रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिकासहित पश्चिमा देशहरूले व्यापारलगायतका प्रतिबन्ध कायमै राखेका छन् । तर, भारत र चीन जस्ता विश्वकै बढी जनसङ्ख्या भएका देशहरूले रुससँगको व्यापारलाई निरन्तरता मात्र दिएनन् मनग्ये लाभ लिइरहेका छन्
सन् २०२३ यता रुसबाट सबैभन्दा बढी कच्चा तेल खरिद गर्ने देशमा चीन पहिलो र भारत दोस्रो देश रहेको छ । युद्धका बेलामा रुसी अर्थतन्त्र झन् उकालो लाग्नुमा चीन र भारतजस्ता देशले कच्चा तेल, कोइला र ग्यास खरिद गर्नु नै हो ।

भारत र चीनले रुससँगको व्यापारलाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब बढाउन कर वृद्धिको रणनीति लिएका छन् । अमेरिकाले भारत र चीनसहित ब्रिक्स देशहरूमाथि शतप्रतिशत कर बढाउने चेतावनी दिइसकेका छन् । यसले विश्व राजनीतिलाई तरंगित पारिरहेको छ ।
ट्रम्पले भारत र चीनमाथि दबाब बढाउन कर बढाउने रणनीति मात्र अबलम्बन गरेका छैनन्, क्षेत्रीय राजनीतिलाई प्रभावित पार्ने कदम चालिरहेका छन् । युक्रेन युद्ध चलिरहँदा भारत र चीनले विश्व बजारको मूल्यभन्दा कम मूल्यमा कच्चा तेल, कोइला र ग्याँस खरिद गरिरहेको विषय आइरहेको छ । यसबाट यी दुई देशले लाभ लिनसक्दा उनीहरूको आर्थिक वृद्धिमा टेवा पुगिरहेको छ ।
ट्रम्प यसकारण पनि भारतमाथि रुसी तेल खरिद नगर्न दबाब दिइरहेका छन् । कर बढाउने चेतावनी दिइरहेका छन् । तर, भारत पछि हट्ने पक्षमा देखिँदैन । भारतले रुससँगको व्यापारलाई निरन्तरता दिने सन्देश दिइसकेको छ ।
ट्रम्पले कर बढाउने चेतावनी दिएपछि मोदीले आफ्ना नागरिकलाई स्वदेशी उत्पादन प्रयोग गर्न आव्हान मात्र गरेनन्, भारतले जे विदेशबाट खरिद गर्छ त्यो भारतीय जनताको पसिनाबाट हो सम्म भनेर कडा जवाफ दिए । रुससँगको परम्परागत सम्बन्ध र व्यापारलाई निरन्तरता दिने मोदीको सन्देश थियो यो । विश्वको सबैभन्दा बढी हतियार खरिद गर्ने मध्येको एक हो भारत । उसले सबैभन्दा बढी हतियार रुसबाट खरिद गर्छ । एक अध्ययनका अनुसार भारतले खरिद गर्ने कुल हतियारको ३५ प्रतिशत रुसी हुने गरेको छ ।
अमेरिका, बेलायतलगायत पश्चिमा देशहरू रुसलाई व्यापार प्रतिबन्ध लगाएर कमजोर पार्ने रणनीतिमा लाग्दा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएका भारत र चीनसँग झन् व्यापार बढ्नुले ट्रम्प कडा नीति लिन तयार भएका हुन् । उनको कतिपय कदम प्रत्युत्पादक पनि बन्दै गएका छन् । भारतले पहलगाम हमलापछि युद्ध लडेको पाकिस्तानसँग अमेरिकाले निकटता बढाएलगत्तै शक्तिशाली देशहरूका सम्बन्धहरूमा समेत उतारचढाव आएको छ ।
सन् २०२० मा गलवानमा सैन्य झडपपछि चीनसँग सम्बन्ध चिसिएकोमा भारतले अहिले निकटता बढाएको छ । यसबीच उच्च स्तरका भ्रमणहरू भारतबाट बेइजिङसम्म भएका छन् । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षामन्त्री राजनाथ सिंह हुँदै विदेशमन्त्री एस जयशंकर चीन पुगेर उच्चस्तरको भेटवार्ता गरेका छन् ।
जयशंकरले त चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटपछि भारत र चीनबीचको सम्बन्धमा तेस्रो शक्ति नरहने अभिव्यक्ति दिएर यस क्षेत्रको सुरक्षा खतराप्रति सजग रहेको सन्देश चीनलाई दिएका छन् । यसो हुनुको पछाडि पाकिस्तान परम्परागत मित्रशक्ति अमेरिकासँग नजिकिएपछि चीन पनि सशंकित देखियो ।
सायद, उसले पनि भारतसँग सम्बन्धलाई सामान्य बनाउनुमा नै आफ्नो हित देख्यो । पाकिस्तानमा पूर्वाधार विकासमा चीनले अरबौँ लगानी ग¥यो, सैन्य सामाग्री पठायो । तर, पाकिस्तानको सत्तामा सबैभन्दा प्रभावशाली सेनापति असिम मुनिरका लागि व्हाइट हाउसको ढोका उघ्रिएन मात्र इतिहासमा पहिलोपटक लन्च बैठकको अवसर पनि पाए बहालवाला अमेरिकी राष्ट्रपतिसँग । यो घटनाले भारत र चीनलाई एकसाथ सशंकित बनाएको हुनुपर्छ ।
पटक पटक युद्ध लडिसकेका, सीमा विवाद समाधान नभइसक्दा पनि भारत र चीनका लागि सम्बन्ध सुधार्नु बाध्यकारी बन्यो । ब्रिक्सका संस्थापक देशहरू समेत रहेका यी दुई शक्तिका लागि पश्चिमाहरुको बढ्दो चुनौतीको सामना गर्नुपर्ने अवस्था पनि छ । जसका कारण विवाद थाती राखेर हातेमालो गर्न पुगे अहिले चीन र भारत । भारतले समयानकूल रणनीति बदलेको घटना हो यो ।
विश्व राजनीतिमा आफूसँगै भारतको पनि उचाइ बढाएका मोदीले ट्रम्पबाट केही अपमानहरू भोगे पछिल्ला समय । ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि अमेरिका भ्रमणमा जाँदा बंगलादेशको राजनीतिक परिस्थितिबारे पत्रकारले प्रश्न सोध्दा ट्रम्पले मोदीको जिम्मा लगाए जसरी प्रस्तुत भए । मोदीलाई दक्षिण एशियामा सिमित रहन सन्देश दिए ।
जी सेभेनमा ट्रम्पसँग साइडलाइन वार्ताको अपेक्षासहित क्यानडा पुगेका मोदीलाई वासिङ्टन आएर भेट्न भने । जबकि, उक्त समयमा पाकिस्तानका सेनापति मुनिर ह्वाइट वासिङ्टन पुगेर ट्रम्पसँग लन्च बैठकको प्रतीक्षामा थिए ।
सायद ट्रम्प मोदी र मुनिरलाई ह्वाइट हाउसमा एकसाथ राखेर भारत र पाकिस्तानबीच युद्ध अन्त गरेको मध्यस्थकर्ताका रुपमा आफूलाई प्रस्तुत गरी नोबेल पुरस्कारको निर्विकल्प प्रतिस्पर्धी बनाउन चाहन्थे ट्रम्प । तर, क्यानडामै रहँदा मोदीले ट्रम्पसँगको टेलिफोनवार्तामा स्पष्टसाथ भेटका लागि वासिङ्टन आउननसक्ने देखि भारत र पाकिस्तानबीच युद्ध अन्तमा ट्रम्पको कुनै भूमिका नभएको बरु दुवै देशको सैन्य च्यानलबाट भएको विषय भारतका विदेशसचिव विक्रम मिश्रीले भिडियो सन्देशमार्फत् आक्रोशित मुद्रामा प्रस्तुत भएर भने ।
जबकि पाकिस्तानी सेनापति मुनिरले ट्रम्पलाई भारत र पाकिस्तानबीच युद्ध अन्तको मध्यस्थकर्ता मात्र मानेनन् नोबेल पुरस्कार पाउनुपर्ने भने । पाकिस्तान सरकारले औपचारिक रुपमै ट्रम्पलाई नोबल पुरस्कार प्रदान गर्न आग्रह समेत ग¥यो । ट्रम्पले यस्तो रणनीति चाले जसका कारण पाकिस्तान कार्डमार्फत् भारत र चीन दुवैलाई चुनौती थपिन सक्ने भयो । चीनसँग नजिकिएको पाकिस्तान खिचियो अमेरिकातर्फ फेरि । भारतको पाकिस्तानसँग तनाव सधैजसो छँदैछ । ट्रम्पको पाकिस्तान कार्ड तयार भएसँगै भारत र चीन नजिकिइहाले । अमेरिकासँग भारतको सम्बन्धमा समस्याहरु आउन थाल्यो ।
अमेरिकाले भारतको सामानमाथि कर बढाउने घोषणा गरेपछि सम्बन्ध झन् चिसिन पुग्यो । यो घोषणा ब्रिक्स सदस्य देशहरू प्रति पनि लक्षित थियो । डलरको प्रभाव कम गर्न ब्रिक्स देशहरू लागेको भन्दै ट्रम्प आक्रामक रणनीतिमा उत्रिन थाले । रुससँग भारत र चीनले कच्चा तेल सस्तो मूल्यमा डलरबाहेकको मुद्रामा कारोबार गरिरहेकामा ट्रम्पले असन्तुष्टि पोखिहाले ।
चीन र रुसबीच तेलको व्यापार रुबल र युआनमा हुँदै आएको छ । भारतले पनि आफ्नो मुद्राको प्रयोग वैदेशिक व्यापारको कारोबारमा गर्न थालेको छ । भारत र रुसबीच निश्चित व्यापार रुपी र रुबलमा भइरहेको छ । यसै पनि अमेरकाले डलरलाई अस्त्रका रुपमा प्रयोग गरिरहेको आरोप खेपिरहेको छ । विकल्पमा ब्रिक्स मुद्राको तयारी पनि चलिरहेको छ ।
यसलाई रोक्न पनि ट्रम्प आक्रामक रणनीतिका साथ प्रस्तुत भइरहेका छन् । ब्रिक्स मुद्रा आएर सदस्य देशहरूले व्यापारमा अनिवार्य उक्त मुद्रा प्रयोग गरेमा विदेशी मुद्रा प्रयोगका सन्दर्भमा विश्वको आधा जनसङ्ख्या डलरबाट अर्को मुद्राको प्रयोगमा जानथाल्छ । यसलाई रोक्ने चुनौती ट्रम्पका सामु छ । तर, त्यो रणनीति प्रत्युत्पादक बन्ने खतरा पनि बन्दै छ ।
विशेषगरी अमेरिकाको नजिकको सम्बन्ध रहेको भारतलाई चिढ्याउनुले विश्व राजनीतिमा अर्को बदलाव ल्याउने सम्भावना बनाएको छ । ऊसँग सभ्यताको लामो इतिहास छ । वर्तमानमा विश्वकै सबैभन्दा बढी जनसङ्ख्या छ, उर्वर भूमि छ अनि दक्ष प्राविधिक जनशक्ति उत्पादन भइरहेछ । भविष्यमा अझ शक्तिशाली र ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण छ ।
भारतले जति निकटता पश्चिमाहरुसँग बनायो उति नै धक्का पनि खाएको इतिहास साक्षी छ । यूरोपसँग व्यापार गर्दा गर्दै यूरोपेलीहरुले भारतलाई उपनिवेश बनाए । व्यापारका लागि छिरेका बेलायती पछि भारतमा शासन नै गर्न थाले । स्वतन्त्र भएपछि पनि लामो समय भारतमा बेलायतको प्रभाव रह्यो । गरिबी र अस्थिरताको पर्याय नै बनेको थियो भारत ।
तर, उसको परिचय अहिले बदलिएको छ । विश्व राजनीतिमा भारत बलियो शक्ति बनेर छाइसकेको छ । मोदीले भारतको परिचय धमाधम बदलिरहेका छन् । परनिर्भरताले खोक्रिएर कुनैबेला दरिद्र देशमा अंकित हुन पुगेको उसले मोदीयुगमा आत्मनिर्भरताको अभियान नै चलाइरहेको छ । यसले पनि झण्डै डेढ अर्ब जनसंख्याको भारतलाई बाह्य चुनौती बढेको देखिन्छ ।
२०औँ शताब्दीसम्म हतियार र प्रविधिमा पश्चिमा देश र रुससँग बढी निर्भर थियो भारत । २१औँ शताब्दीमा उसले ठूलो फड्को मारेको छ । सन् २०१४ मा भारत विश्वको दशौं धनी देश थियो अहिले चौंथो छ । अब चाँडै अमेरिका र चीनपछि भारत तेस्रो धनी देश बन्ने प्रक्षेपण आइसकेको छ । कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतलाई उछिनेको छ भारतले ।
जापानलाई उछिनेको उसले जर्मनीलाई उछिनेर तेस्रो धनी देश बन्ने प्रक्षेपण आएको हो । भारतमा अत्याधुनिक हतियार बनिरहेका छन् । रुससँग मिलेर ब्रम्होस मिसाइल उत्पादन गरेको छ जसको अन्तर्राष्ट्रिय बजार पाउन थालेको छ । हाइपरसोनिक मिसाइल उत्पादन गर्दैछ भारतले । आणविक अस्त्र सम्पन्न भारतसँग विश्वकै ठूलो जनसङ्ख्या छ । दक्ष जनशक्ति उत्पादन गरिरहेछ जो विश्वको कुना काप्चामा पुगेर उद्दोग, व्यापार देखि आकर्षक कमाईका रोजगारीमा छन् ।
भारतीय डायस्पोराको शक्ति कति छ भन्ने विश्वका विभिन्न देशमा भारतीय मूलकाहरु राष्ट्राध्यक्ष, मन्त्री देखि उच्च ओहदामा पुगेबाट प्रष्ट हुन्छ । अर्कोतर्फ, विश्वकै पुरानोमध्येको सभ्यताको जगमा फलेफूलेका संस्कृतिको प्रभाव विश्वव्यापी बन्दै छ ।
भारतीय मूलकाहरु विश्वका जुनसुकै कुनामा रहेपनि संगठित देखिएका छन् । आरएसएसले हिन्दुत्वको विचारमार्फत् र करिश्मामयी व्यक्तित्व मोदीले रणनीतिक चार्तुयतामार्फत् उनीहरुलाई संगठित मात्र बनाएनन् सबल पनि बनाउन भूमिका खेले । जनसङ्ख्या, दक्ष जनशक्ति, डायस्पोरामार्फत् भारतले विश्वव्यापी प्रभाव बढाइरहेको देखिन्छ । उसको यही शक्तिका कारण सैन्य दृष्टिले निकै शक्तिशाली भनिएका अमेरिकाको समेत दबाब थेग्ने सामथ्र्य विकास गरेको छ ।











