Logo
Logo

ढोँगी कम्युनिष्ट नेता


उमेश बन्जाडे

945
Shares

वास्तवमा धर्म, जात, अन्धविश्वास र परम्परागत पण्डित्याइँविरुद्धको विद्रोही शक्ति भनेका कम्युनिष्ट पार्टी र त्यसका अनुयायीहरू हुन् । दुनियाँका आम उत्पीडित वर्गमाथि धार्मिक अन्धविश्वासको पासो थापेर विभेद गरिएकाले कुनै पनि धर्म नमान्ने र वैज्ञानिक तथ्यमा टेकेर समाज रूपान्तरण गर्ने सम्भवतः सबै कम्युनिष्ट पार्टीका दस्ताबेजमा उल्लेख गरिएको हुन्छ

यद्यपि, हाम्रो नेपालमा रहेका कम्युनिष्ट पार्टी र नेताहरूको लागि त्यो विषय एउटा मजाक जस्तै बनेको छ । धर्मलाई ‘अफिम’ भन्ने विश्व कम्युनिष्ट आन्दोलनका प्रतिपादक कार्लमाक्र्सको भनाइको सार बुझ्नुभन्दा पहिले, त्यो उखान नेपाली कम्युनिष्ट नेताहरूको चपाउने सुपारी जस्तै बनेको छ ।

अहिले नेपालका कम्युनिष्ट नेताहरूले त्यो अफिमको झोल बोकेर मठमन्दिर घुम्छन् । नाडी हेर्छन्, ग्रह शान्ति गराउँछन्, अनि पशुपतिमा रुद्री लगाउँछन् । जलहरी लेपन गर्छन् । आफ्ना छोराछोरीलाई तान्त्रिक विधिमा व्रतबन्ध गराउँछन्, तर जनतालाई भने ‘धर्म अफिम हो’ भनेर पाठ सिकाउँछन् ।

हिजो क्रान्तिको भाका गाउँदै शोषणको जरो उखेल्न हिँडेका ती कथित क्रान्तिकारीहरू आज जातको श्रेष्ठताबोधमा नाक ठाडो पार्दै रुद्राक्षको माला लगाएर सिंहदरबार र सत्ताको मन्दिरमा आरती गाउन थालेको सबैले देखेका छन् ।

हाम्रो देशका कम्युनिष्टहरू एकातिर भित्तामा माक्र्स र लेनिनको फोटो झुन्ड्याउँछन् भने अर्कातिर भगवानको नाममा शपथ लिँदै मन्त्री बन्छन् । देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कुर्सीमा आसीन कम्युनिष्ट नेताले सार्वजनिक मञ्चमा देश विकासको चिन्तन होइन, शिव, रामसीताको कुण्डली खोज्छन् ।

बाढीपहिरोमा मृत्यु भएकाहरुको लागि श्रद्धाञ्जलीका दुई शब्द होइन, सतिदेविको दायाँ खुट्टा कहाँनेर पतन भएको थियो ? भन्नेबारे मिथ्या तर्क गर्दै हिँड्छन् । लाग्छ, नेपाली कम्युनिष्ट आन्दोलनको विचारधारालाई ‘पञ्चमुखी शिव’ बनाउने ओली ब्रान्डको एक नवीनपथ सुरु भएको छ । ओलीले भाषणमा रामको जन्मस्थल सारेर ठोरी पु¥याउँदा इतिहास र भूगोल दुवै थरथराउँछन् । शिवलाई चाम्लिङ बनाउँदा संस्कृतिविद्हरू मुर्छित हुन्छन् ।

यता, उनी सत्यनारायणको पूजा मूर्खता हो भन्छन्, उता भोलिपल्ट नै बालुवाटारमा विष्णु पूजा र तुलसी आराधनामा डुब्छन् । एउटै मुखले ‘धर्म अफिम हो’ भन्ने, त्यही मुखले ‘राम–शिव–बुद्ध’को जात पहिचान खोतल्दै धार्मिक राष्ट्रवादको हल्का नक्कल गर्नु, त्यो न त वैज्ञानिक चेत हो, न त राष्ट्रप्रेम । यो त केवल सत्ता टिकाउने ‘शब्द–तान्त्रिक साधना’ मात्र हो ।

साँचो कम्युनिष्ट हुनु भनेको वैज्ञानिक दृष्टिकोण राख्नु हो । मिथ्यावादको पर्दाफास गर्नु हो । तर नेपालमा ओली ब्रान्डका कम्युनिष्टहरू भने ‘मसाल’ बालेर ‘मन्त्र’ पढ्न लागेका छन् । आन्दोलनको रापमा जनताको रगतले रंगिएको गम्छा अब यिनको भाग्य बदल्ने तान्त्रिक वस्त्र बनेका छन् । सत्य के हो भने, नेपालमा रहेका अधिकांश कम्युनिष्टहरू धर्मविरोधी होइनन्, बरू धर्मका व्यापारी हुन् । जसले धर्मको टिका जनताको निधारबाट पुछेर आफू भने तान्त्रिक गुरूका खुट्टा छाम्न लाज मान्दैनन् ।

देशका कम्युनिष्ट प्रधानमन्त्रीबाटै यो धार्मिक पण्डित्याइँ यति अग्लो भयो कि अब ओलीको बोलीलाई भाषण नभनी सिधै नयाँ शास्त्र वा नयाँ ग्रन्थको रूपमा संरक्षण गर्नुपर्ने बेला आइसक्यो । के ठोरी अब अयोध्या बन्यो ? के गोरखा अब इन्द्रलोक ? के ओलीकै अनुहारमा अब त्रिदेव देख्नुपर्ने हो ? अनि कम्युनिष्ट पार्टीको नेतृत्वलाई के ब्रह्मा, विष्णु, महेश्वरले नै सुम्पिएको हो ? हामी यतिखेर यस्तो युगमा छौं, जहाँ पञ्चायतकालमा श्री ५ को दर्शनका लागि नाङ्गा खुट्टा हिँड्नुपर्ने नियम थियो भने, अब ओलीको भाषण सुन्नु अघि मन्त्र जप्नुपर्ने अवस्था आउँदैछ ।

यिनको पण्डित्याइँको इन्धनमा आज राज्य, धर्म, संविधान, विवेक र वामपन्थी राजनीति सबै जलेका छन् । राम ठोरीमा जन्मेका हुन् वा अयोध्यामा त्यो इतिहासले लेख्ने कुरा हो । शिव चाम्लिङ थिए कि अरू केही त्यो त संस्कृति र आस्थाले भन्ने कुरा हो । तर ओलीको मुखबाट निस्किएका यस्ता अभिव्यक्तिहरू नेपाली कम्युनिष्ट आन्दोलन माथिको एउटा भद्दा मजाक हो ।

धर्मलाई अफिम भन्नु गलत होइन, तर त्यही अफिम बेचेर आत्मा शान्त पार्ने कम्युनिष्ट नेताको दोहोरो चरित्र पाखण्डपूर्ण हो । यस्ता विकृत मस्तिष्कका नेताहरूले धर्म नष्ट गर्ने होइनन्, धर्मको राजनीतिक ‘पुनव्र्याख्या’ गरेर उसलाई आफ्नो चाकडीको औजार बनाइरहेका छन् ।
क्रान्तिको संकल्पले थालिएको राजनीति, अब गोपालकृष्णका चरणमा समर्पण गरिएको छ । विडम्बना नै भन्नुपर्छ, जनताहरू अझै पनि सोचिरहेका छन् कि ‘यी त हाम्रा नेताहरू हुन्, यिनीहरू असल र जनप्रेमी कम्युनिष्ट हुन्’ । आजका नेपाली कम्युनिष्टहरूको धर्मसम्बन्धी चेतनाको स्तर हेर्दा तिनले क्रान्तिकारी धर्मनिरपेक्षता होइन, ‘आफ्नो स्वार्थअनुकूल धर्मप्रेम’ रोजेका छन् ।

जनताको आँखामा निरपेक्षताको धुलो हाल्ने, तर आफ्नो सिङ्गो गिद्धेनजर तान्त्रिक शक्तिमा राख्ने चाल यिनको नाङ्गो नाटक हो । यिनीहरू ती हुन् जसले गरीब किसानलाई ‘कुल पुरोहित’ को सल्लाह नसुन भनेर गालामा झापड हाने, अनि आफू भने कुल पुरोहितकै शिष्य ठहरिँदै ग्रह शान्तिको जग्गेमा कर्ता बनेर बसेका छन् ।

प्रधानमन्त्री ओली आफ्नो पदको दुरुपयोग गर्दै धार्मिक आग्रह–पूर्वाग्रहको विषादमा डुब्न थालेका छन् । जसले गर्दा नेपालको सत्ता अब वामपन्थी होइन, धार्मिकग्रन्थजस्तो बनेको भान हुन्छ । जहाँ भाषण भन्नासाथ रामको जन्म हुन्छ, सवाल उठ्नासाथ नयाँ पुराणको अध्याय बन्छ, अनि आलोचना हुनासाथ भाष्यकार ओली आफैँ शंकराचार्य बन्छन् ।

उनले कतिबेला रावणलाई पनि नेपाली घोषणा गरिहाले भने अनौठो नमान्दा हुन्छ । उनको खुवी भनेकै उज्यालो बाटोहरूमा तगारो लगाएर मुलुकलाई अँध्यारोतिरै धकेल्ने हो । नपत्याए उतिबेला ‘नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भन्ने उनै ओली चौथोपल्ट गणतन्त्र नेपालको प्रधानमन्त्री भइसके ।

अन्ततः नेपालका कम्युनिष्ट नेताहरू नास्तिक छैनन् । जहाँ जनताको चेतना उठ्ने डर छ, त्यहाँ धर्मलाई दोष दिने र जहाँ आफ्नो गद्दी डगमगाउँछ त्यहाँ चोखो घण्टी र तान्त्रिक मन्त्र पढ्ने ‘आस्तिक मौका परस्त’ हुन् । यसरी ओलीहरू धर्मको टाउको र क्रान्तिको खुट्टामा बसेर अफिम होइन, सत्तारूपी चरेशको दम खाँदैछन् अनि देशको प्रधानमन्त्री भन्दा कुनै धार्मिक समुहको धर्मगुरु झैँ लाग्ने ओलीले हामीलाई भनिरहेका छन्– ‘यो नै जनताको सर्वोत्तम हित हो ।’

-लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्