भने उनको सक्रिय राजनीतिक पुनरागमन रोक्न अनेकौँ व्यवधान खडा गर्ने प्रयत्नसमेत जारी छ । एमालेमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेल खुलेरै विद्या विरोधी अभियान चलाइरहेका छन् । ओली पक्षधर महासचिव पोखरेलले पार्टीमा उनको सक्रियतालाई रोक्न सार्वजनिक रूपमै नेतृत्वको बहस नचलाउन धम्कीदेखि विद्या सहभागी कार्यक्रम बहिष्कार गर्न उर्दी दिन थालेका छन् ।
यता, माओवादीमा समेत ओली प्रवृत्तिकै पुनरावृत्तिका रूपमा पार्टी अध्यक्ष प्रचण्ड मुखरित भएका छन् । प्रचण्डले विद्याको आगमनले सहकार्यको वातावरण नबन्ने बताएपछि वाम एकता पक्षधर माओवादी नेता कार्यकर्ताहरू सशङ्कित भएका छन् । प्रचण्डले केही दिन अघि सार्वजनिक रूपमै ओली र विद्या एकै प्रवृत्तिका भएकाले यी दुवैको नेतृत्वमा वाम एकता नहुने बताएका थिए ।
नेपालको राजनीतिमा विद्याको पुनरागमन र वाम एकताको वातावरण निर्माणमा बाधक यिनै ओली र प्रचण्ड देखिएका छन् । यद्यपि, ओली पूर्णतया विद्यालाई पार्टीमै रोक्न लागिपरे पनि प्रचण्डले भने उनको पुनरागमन वाम एकताका लागि स्वीकार्य नहुने बताएका हुन् ।
एमालेमा ओली र शंकर पोखरेलको विद्या विरोधी क्रियाकलापका विरुद्धमा नेतादेखि कार्यकर्ता पंक्ति उत्रिन सुरु भइसकेको छ । प्रचण्डको पनि वाम एकता विरोधी अभिव्यक्तिले पार्टीकै वाम एकता पक्षधर नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाउन थालेका छन् । ओली प्रचण्डको क्रियाकलापले वाम एकता पक्षधर जनताको अपेक्षामाथि समेत तुसारापात भएको छ ।
आफ्नै पार्टीमा आन्तरिक लोकतन्त्र निस्तेज पारेका प्रचण्डले वाम एकताका लागि बन्दै गरेको मनोवैज्ञानिक वातावरण समेत बिथोल्ने मनसायले अभिव्यक्ति दिएका छन् ।
त्यसोत नेपाली राजनीतिमा प्रचण्ड र ओली एकै प्रवृत्तिका दुई अलग पात्र मात्रै हुन् । उनीहरूकै कारण विगतमा दुई पार्टीबीचको एकता टिक्न नसकेर विभाजित भएको हो । त्यसयता यी दुवैको समान चरित्रले नै वाम सहकार्यको वातावरण समेत बन्न सकेन । ओलीमा व्यक्तिवादी निषेधकारी प्रवृत्ति छ भने प्रचण्ड आत्म केन्द्रित छन् । प्रचण्डले विगत चार दशकदेखि पार्टीमा एकाधिकार कायम गरेर बसेका छन् भने ओली पनि एमालेको नवौँ महाधिवेशन यता प्रचण्डकै बाटोतर्फ उन्मुख देखिन्छन् । प्रचण्डकै एकाधिकारले माओवादी क्षयीकरण हुँदै समग्र वाम आन्दोलनलाई नै क्षति पुराइरहेको छ ।
एमालेको नेतृत्वमा आएयता ओली पनि पार्टीमा एकाधिकार लाद्न उद्यत देखिन्छन् । आठौँ महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका उनी नवौँ महाधिवेशनबाट पार्टी नेतृत्वमा आउन सफल भएका हुन् । नवौँ महाधिवेशनमा माधव नेपाललाई हराएर नेतृत्वमा आएपछि उनले पार्टीमा विरोधीलाई तह लगाएर आफ्नो एकाधिकार कायम गरेका छन् । त्यसैले विरोधीलाई पार्टीबाट पाखा लगाएर पार्टीमा निर्विकल्प बन्ने दाउमा रहेका ओलीलाई विद्याले चुनौती दिन अग्रसरता बढाएपछि अहिले रोक्न लागिपरेका छन् ।
यद्यपि, कतिपयले विद्याको पुनरागमन ओलीकै सल्लाहमा भएको समेत चर्चा गर्ने गर्छन् । तर, पार्टीभित्र बढेको ध्रुवीकरण र ओली पक्षीय नेताहरूको प्रतिवादले त्यस्तो सम्भावना देखिँदैन ।
विद्याले एमालेमा आफू आगामी नेतृत्व सम्हाल्न आएको सञ्चारमाध्यममा सार्वजनिकरुपमै बताइसकेकी छिन् । दशौं महाधिवेशनमा दोहोरिएका ओली आगामी एघारौं महाधिवेशनबाट नेतृत्वमा तेहरिने दाउमा छन् । त्यसैले ओली पक्षीय नेताहरू पार्टीभित्र नेतृत्वको बहसमा बन्देज लगाएर विद्याको पक्षमा पार्टीभित्र र बाहिर बन्न थालेको माहौल बिगार्न प्रयासरत छन् ।
प्रचण्ड र ओली दुवैको यिनै समान प्रवृत्तिले वामपन्थी आन्दोलन कमजोर बनेको छ । वामपन्थी जनमतको बाहुल्य रहेको मुलुकमा यी दुईको कारणले जनमत संगठित हुन सकेको छैन । वाम सहकार्य गरी निर्वाचनमा होमिँदा २०७४ को निर्वाचनमा जनताले करिब दुई तिहाइको नजिक पु¥याएका थिए । तर, यी दुवैको स्वार्थपूर्ति नहुँदा दलसँगै मत पनि विभाजित हुन पुग्यो ।
ओलीको हठी प्रवृत्ति र प्रचण्डको एकल नेतृत्व मोहले वाम एकता सफल नहुँदा वाम आन्दोलन विभाजनले आक्रान्त छ । ओलीले वाम दल लत्त्याएर कांग्रेससँग सहकार्य गर्नु विगत विभाजन कालकै तुषले प्रमुख भूमिका खेलेको हो । यद्यपि, यसमा प्रचण्ड पनि उत्तिकै जिम्मेवार छन् । उनले पनि सत्ता सहकार्यमा एमालेलाई बारम्बार धोका दिएकै थिए । त्यसकै उपज ओलीले पनि प्रचण्डलाई झनै ठूलो धोका दिएर बदला लिएका हुन् ।
ओलीको व्यक्तिवादी हैकम र प्रचण्डको अस्थिर चरित्र नै वाम एकताका लागि बाधक भएको समयक्रमले पुष्टि गरिसकेको छ । यी दुवैको नेतृत्व रहिरहे वामपन्थी आन्दोलनले थप क्षति व्यहोर्ने निश्चित छ । यसरी ओली–प्रचण्ड प्रवृत्ति नेपालको वामपन्थी आन्दोलन मजबुद र एकताबद्ध बनाउने होइन, निषेध र विभाजनका कारक हुन् । यी दुवै नेताहरू आफ्नो एकल नेतृत्व मोहले वाम आन्दोलन थप कमजोर बनाएरै भए पनि सानो गुटमै रमाउने चेष्टा गरेका छन् । यही बुझेर दुवै पार्टीका नेता कार्यकताहरुले विद्याको पुनरागमनलाई विकल्पका रूपमा लिँदै वाम सहकार्य र एकताको सेतु बन्ने अपेक्षा गरेका हुन् ।











