
हाम्रा नेताहरू अलोकप्रिय हुनुको एउटा कारण बढी बोल्नु पनि हो । नेताहरूले के बोल्छन् भन्ने कुराले समाज रूपान्तरणमा ठूलो भूमिका खेलेको हुन्छ । नेताहरूको बोलीबाट आम नागरिकले सकारात्मक सन्देशको अपेक्षा गरिरहेका हुन्छन् । त्यस्ता नेताहरूको बोलीबाट तुच्छ कुरा बोल्दा त्यसले समाजमा तरंग ल्याउँछ र नेताहरूको इज्जत, प्रतिष्ठा घटाउने काम गर्छ । त्यसैले बोल्दा मैले के बोलिरहेको छु र त्यसलाई आम नागरिकले कसरी बुझिरहेका छन् भन्ने कुरालाई हेक्का राख्नुपर्छ ।
बढी, असान्दर्भिक कुरा बोल्दा मै हुँ भन्ने नेताहरू नागरिकको नजरबाट गिरेका छन् । जोकरफाल्तु सावित भएका छन् । टिकटक, सामाजिक सञ्जालमा गालीको पात्र बनेका छन् । त्यसैले नेताजस्तो मान्छेले सस्तो लोकप्रियताका लागि पुष्टि हुनै नसक्ने कुरा बोलेर गल्ती गर्नु हुँदैन ।
शिवलाई सबैले भगवानको रुपमा पूजा गर्छन् । भगवान्को कुनै रूप र जात हुँदैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलाई चाम्लिङ बनाइदिए । यस घटनाले शिवभक्तहरूको मनमा गहिरो चोट पु¥याएको हुनुपर्छ । राम कहाँ जन्मिए, विवादकै विषय बनेको छ ।
राम जन्मिए कि जन्मिएनन् त्यो पनि खोजीकै विषय बनेको छ । यस्तो बेला हाम्रा प्रधानमन्त्री ओलीले राम ठोरीमा जन्मिएको ठोकुवा गरिदिए । जसका कारण ओलीको बोलीप्रति कसैले विश्वास गर्न छाडेका छन् ।
अहिले झलनाथ खनाल र माधवकुमार नेपालबीच वाकयुद्ध चलेको छ । मिडियाले यी दुवैलाई भाले भीडन्तमा उतारेका छन् । मिडियाको कामै उचाल्ने र पछार्ने हो । मिडियामा पछिल्लोपटक यो व्यापार फस्टाएको छ, किनभने जति बढी ‘भ्यूअर’ बढ्यो त्यति बढी युट्युबबाट आम्दानी हुन्छ रे । मिडियाका लागि गहन विषयवस्तु खोज्नु छैन ।
जसको बोली बिक्छ त्यसको मुखमा माइक तेस्र्याएपछि नेताहरू बरबराउन थाल्छन् । यही हो नेताहरूको कमजोरी । कमसेकम प्रश्न सोध्नेले कुन नियतले प्रश्न सोधिरहेको छ भन्ने कुराको अनुमान मात्र नेताहरूले गरेको भए धोती फुस्कने थिएन । जे होस्, मिडियाले माधव नेपाल र झलनाथलाई जति भाले भीडन्तमा उतारे पनि यी दुई नेता एउटा सिक्का दुई पाटा हुन् । अन्ततः कम्युनिष्टहरुको शब्दमा आत्मालोचना गरेपछि मिडियाको व्यापार सुक्छ ।
अघिल्ला पुस्ताका नेताहरू मुखमा लगाम लगाएर बोल्थे, त्यसैले उनीहरूको बोलीमा ओज हुन्थ्यो । नेता कार्यकर्ताले विश्वास गर्थे । नचाहिने भाषण गरेर समय बरबाद गर्दैन थिए । कृष्णप्रसाद भट्टराईको हाँसो, ठट्यौली मिडियाले रमाइलोसँग प्रस्तुत गर्थे, किनभने किसुनजी रमाइला नेता थिए । गणेशमान सिंह कम बोल्थे, जे बोल्थे त्यो गरेरै छाड्थे । गिरिजाप्रसाद कोइराला हठी थिए, कम बोल्थे बोल्दा आफ्नो हठ छाड्दैन थिए ।
मनमोहन अधिकारी गम्भीर स्वभावका थिए अनावश्यक कुरा बोल्न त छोडौं नचाहिने कुरामा वादविवाद गरेर समय खेर फाल्दैन थिए । मदन भण्डारी गम्भीर स्वभावका नेता थिए, संस्कृत भाषामा पोख्त भएका कारण उनको भाषण सुन्न आम नागरिकहरू लालयित हुन्थे । उनको भाषण, भाषणका लागि नभएर ठोस एजेण्डामा केन्द्रित हुन्थ्यो । चुम्बकीय भाषणका कारण उनी लोकप्रिय थिए ।
आज सहर भाषणले दुर्गन्धित बनेको छ । नेताका अनुहारले सामाजिक सञ्जाल पूरै प्रदूषित बनेको छ । नेताहरुप्रति वितृष्णा जाग्दै छ । देश बन्छ भन्ने सकारात्मक सोच कसैमा देखिन्न । जता हे¥यो त्यतै बिग्रियो, बिगा¥यो भन्ने धारणा सुन्न पाइन्छ । अब त देश बन्ला कि भन्ने आशा कुनै पनि नेताहरूले जगाउन सकेका छैनन् ।
नाकाबन्दीताका प्रधानमन्त्री ओलीले जगाएका आशा पनि गजेडी गफमै सीमित भयो । घरघरमा ग्यासका पाइप, कोशीदेखि समुद्रसम्म नेपाली झण्डा फरफराएको पानी जहाज, केरुङ–काठमाडौंदेखि लुम्बिनीसम्म रेल अहिले व्यंग्य बनेको छ । यस्ता कुरा बोल्नु अगाडि ठण्डा दिमागले सोचेको भए हाँस्यको पात्र बन्नुपर्ने थिएन । त्यसैले बोल्दा होस् पु¥याउँ, बेहोसमा नबोलौं ।











