
केपी ओलीले विद्यादेवी भण्डारीमाथि हानिकारक सहानुभूति दर्साउनु भएको हो । अंग्रेजीमा ‘टक्सिक इम्प्याथी’ भनिने हानिकारक वा घातक सहानुभूति सुन्दा सहानुभूति जस्तै लाग्छ । ‘टक्सिक इम्प्याथी’ संप्रेषणका लागि जटिल तर्क, अप्रमाणित तथ्य र एकांकी विश्लेषणहरूको जालो बुनिन्छ । ती सबैका आधारमा एउटा नारा बन्छ र त्यसलाई मुफ्त वितरणका लागि राजनीतिक बजारमा छाडिन्छ ।
पूर्वराष्ट्रपति राजनीतिमा प्रवेश गर्न हुन्छ, हुँदैन ? ओलीका भाष्यमा हुँदै हुँदैन । राजनीतिमा पूर्वराष्ट्रपति प्रवेश नगर्ने हो भने के निकोसेराका किसानले खेतमा उभ्याएका बुख्याँचा प्रवेश गर्छन त ? संसारमा विकसित कुनै पनि विधिले पूर्वराष्ट्रपतिहरूका लागि राजनीति बन्धित गरेको छैन । विद्याको पार्टी सदस्यता खारेजी व्यक्तिको राजनीति गर्ने स्वतन्त्र अधिकारविरुद्ध छ । यो न्यायको विषय भएको छ । न्याय हनन हुँदा नबोल्नु अन्यायलाई प्रश्रय दिनु हो । यसकारण यसमा बोल्नुपर्छ ।
पूर्वराष्ट्रपति विद्याको राजनीतिक आग्रहले समाजको सानो हिस्सालाई मात्र आकर्षण गर्न सफल थियो, सदस्यता खारेजीपछि उनको मुद्दाको आयाम र आयतन अलि फराकिलो हुन पुगेको छ । विद्याले नबुझेको वा बुझ्न नखोजेको तथ्य उल्लेख गर्नु सान्दर्भिक हुनेछ । आजसम्म संसारको राजनीतिक इतिहास जुँगाहरूको लडाइँका दस्ताबेज हुन् । इन्दिरा गान्धी र मार्गरेट थ्याचरलाई छाड्ने हो भने महिलाहरू पुरुषको सहयोगी राजनीतिक भूमिकामा छन् ।
विद्याले जब राजनीतिमा जुँगाको चुनौती सामना गर्न कम्मर कसेकै थिइन् भने उनका रणनीतिक चाल देखिएभन्दा फरक हुनुपथ्र्यो । उनकै भाषमा भन्दा उनले ३५ वर्ष अभ्यास गरेको लेनिवादी संगठन संरचनामा स्टालिनवादी अहंकरवादको आँकलन गर्न सक्नुपथ्र्यो । लेनिवादी हतियारले विद्याको सदस्यता खारेज गर्न सक्छ भन्ने अनुमान गर्नसक्ने ज्योतिषहरू उनको कित्तामा दुईचार त हुनैपथ्र्यो ।
अर्को कुरा, नेपाली समाज मदन भण्डारीको बहुदलीय जनवादबाट सुरु भएर त्यहीँ अन्त्य हुने अस्थायी प्रकृतिको संरचना होइन । नेपालको लामो इतिहास छ र नेपालीहरूको इतिहास नेपाल देशको भन्दा पनि लामो छ । मदन भण्डारीले बहुदलीय जनवादको कुरा गर्नुभन्दा ६० वर्षअघि नै बहुदलका लागि खड्गमानसिंहरू सक्रिय थिए ।
विद्याका सम्बोधनमा अग्रणी आन्दोलनका नायक नायिकाहरूको नाम लिनु पनि उचित ठानिएन । किन ? विद्याभन्दा ९० वर्षअघि जन्मिएकी योगमायाले उनकै गृहजिल्ला भोजपुरबाट समाज सुधारको प्रयास थालेकी थिइन् । साहना प्रधान, मंगलादेवी सिंह र शैलजा आचार्यहरू अघिल्लो पुस्ताका नेता थिए । पुष्पलाल, वीपी, गणेशमान सिंह र मनमोहन अधिकारीहरूको प्रजातान्त्रिक विरासत धान्ने हिम्मत कथ्यमा किन आउन सकेन ? प्रकृतिको प्राकृतिक चरित्र र हिम्मत माताहरूमा देखिन्छ, विद्यामा त्यो हिम्मतको अपेक्षा गर्नु अनुचित होइन ।
प्रकृतिको अध्ययनमा देखिन्छ, एनिमल किङ्डम अर्थात प्राणी अधिराज्यमा माताहरू अधिकांशत शान्त हुन्छन्, जब अशान्त हुन्छन् नि, भाले प्रजाति जिजिविषाका लागि शरण पर्न वाध्य हुन्छ । डमरुको सुरक्षाका लागि एक बघिनी दशौँ बाघसँग लड्न तयार हुन्छिन् ।
अस्तित्व रक्षा वा रणनीतिक प्रत्याक्रमण प्रक्रियामा प्राणी अधिराज्यमा माताहरूको अपराजय शक्ति छ । सनातनी दर्शनले पनि भन्छ, जब नारी बाहिर निस्किन्छन, जुँगा खौरिएर पुरुषहरूभित्र पस्छन् । कहिलेकाहीँ मिथ्या विश्वासहरू राजनीतिक रंगमञ्चका दृश्यचित्र जस्तै बन्छन् । विद्याको प्रयास मिथ्या विश्वास नबनोस् ।
उहाँले इतिहास अलिकति खोतले त्यसबाट पनि महान् शिक्षा पाउनुहुन्थ्यो । उहाँका निकटस्थ लेखकहरूले आफ्नै प्रज्ञान क्षमतामा बन्ध्याकरण नगरी तथ्य केलाउन सक्नुपर्ने हो । पृथ्वीनारण शाहकी बुहारी सिंहप्रताप शाहकी पत्नी राजेन्द्रलक्ष्मी ति वीर पात्र थिइन्, जसले राज्य संचालन गर्नेे क्षमता आफुसँग छ भन्ने अन्तरशक्ति पहिचान गरिन् । बहादुर शाहलाई झ्यालखानामा हालिन् र नायवी लिएर देशको सीमा विस्तार अभियान चलाइन् ।
आम अनुमान विपरित मार्गरेट थ्याचरले उनकै पार्टीका नेता एडवार्ड हिथलाई हराएकी थिइन । इन्दिरा गान्धी मोरारजी देशाइको प्रचण्ड विरोध सामना गरेर भारतको राजनीतिमा स्थापित भइन् । नेपालमा महिलाहरूले पुरुष अभिमान आपूर्तिका लागि राजनीति गरिदिएका थिए । मंगलादेवी सिंह, शैलजा आचार्य वा सहाना प्रधानहरू राजनीतिको फ्रन्टलाइनमा नउभिइ पछिल्लो पंक्तिमा उभिए ।
ओलीलाई लाग्छ १४ भुवन र १४ विद्या उनैलाई मात्र कण्ठस्थ छ । तर, भुवनहरू १४ नभएर हजारौँ छन् र विद्या पनि १४ बाट १४ हजार पुगिसकेको उनले पत्ता पाएका छैनन् । भण्डारीलाई राजनीतिमा नआउनुस्, तपाइँको इज्जत जान्छ, सम्मानपूर्ण भएर बसिरहनोस् भन्ने उनको उपदेश हानिकारक सहानुभूति हो ।
जसको उद्देश्य पार्टी सत्तामा आफ्नो निरन्तरताका लागि ढोँगी सहानुभुतिको सहारा लिनुथियो । यसैलाई ओलीले प्रज्ञानपूर्ण भनेका छन् । एउटा किताब नपढी सुत्नै नसक्ने ओली सायद, अलिबाबा र ४० चोर, तेनालिरामका चतु¥याँइ, दि ब्रेभ वान कमिक्सबाट लिँदा हुन् राजनीतिमा प्रतिस्पर्धीहरूलाई समन गर्ने विधि ।
विद्यालाई किनाराकृत गरेपछि ओलीले अब प्रतिस्पर्धाका डर पालिरहनु पर्दैन र भविष्य सोचिरहनु पनि परेन । ओलीले सोच्न छाडेपछि त्यस बिन्दुबाट सोच्ने सामथ्र्य विद्यासँग छ भने अब पनि उनले राजनीतिमा हलचल ल्याउन सक्छिन् । तर, सदस्यता खारेज गरिएको रोदन वा विनयशिलताले राजनीतिको निरंकुश प्रविृत्तिलाई पगाल्न सक्दैन । उनलाई पूर्वराष्ट्रपति राजनीतिमा आउँदा इज्जत रहँदैन, यसो नगर्नुस भन्नु घातक सहानुभूति मात्र थियो ।
च्यासलमा ओली र भंगालमा विद्या फरक अनुहारका एकै चारित्रिक विशेषतायुक्त भयातुर भंगीमा ग्रस्तहरूको सान्निध्यमा छन् भन्ने अनुमान योग्य कुरा हो । उनले सायद जीवनको पहिलोपटक बोध गरिन् होला आफ्नै अनुचरी गरिरहेका कति धेरै एमालेजनहरू उनीप्रति फणा उठाएर बिष ओकलिरहेका छन् । एमालेले सदस्यता खारेज गरिदिएको राति उनले के सोचिन् होला ?
ओलीले आफैँले गरेको विद्याको सदस्यता खारेजीको बहादुरीलाई आफैँले पुरस्कारयोग्य ठाने वा पश्चातापपूर्ण ? उनका अन्तरमनले सही ठान्यो वा राजनीतिमा ‘न दुश्मन, न मित्र’ आफ्नै क्षुधाहरूको पूर्तिका लागि क्ष्यम्य हरकत ठानेर आफैँ चित्त बुझाए ? ‘तातो ग्यास मनुष्यका मगजका सम्पूर्ण उत्रिदिए’ के विद्या मान्छेका मगजको तातो ग्यास उत्रिने समय पर्खिन्छन् वा उतार्न लाग्छिन् ? च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको बडेमाको भवनको गजुरमा चढेर बहुदलीय जनवादको पुस्तक देखाउँदै उनैलाई मानमर्दन गरिरहेका झोले, चम्चा, हुक्के, वैठके, सुसुधाई र बुबुधाइहरुको अनुहारहरू ठम्याउने प्रयत्न पक्कै गरिन ।











