Logo
Logo

म फेरि भन्छु, नेतृत्वले विद्रोहको औचित्य पुष्टि गरोस्


झलनाथ खनाल, सम्मानित नेता, नेकपा एकीकृत समाजवादी

6.9k
Shares

पार्टीमा उत्पन्न समस्याबारे छलफल गर्न एकीकृत समाजवादीले भदौको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाएको छ । भदौ २७ र २८ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो । त्यसअघि स्थायी समिति बैठक भदौ २५ गते र पोलिटब्यूरो बैठक भदौ २६ गते बस्नेछ ।

सम्मानित नेता झलनाथ खनालले पार्टीले औचित्य पुष्टि गर्न नसकेको विषय उठाएपछि अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै ‘पार्टी छोड्न’ भनेपछि शीर्ष तहमा विवाद चुलिएको छ । नेपाल र खनालबीच गत शनिबार वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता प्रमेश हमाल र महासचिव घनश्याम भुसालसहित छलफल भएपनि ठोस निष्कर्ष निस्कन सकेन । पुनः छलफल गर्ने समझदारी रहेको नेताहरूले बताएका छन् ।

सम्मानित नेता खनालले आफूले सचिवालयमा प्रस्तुत गरेको लिखित प्रस्तावमाथि स्थायी समित, पोलिटब्यूरो र केन्द्रीय समिति बैठकमा छलफल गरेर ठोस निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीमा उत्पन्न समस्या, अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता वामदेव गौतमसँगको भेटवार्ता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आगामी राजनीतिक यात्रा, वाम एकताको सम्भावना लगायतका विषयमा नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंले एउटा अन्तर्वार्तामा पार्टी गठनको औचित्य पुष्टि नभएको बताउनुभयो । त्यसपछि शीर्ष तहमा सवालजवाफकै शिलशिला चल्यो । खासमा तपाईंले भन्नु खोज्नुभएको के हो ?
हामीले नेकपा एमालेबाट विद्रोह गरेको चार वर्ष भयो । यो चार वर्षको अवधिमा हाम्रो पार्टीले यो विद्रोहको उद्देश्य के थियो ? अब हामी अगाडि बढ्ने बाटो के हो ? हाम्रा कार्यदिशा, नीति, सिद्धान्त के हुन् ? भन्ने कुरालाई जुन उचाई र व्यापकताका आधारमा पुष्टि गर्नुपर्ने थियो, त्यो पुष्टि गर्ने काम अझै व्यवस्थित रुपले हुन सकेन । हामीले १०औँ महाधिवेशन गरेको पनि एक वर्ष नाघ्यो । तर अझै महाधिवेशनले पारित गरेको नेपाली विशेषताको समाजवादी कार्यक्रमसम्म पनि प्रकाशित हुन सकेन । पार्टीलाई वैचारिक, राजनीतिक, संगठनात्मक, सैद्धान्तिक र कार्यशैलीगत रुपले यो विद्रोहका कारणहरू के–के हुन् ? ति कुराहरूको बारेमा व्यवस्थित रुपले जसरी पुष्टि गर्नुपर्ने थियो, ति पुष्टि गर्ने कामहरू अझै राम्रोसँग हुन सकेका छैनन् । त्यसो हुनाले पार्टी नेतृत्व औचित्य पुष्टि गर्ने काममा किन केन्द्रित हुन नसकेको हो ? यो पुष्टि गर्ने काममा पार्टीको समग्र शक्तिलाई परिचालित गर्न किन नसकेको हो ? खोइ पार्टीका अपानीहरूको प्रकाशन ? खोइ पार्टीका मुखपत्रहरूको प्रकाशन ? खोइ पार्टीको राजनीतिक, सैद्धान्तिक प्रचार प्रसारको कार्यक्रम ? यी कुराहरूको बारेमा मैले पार्टीले अझै प्रभावकारी रुपले अगाडि बढ्नु पथ्र्यो, त्यसरी अगाडि बढ्न नसकिरहेको अवस्थालाई लम्ब्याउनुको अर्थ पार्टीले पुष्टि नै गर्न सकेन भन्ने ढंगले प्रश्न उठ्न सक्छ । त्यसो हुनाले यो कुरालाई गम्भीरतापर्वक ध्यान दिनुप¥यो भनेर मैले भनेको हुँ ।

तपाईंले जुन कुरा भन्नुभयो । अध्यक्ष माधवकुमार नेपालले त्यसलाई पार्टी छाडेर जाँदा पनि भयो नि त भन्ने ढंगले सार्वजनिक प्रतिक्रिया नै दिनुभयो नि ?
त्यो त मलाई झनै आश्चर्यजनक लाग्यो । पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अझ व्यापक रुपले, प्रभावकारी ढंगले अगाडि बढाउ भन्ने मेरो आशय हो । तर त्यसो भन्नु नै गलत हो, यो पार्टीमा बस्ने ठाउँ नै छैन भनेर अध्यक्षले सार्वजनिक रुपमा भन्न मिल्छ ? अनि अरू कतिपय नेताहरूले अध्यक्षले भनेको एकदम ठिक छ, सम्मानित नेताले भनेको चाहिँ गलत हो भन्ने ढंगले वक्तव्यबाजी गर्नु भनेको उचित हो त ? यसरी पार्टीलाई वैचारिक, राजनीतिक र सैद्धान्तिक रुपले निर्माण र व्यापक बनाउन सकिदैन ।

पार्टीको औचित्य पुष्टि हुन नसक्नुमा सम्मानित नेताको पनि जिम्मेवारी होला नि ? अध्यक्षलाई मात्र दोष लगाएर पुग्छ त ?
एउटा गाडी गन्तव्यमा पुग्नु र विच बाटोमै दुर्घटना हुनुमा गाडी हाक्ने ड्राइभर कै मुख्य हात हुन्छ । ड्राइभरले लगेर दुर्घटना ग¥यो भने तिमीहरू पनि त्यही गाडीमा थियौँ नि ? किन त्यहाँ बसेको त ? भनेर यात्रीहरूलाई दोष दिन मिल्दैन । ड्राइभर त ड्राइभरै हो नि । ड्राइभरले हाक्न नसकेर पो दुर्घटना भएको हो त । यस्तै, पार्टीको मुख्य नेतृत्वले लिने सही विचार, नीति, सिद्धान्त, योजना, पहलकदमी र कार्यक्रमका आधारमा पार्टी हाकिन्छ । त्यही कुरामा कमजोरी भयो भने पार्टीलाई सही रुपमा हाक्न सकिँदैन ।

केही शीर्ष नेताहरूसहित अध्यक्षसँग तपाईंको छलफल पनि भयो । छलफलले सकारात्मक वातावरण बनायो ?
छलफललाई आमरुपमा म पोजेटिभ रुपमै मान्छु । किनभने, छलफल हुनु मात्रै पनि पोजेटिभ हो । पार्टीमा छलफल भएन, बहस भएन, पार्टीका नीति निर्णयहरू गर्दा जानकारीसम्म भएन भन्ने मेरो गुनासो हो । कमिटीगत प्रणाली नै प्रभावकारी नभएपछि मैले प्रश्न उठाएको हुँ । कमसेकम आज (शनिबार) छलफल भयो । तर, छलफलबाट केही पनि निष्कर्ष निस्केको छैन । पार्टीमा उठेका तमाम समस्याहरूको बारेमा गहन रुपले छलफल गरेर सही निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ । त्यसो नगरिकन पार्टी अगाडि बढ्न सक्ने स्थिति देखिदैन ।

पार्टीले आगामी भदौमा स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिसम्मका बैठक बोलाएको छ । ति बैठकले तपाईंले भनेजस्तै समस्याहरूको बारेमा गहन छलफल गरेर सही निष्कर्ष निकाल्छ त ?
अहिले उठेका वैचारिक, राजनीतिक, संरचनात्मक समस्यामा छलफल नहुने हो भने कमिटीका बैठकहरू बोलाउनुको कुनै औचित्य नै हुदैन । त्यसो हुनाले अहिले जे–जे विषयहरू उठेका छन्, ति सबै विषयहरूको बारेमा बृहत रुपले कमिटीभित्र छलफल गरेर सम्बोधन गर्नुपर्छ । कमिटीमा यथोचित रुपले एजेन्डा राखेर छलफल भएन भने त्यसले अरू समस्याहरू निम्त्याउछ । समस्याहरू कमिटीबाहिर देखिन थाल्छन । त्यसलाई रोक्नका लागि पार्टी कमिटीका बैठकहरूलाई व्यवस्थित गर्नुपर्छ । सबै एजेन्डाहरू बैठकमा प्रस्तुत गरेर सबैलाई आ–आफ्ना कुराहरू चित्त बुझुन्जेल भन्न दिएर, त्यसलाई राम्रोसँग सम्बोधन गरेर पार्टीलाई एउटा नयाँ धारालमा पु¥याउन जरुरी छ ।

त्यो भनेको के हो ? कसरी सम्भव हुन्छ ?
मुख्यकुरा, पार्टीलाई वैचारिक र संगठनात्मक रुपले रुपान्तरण गर्ने हो । क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्त लिएर समाजवादी क्रान्तिको बाटोमा पार्टीलाई हिडाउने हो । यस्ता एजेण्डा बैठकमा प्रस्तुत हुने र सोहीअनुसार ठोस निष्कर्ष निकाल्दै सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीको आधारमा पार्टीलाई अगाडि बढाउनुपर्छ । त्यसरी अगाडि बढ्दा मात्रै हाम्रो पार्टी गठनको औचित्य स्थापित हुन्छ । पार्टी निर्माण र विस्तारको काम द्रुत रुपमा अगाडि बढ्छ ।

तपाइँले सचिवालयमा राख्नुभएको लिखित प्रस्तावमाथि पनि अबका बैठकहरूमा छलफल हुन्छन ?
मैले पार्टीको समग्र हितका लागि सचिवालयमा लिखित प्रस्ताव राखेको छु । यो पार्टीलाई सुरक्षित गर्ने प्रस्ताव हो । पार्टीको अग्रगति र प्रगतिमा कुनै बाधाबिघ्न आउन नपाओस भन्ने मैले प्रस्ताव राखेको छु । हाम्रो पार्टीका अध्यक्ष कमरेड माधवकुमार नेपाल अहिले एउटा मुद्दामा पर्नु भएको छ । त्यो मुद्दाको सामना गर्ने कुरामा पनि उहाँलाई राम्रो र सहज बनाउने प्रस्ताव हो यो । त्यसकारणले त्यस्तो प्रस्तावको बारेमा छलफल हुनु अनिवार्य छ । पार्टीले त्यसबारेमा समग्र छलफल गरेर एउटा ठोस निष्कर्ष निकाल्नुपर्छ । त्यस्तो कुराहरूलाई अल्पमत–बहुमत, देब्रे–दाहिने, लप्पन–छप्पन गरेर तलमाथि गर्न खोजियो भने पार्टीकै निम्ति त्यो दुर्भाग्यपूर्ण हुन्छ ।

तपाईंले सचिवालयमा राख्नुभएको लिखित प्रस्तावमा खास विषयबस्तु चाहिँ के छ ?
त्यो प्रस्ताव अहिलेसम्म छलफलमा ल्याएकै छैन । सचिवालयमा लिखित प्रस्ताव प्रस्तुत गरेर म चीन गएको थिएँ । पछि छलफल गर्ने, त्यो छलफल नगरुनजेलसम्म बाहिर नभन्ने एउटा प्रतिवद्धता छ । त्यसकारण तपाईंसँगको अन्तर्वार्तामा पनि सबै सबै कुरा भन्न मिलेन । भदौभित्रमा स्थायी समितिदेखि केन्द्रीय समितिसम्मको बैठक हुनुपर्छ । र, मैले राखेको प्रस्तावसहित तमाम विषयमा छलफल हुनुपर्छ । त्यसपछि मात्र सबै कुरा प्रष्ट रुपले भन्ने अधिकारको ढोका खुल्छ ।

अध्यक्ष नेपालसँगको भेटवार्तापछि पार्टीकै वरिष्ठ नेता वामदेव गौतमसँग तपाईंले चार घण्टा लामो छलफल गर्नुभयो । पार्टीको दोस्रो र तेस्रो वरीयताका नेताबीचको चार वर्षपछिको छलफलमा के के विषय उठे ?
चार वर्षको अन्तरालपछि उहाँ मसँग भेट्न आउनुभएको थियो । हामीबिच अन्तरंग ढंगले दिल खोलेर सविस्तार कुराकानी भयो । उहाँले खुलस्त रुपमा कुरा राख्नुभयो । मैले पनि खुलस्त रुपमै कुरा राखेँ । जीवनका अनुभवहरूको आदानप्रदान, विचारहरूको आदानप्रदानको क्षण हो यो । समग्रतामा मैले के महसुस गरेको छु भने, वामदेव कमरेड एउटा सम्मानित नेता हो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि राम्रो योगदान गरेर आउनुभएको छ । अब जीवन विस्तारै पाकोपनतिर गइरहेको छ । यस्ता कमरेडहरूको अनुभवहरूलाई हाम्रो पार्टीले राम्रो ढंगले हेर्न सक्नुपर्छ । पाकोपन बढ्दै जाँदा कतिपय शारीरिक कमजोरी पनि प्रकट हुँदै जान्छन् । पार्टीले दिने कामको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व त छदैछ । साथसाथै, चाँडोभन्दा चाँडो आफनो अनुभव सबै कार्यकर्तासँग शेयर गर्ने हिसाबले एउटा पुस्तक निकाल्नुस् भन्ने सुझाव पनि दिएँ ।

गत साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेपछि हालसम्म जिम्मेवारी पाइनँ भनेर वामदेव गौतमले सार्वजनिक रुपमै गुनासो गर्नुभएको छ । उहाँले कहिले जिम्मेवारी पाउनुहुन्छ ?
वामदेव कमरेडमा केही गर्छु भन्ने जोश र भावना छ । साथै, केही असन्तुष्टि पनि छन् । संगठनसम्बन्धी जिम्मेवारी दिइयोस् भन्ने कुरा पनि छन् । त्यो विषयमा पार्टीमा छलफल भएर निर्णय हुन्छ । उहाँका योगदान, योग्यता र क्षमतालाई पार्टीले राम्रो ढंगले हेर्न सक्नुपर्छ ।

प्रसंग बदलौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोज्नुभयो । पार्टीको सदस्यता पनि नवीकरण गर्नुभयो । तर, उहाँले सक्रिय भएको औपचारिक घोषणा गरेपछि एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय ग¥यो । तर, भण्डारीले पछि नहट्ने अडान मात्रै लिनुभएन, सम्पर्क कार्यालय नै खोलेर सक्रिय हुने रणनीति लिनुभयो । यसलाई तपाईंले कसरी हेर्नुहुन्छ ?
नेपालमा ०६२र६३को परिवर्तनपछि, खासगरि संविधान निर्माणपछि देशमा एउटा थिति बस्ला भन्ने सबैको अपेक्षा थियो । तर, विकास निर्माण, आर्थिक रुपान्तरण, राजनीतिक रुपान्तरण, सामाजिक–सास्कृतिक रुपान्तरण केही पनि सोचेजस्तो ढंगले हुन सकेन । न देशको राष्ट्रिय स्वतन्त्रतालाई सुदृढीकरण गर्ने काम नै हुन सक्यो । न एउटा थिति बसाल्ने काम नै हुन सक्यो । यस्तो अवस्थामा कमरेड विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा आफूले काम गरिसकेको भए पनि आफ्नो उमेर, इच्छा, आकांक्षालाई ध्यानमा राखेर म पार्टी राजनीतिमै सक्रिय हुन्छु भन्नु कुनै अस्वभाविक कुरा हँुदै होइन । विद्यामाथि जुन हिसाबले अहिले थुनछेक गर्ने, पर्खाल लगाउने आदि कामहरू गरिदै छन्, ति स्वभाविक प्रक्रिया हो जस्तो मलाई लाग्दैन । त्यो त एमाले भित्रको एउटा अन्तरद्वन्दको अभिव्यक्ति मात्रै हो भन्ने धेरैलाई लागिरहेको छ । मलाई पनि त्यस्तै त्यस्तै लागिरहेको छ ।

विद्यादेवी भण्डारी राजनीतिमा आइसकेपछि वामपन्थीहरू एकताबद्ध हुन्छन भन्ने पनि कतिपयको विश्लेषण छ । तपाईं त्यसो सम्भावना देख्नुहुन्छ ?
अहिले उहाँलाई पार्टी राजनीतिमा आउनै दिएनन् । तत्कालका लागि एमालेको राजनीतिमा सक्रिय हुन उहाँले पाउनु भएन । अझै एमालेको महाधिवेशन हुन बाँकी नै छ । त्यो महाधिवेशनमा पुग्दाखेरि कतै केही नयाँ निर्णय पो आउने हो कि भन्ने पनि मान्छेहरूले अनुमान गरेका छन् । विद्या कमरेडले म अब एमालेमै सक्रिय हुन्छु भन्ने कुरामा चाहिँ अहिले अवरोध नै देखिन पुग्यो । तर, अब राजनीतिमा आउछु, राजनीतिमै सक्रिय हुन्छु भन्ने कुरालाई चाहिँ एमालेको त्यो निर्णयले मात्रै रोक्छ भन्ने मलाई लाग्दैन । उहाँले राजनीतिमा सक्रिय हुनको लागि एउटै मात्र होइन, बहुआयामिक सम्भावनाहरू हुन सक्छन । अब उहाँ कसरी हिड्नुहुन्छ, त्यो उहाँको कुरा हो । उहाँको कस्तो परिस्थिति छ ? कुन ढंगले उहाँ सोच्दै हुनुहुन्छ, यसमाथि नै निर्भर गर्छ । उहाँ आफैँ सक्रिय भइनसकेको र कसरी आउने भन्ने टुंगो नभएको अवस्थामा हामीले धेरै परिकल्पना गर्नु डाँडापारी गर्नुपर्ने कुरा डाँडावारी नै गरेजस्तो हुन्छ ।

वाम आन्दोलन अहिले खास समस्यामा देखिन्छ । वामपन्थीहरूको वर्चस्व कायमै भए पनि वाम दल विभाजित हुँदा निर्णायक ठाउँमा गैरवामपन्थी हाबी छन् । आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ला ?
अहिलेको अवस्थामा वामपन्थी एकताको कुनै विकल्प छैन । वामपन्थीहरू एकतावद्ध भएनन् भने गैरवामपन्थी राजनीति हाबी हुँदै जान्छ । त्यसकारण वामपन्थीहरूले विल्कुलै नयाँ ढंगले, नयाँ धरातलमा उभिएर सोच्न जरुरी छ । कसरी सबै वामपन्थीहरूलाई एक ठाउँमा ल्याउन सकिएला भनेर एउटा निष्कर्षमा पुग्न जरुरी छ ।

कसरी सम्भव छ त त्यो निष्कर्षमा पुग्न ?
चारवटा आधारभूत सिद्धान्तमा टेकेर वामपन्थी मोर्चा हुँदै एकताको यात्रामा अगाडि बढ्न सकिन्छ । पहिलो, सबैले माक्र्सवाद, लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । दोस्रो, नेपाली समाज ०६२/६३ मा आइपुग्दा पुँजीवादी जनवादी सम्पन्न भइसक्यो । अब नेपाल समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको छ भन्ने कुरालाई सबैले मान्नुपर्छ । तेस्रो, मुलुक समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आइसकेको हुनाले सम्पूर्ण नेपाली जनता र राष्ट्रको लक्ष्य भनेको अब वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादको लक्ष्य बोकेर अगाडि बढ्ने पार्टीको अबको कार्यक्रम समाजवादी कार्यक्रमबाहेक अरु केही हुन सक्दैन । हिजो जनवादी क्रान्तिको कालखण्डमा अगाडि सारिएको नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवादजस्ता सबै कार्यक्रमहरू अब ऐतिहासिक रुपले पुराना भए । हामीले अबको अवस्थामा जाज्वल्यमान वैज्ञानिक समाजवादको कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ भन्नेमा सहमत हुनुपर्छ ।

र, चौथो, त्यो वैज्ञानिक समाजवाद नेपाली विशेषताको हुनुपर्छ र त्यसलाई प्राप्त गर्ने हाम्रो विशिष्ट वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीतिको बाटो, मित्र र प्रतिद्वन्दीहरू सबै प्रष्ट रुपले अगाडि सारेर जानुपर्छ । यी चारवटा विषयमा सहमत सबै समूहहरूसँग हामीले एकआपसमा वार्ता सुरु गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी नै एकता गर्ने, तत्काल त्यो सम्भव हुँदैन भने कार्यगत एकता गरेर जान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्