आज श्रावण ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस देशभर मनाइँदैछ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म भएको १०० वर्ष पूरा भएको छ।नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, नयाँ नेपालका स्वप्नद्रष्टा, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा बुबा भक्तलाल श्रेष्ठ र आमा तुल्सीमायाको कोखबाट भएको थियो र मृत्यु २०३५ साउन ७ गते भएको थियो ।

जहाँनियाँ राणाशासनले आफ्ना दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उहाँमा राणाशाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो ।उहाँमा अत्याचारी, सामन्ती राणाशासनलाई अन्त्य गर्नु पर्दछ भन्ने भावना जागृत भयो ।
राजनीति शुरुवात गर्ने क्रममा पुष्पलालले शुरुमा नेपाली काङ्ग्रेसको सचिव पदमा रहेर काम गर्नु भएको थियो । तर, क्रान्तिकारी स्प्रीट अनुसार काङ्ग्रेसले राणाका विरुद्ध संघर्ष गर्न सक्दैैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल कांग्रेस पार्टीबाट अलग हुनुभयो । र, राणा शासलाई फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासनव्यवस्था स्थापना गर्ने दृढ अठोट पुष्पलालले लिनुभयो र उहाँले माक्र्सवादको अध्ययन गर्दै पहिलोपटक घोषणापत्रको भूमिका सहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काम गर्नु भएको थियो । यसपछि घोषणापत्रको प्रकाशनसँगै उहाँमा कम्युनिस्ट पार्टी स्थापना गर्नु पर्दछ भावना जागृत भयो ।
देशभित्र राणा शासनको दबदबा भएका कारण खुल्ला रुपमा पार्टी स्थापना गर्न सम्भव थिएन । त्यसपछि भारतको कलकत्तामा गएर वि.सं. २००६ वैशाख १० अर्थात् ई.सं. १९४९ अप्रिल २२ मा पुष्पलालले आफूसहित निरन्जन गोविन्द बैध, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु भएको थियोे ।
पुष्पलाल स्थापना गरेको कम्युनिस्ट पार्टीको मुख्य लक्ष्यमा सामन्तवाद र साम्राज्यवादको जुवा भांचेर समाजवादी गणतन्त्र स्थापना गर्ने रहेको थियोे । यसरी पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवादविरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप २०६३ सालमा मुलुकमा पुष्पलालले देखेको सपना पूरा भयो र गणतन्त्र स्थापना गर्न सम्भव भयो ।
पुष्पलाल नेपालमा माक्र्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान ऐतिहासिक एवं विशिष्ट महत्त्वको रहेको छ । यस क्रममा पुष्पलालले श्रमिक अधिकारका विषयमा महत्त्वपूर्ण विचार अगाडि सारेकै कारण श्रम आन्दोलनको विकास र विस्तार भएको हो ।
खासगरी विराटनगर विसं २००३ मा भएको मजदुर आन्दोलनबाट नै मजदुरहरु संगठीत भएका हुन् । विराटनगरको मजदुर आन्दोलनले राणाशाही विरोधी आन्दोलनलाई सफल बनाउन भूमिका निर्वाह गरेको थियो । यसपछि पुष्पलालको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीले मजदुरका हकअधिकारका बारेमा कार्यक्रमिक हिसाबले दस्तावेज सार्वजनिक गरेपछि मजदुरहरु अखिल नेपाल ट्रेड युनियन काङ्ग्रेसमा संगठीत भए । सार्वजनिक क्षेत्रमा भने अखिल नेपाल न्यून वैतनिक कर्मचारी संगठन स्थापजा भयो । यस संगठनले २००८ सालमा ठुलो आन्दोलन संचालन गरेको थियो ।
यहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि पुष्पलालले श्रमिक अधिकारका बारेमा अगाडि सारेका सोंचहरु अहिले पनि शास्वत छन् । पुष्पलालले २००८ सालमा भएको कर्मचारी आन्दोलनका वारेमा संक्षिप्त चर्चा यसरी गरेका छन् ।
‘सरकारी कर्मचारीहरूले बाँच्न योग्य ज्याला र कामको राम्रो अवस्थाका लागि हड्ताल गरे । अब एकताबद्ध तागतद्धारा आफ्नो संघर्षलाई अघि बढाउनका लागि सबै जिल्लाबाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदूर संघहरू गठन गर्नु पर्दछ र उपयुक्त महत्वपूर्ण मागहरूको तत्काल पुरा गर्नका लागि, बांच्नयोग्य ज्याला, आठघण्टा कामको दिन, कामको राम्रो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, पूर्णा मजदूर संघीय अधिकारहरूको कार्यान्वयनका लागि आफ्ना शक्तिहरूको परिचालन गर्नुहोस्’ भन्दै मजदुरहरुलाई आहृान गरेका थिए ।
‘मजदूर साथीहरू हो ! एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ । नयाँ नेपाल र प्रजातान्त्रिक जीवन–पद्धतिको निर्माणका लागि लाल झण्डाको नेतृत्वमा नयाँ संग्रामहरूतर्फ अघि बढ्नुहोस् ।’
यस्तै पार्टी स्थापना भएको ५ महिना पछि २००६ भदौ ३० गते १५ सेप्टेम्बर १९४९ का दिन पुष्पलालले पार्टीको प्रथम घोषणापत्र जारी गरेका थिए । घोषणापत्रमा श्रमिकका समस्या र मागलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । श्रमिक वर्गलाई जिउन योग्य तलब ज्याला, दिनमा आठ घन्टाको कार्यकाल, कामको राम्रो प्रवन्ध, नोकरीको सुरक्षा, बुढ्याइँ भत्ता पेन्सन, केटाकेटीहरुका निम्ति विना फिस (निःशुल्क शिक्षा) र मजदुरहरुले संगठनका सम्पूर्ण अधिकारहरुको उपभोग गर्न पाउनुपर्ने विषयलाई घोषणा पत्र मार्फत अगाडि सारिएको थियो ।
पुष्पलालले अगाडि सारेको नयाँ जनवादी क्रान्तिको कार्यक्रममा श्रमिकका अधिकारका वारेमा विस्तृत रुपमा यसरी उल्लेख गरिएको छ ।
सरकारको उद्योग नीतिलाई मजदुर नीतिबाट अलग गरी हेर्न सकिन्न । नयां–जनवादी आर्थिक व्यावस्थामा उद्योगधन्धाको संचालनमा मजदुर वर्गको अति नै महत्वपूर्ण भूमिका हुन्छ । क्रान्तिकारी जनवादी सरकारको मजदुर नीति अन्तर्गत जीवनयापन गर्न पुग्ने ज्याला निर्धारण गर्ने; कामको घण्टा क्रमिक रूपले घटाउँदै लैजाने, अंगभंग भएका मजदुरको उपचार तथा जीवनयापनको व्यावस्था उद्योगपतिहरूको खर्चमा गराउने, मजदुरको बसोवासको प्रबन्ध गर्ने; बुढौती भत्ताको व्यवस्था गर्ने, मजदुरलाई युनियन गठन गर्ने र हडताल गर्ने तथा सामुहिक रूपले उनीहरूको ज्यालामा मोलमोलैया गर्ने अधिकार दिने, उनका केटा–केटीहरूको शिक्षा–दीक्षाको प्रवन्ध गर्ने र नाबालकलाई काममा लगाउने करामा प्रतिबन्ध लगाउने, स्त्री–मजदुरलाई बराबर कामको बराबर ज्याला दिने र सुत्केरी हुनुभन्दा एक महिना पहिले र पछि दुई महिनासम्म तलबसहित विदादिने तथा सानाठूला सबै औद्योगिक केन्द्रहरूमा शिशु गृहको निर्माण गर्ने विषयलाई नयाँ जनवादी कार्यक्रममा पुष्पलालले उल्लेख गरेका छन् ।
पुष्पलालले नयाँ जनवादी क्रान्तिमा विभिन्न शक्तिहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरेका छन् । यस क्रममा श्रमिक, मजदुर वर्गको नेतृत्वदायी भूमिका रहने उल्लेख गरेका छन् । नयाँ जनवादी क्रान्तिमा मजदुर वर्गको भूमिका बारेमा यसरी उल्लेख गरिएको छ ।
‘मजदुर वर्गको सम्बन्ध सबभन्दा उन्नत उत्पादन व्यवस्थासँग भएको तर उत्पादनको साधनको मालिक मजदुर नभएको हुनाले यो वर्गमा अनुशासन र संगठनको भावना कुट–कुट भरिएको हुन्छ । किसानको संख्याको तुलनामा यसको संख्या कम हुनु, पूँजीवादी देशको मजदुर वर्गको तुलनामा यो बच्चै हुनु र पूँजीपतिको तुलनामा यसको सांस्कृतिक स्तर कम हुनु हाम्रो मजदुर वर्गमा देखापरेका कमजोरीहरू हुन् । नेपालको मजदुर वर्गमा यी कमजोरीहरू भएता पनि नेपालको ऐतिहासिक स्थिति अर्थात अर्धसामन्ती समाजको स्वरूपले गर्दा यस वर्गमा साधारण रूपमा पाइने मजदुर वर्गको गुणको साथै अन्य विशेष गुणहरू निहित छन् ।
नेपालको मजदुर वर्ग सामन्ती पूँजीवादी तथा साम्राज्यवादी शोषणले पिडित भएको हुँदा अन्य सबै वर्गहरूभन्दा यो वर्ग सबभन्दा दृढ र क्रान्तिकारी छ । नेपालमा आधुनिक मजदुर वर्गको प्रादुर्भाव हुनाको साथै उसको पार्टी नेपाल कम्युनिष्ट पार्टीको पनि गठन भयो र यसले पनि नेपालको राजनीतिमा महत्वपूर्ण स्थान प्राप्त गरिसकेको छ । फेरि हाम्रा मजदुरहरू विशेषगरी सुकुम्वासी गरीव किसानबाट आएका हुनाले मजदुर किसान एकतालाई सुगम गर्दछ । तसर्थ यसै वर्गको काँधमा इतिहासले नयाँ जनवादी क्रान्ति गर्ने अभिभारा दिएको छ ।
यस्तै, पुष्पलालले अगाडि सारेका याँ जनवादी क्रान्तिमा न्युन वैतनिक कर्मचारीहरू पनि क्रान्तिका सहायक शक्ति हुन्छन् भनेर उल्लेख गरिएको छ । न्युन वैतनिक कर्मचारी भन्नाले विभागीय सेक्शन अफिसरभन्दा मुनि विभिन्न सरकारी सेवामा लागेका कर्मचारी सम्झनु पर्दछ । उनीहरूको पेशा नौसिन्दागिरी, खरदारी आदि हुन्छ । उनीहरू शोषण कार्यबाट टाढै रहन्छन् । एक त उनीहरूलाईखोसुवा पुर्जीको डर सदैव रहन्छ भने अर्को योग्यतानुसारको तलव तथा तरक्की दिइन्न । यसले गर्दा उनीहरूको जीवन सदैव यही संकटपूर्ण रूपले गुज्रिरहेको हुन्छ । राणाशाहीको अन्तपछि यस समुदायले पनि आफ्नो हक र हितको निम्ति संघर्षको परिचय दिइसकेको छ । अतः यो पनि हाम्रो क्रन्तिको सहायक शक्ति हो ।
पुष्पलालले ७ दशक अगाडि कम्युनिस्ट पार्टीको दस्तावेजमा उल्लेख गरेका श्रमिक अधिकारका विषय अहिले पनि सामयिक र सान्दर्भिक छन् । नेपालका श्रमिकहरुले बिसं २००७, २०३६, २०४६ र २०६२/०६३ का जन आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । यसैको परिणामस्वरूप मुलुकमा जहांनिया राणा शासन, निरङ्कुश पंचायती व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था हुदै गणतान्त्रिक व्यवस्थाको स्थापना भयो ।
पुष्पलालले उल्लेख गरेझँै राजनीतिक व्यवस्था परिवर्तनमा श्रमिकहरुको महत्त्वपूर्ण भूमिका रहेको छ । यसरी क्रान्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गलाई भने राज्यले अहिले पनि उपेक्षित गरेको छ । समावेशी लोकतन्त्रभित्र श्रमिक वर्गको सहभागीता र प्रतिनिधित्वलाई वेवास्ता गरिएको छ । अहिले पनि श्रम क्षेत्रमा श्रमिकहरुले जीउन योग्य तलब सुविधा पाउन सकेका छैनन् ।
श्रम क्षेत्रको अनौपचारिकरणका कारण श्रम शोषण व्याप्त छ। श्रमिकहरुले सामुहिक सौदाबाजीको अधिकार प्राप्त गरे पनि श्रमिकका पीर–मर्काका विषयमा सामुहिक सौदाबाजीको अभ्यास हुन सकेको छैन । भएका सामुहिक सौदाबाजी इमान्दारीपूर्वक कार्यान्वयन भएको छैन । यसले गर्दा विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनकै लागि पटकपटक आन्दोलन गर्न वाध्य पार्ने काम सरकारबाट भएको छ ।
मुलुकमा अब २०६२÷०६३ को पूंजीवादी क्रान्ति पछि अब समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्नुपर्ने कार्यभार रहेको छ । समाजवादी क्रान्तिमा श्रमिक वर्गको झन महत्त्वपूर्ण भूमिका रहेको छ । अतः पुष्पलाल अगाडि सारेका मान्यताअनुरुप क्रान्तिको अगुवाइमा श्रमजीवी वर्गले अहिलेको पूंजीवादी व्यवस्थाले थोपरेको शोषणका विरुद्ध आर्थिकसामाजिक संघर्ष गर्दै समाजवादी आन्दोलनमा योगदान पु¥याउने भूमिका निर्वाह गर्नुपर्नेमा अभिभारा रहेको छ । अनि मात्रै श्रमजीवी वर्गले श्रमको उचित मूल्य प्राप्त गरेर नयाँ श्रम व्यवस्था समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ ।
अनि, मात्रै पुष्पलालले अगाडि सारेका मान्यताको साकार हुनेछ ।











