Logo
Logo

भारत-अमेरिका टकराबले भूराजनीतिमा प्रभाव


डा. दीपेश केसी

2.6k
Shares

भारतले अपरेशन सिन्दूरका दौरान अमेरिकामा निर्मित पाकिस्तानको ६ सैनिक विमान खसालेको खुलासा यस्तो बेलामा गरेको छ, जतिबेला उसको अमेरिकासँग सम्बन्ध चिसिएको छ । बैंगलोरमा २४ साउनमा एउटा सार्वजनिक कार्यक्रममा भारतीय एयर फोर्सका प्रमुख अमरप्रीत सिंहले अपरेशन सिन्दूर अन्तर्गत पाँच पाकिस्तानी लडाकु विमान र एक ठूलो विमान खसालेकोमा अमेरिकामा निर्मित एफ १६ एस पनि रहेको सनसनीपूर्ण खुलासा गरेका छन् ।

भोलारीमा रहेका कतिपय एफ १६ एस विमान ध्वस्त पारिएको पनि एयर फोर्सका प्रमुख सिंहले बताए । खसालिएका केही विमानमा चीनमा निर्मित १० सी प्लस रहेको उल्लेख छ । एयर फोर्सका प्रमुखले रुसबाट भारतले ५ अर्ब ४३ करोड डलरमा खरिद गरेको एस ४०० हवाई प्रतिरक्षा प्रणाली अपरेशन सिन्दूरमा निकै प्रभावशाली सावित भएकोसमेत वर्णन गरेका थिए । पछिल्लो समय विश्वमा विकसित घटनाहरू र सार्वजनिक कतिपय विषयहरूले विश्व राजनीति कता जान्छ भन्ने कुराले निकै ठूलो अर्थ राख्छ ।

अमेरिकाले भारतमाथि रुसी तेल नकिन्न दबाब दिइरहेको छ यतिबेला । भारत अमेरिकाको राम्रो व्यापारिक साझेदार नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भनिरहेका छन् । रुसी तेल किनेको कारण भारतीय सामान आयातमा ५० प्रतिशत कर घोषणा गरिदिए ।

भारतलाई ठूलो रकमको हतियार बेच्ने तयारीमा छ अमेरिका । यो प्रक्रिया पनि जारी नै छ । विश्वमै सबैभन्दा बढी मूल्यको हतियार खरिद गर्ने देशमा दोस्रो स्थानमा रहेकाले पनि भारतलाई हतियारको बजार देखेका शक्तिशाली देशहरूको चासो बढ्दो छ । रुस, अमेरिका, फ्रान्स, इजरायल जस्ता देशका लागि भारत हतियारको खास बजार हो । तर, भारत हतियारमा आत्मनिर्भरताको मार्ग अवलम्बन गरिरहेको छ ।

हतियार निर्माणमा अब्बल देशहरूसँगको साझेदारीमा भारतमै उत्पादन बढाइरहेको छ । ब्रम्होस मिसाइल, एके २०३ राइफल रुसको संयुक्त रूपमा भारतमै उत्पादन हुन्छ । फ्रान्ससँग मिलेर ह्यामर नाम दिइएको आकाशबाट जमिनमा मार हान्ने हतियार निर्माण सम्झौता गरिसकेको छ । हतियार निर्माण गरेर भारत मुख्य निर्यातकर्ता देशका रूपमा विश्वको हतियार बजारमा प्रतिस्पर्धी बन्न खोज्दै छ ।

अमेरिकाबाट हतियार खरिदको घोषणा हुने अपेक्षा थियो भारतको यसै साता । यसका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंह अमेरिका भ्रमणमा जाने तय थियो । तर, भारतले उक्त भ्रमण नै स्थगित गरेको छ । भ्रमण स्थगित गर्नुअघि भारतले अपरेशन सिन्दूरका दौरान पाकिस्तानी सैन्य विमान खसालेकोमा अमेरिकामा निर्मित एफ १६ एस पनि रहेको खुलासा वायुसेना प्रमुखबाट नै गरेको छ ।

भारतले स्पष्ट सन्देश दिएको छ कि अमेरिकामा निर्मित लडाकु विमान खसाल्न पनि भारतले सामथ्र्य राख्छ । उसले किर्तिमानी ३०० किलोमिटर दुरीमा मार हानेर अत्याधुनिक लडाकु विमान खसालिदिएको छ । भारतले आफूसँग भएको हतियार र निर्माणका क्रममा रहेको हतियारको प्रभावकारिताबारे विश्वव्यापी प्रचार पनि गरेको छ ।

ब्रम्होस मिसाइल अपरेशन सिन्दूरमा सफल बनेको अभिव्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाटै आइसकेको छ । उनले रुसबाट अरबौं डलरमा खरिद गरेको एस ४०० हवाई प्रतिरक्षा प्रणाली निकै प्रभावशाली भएको समेत बताएका थिए । ठिक त्यसैगरी एयरफोर्स प्रमुख सिंहले उक्त प्रणालीले गजबकै काम गरेका बताए ।

यसरी भारत रुससँगको परम्परागत सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउन लागिपरेको सन्देश गएको छ । अर्कोतर्फ, पाकिस्तानलाई अमेरिकाले साथ दिएकोमा असन्तुष्टि मात्र पोखिरहेको छैन कडा नीति पनि लिएको छ ।

भारतको अमेरिकासँग विगतमा पनि सम्बन्ध चिसिएको थियो । तर, अमेरिकाको चुनौतीको सामना गर्ने ठाडो सन्देश भने भारतले पहिलो पटक दियो । उसले आफूलाई विश्वको प्रमुख शक्तिमध्येको रहेको सन्देश पनि यहीमार्फत दियो । भारत आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर बाह्य सम्बन्ध र साझेदारीको कदम चाल्ने अभिव्यक्ति भारतीय अधिकारीहरूबाट नै आयो ।

रुससँग तेल नकिन्ने अमेरिकी र यूरोपेली शक्तिको दबाबबाट भारत पछि हटेन । यो घटनाले भारतलाई विश्व मञ्चमा उदीयमान दरिलो शक्तिका रूपमा उभ्याएको छ । विश्व राजनीतिमा आएको उतारचढावको सन्देश पछिल्लो घटनाक्रमबाट सतहमै आएको छ ।

कहिल्यै सुर्यास्त नहुने बेलायती साम्राज्यको पतनपछि अमेरिका र सोभियत संघको दबदबा संसारभर चलेको थियो । सोभियत संघको विघटनपछि अमेरिकाको एकक्षत्र दबदबा कायम रह्यो । विस्तारै रुसले शक्ति फेरि बढाउँदै लग्यो । अत्याधुनिक हतियार र वृद्धि भइरहेको धनका बाबजुद रुससँग जनसंख्याको शक्ति कमजोर देखियो । विश्वकै ठूलो देशमा १४ करोड ३५ लाख मात्र जनसंख्या हुनु रुसका लागि समस्या नै रह्यो ।

जनसंख्यासँगै धन बढाइरहेका र सैन्य शक्तिमा जोड दिइरहेका चीन र भारत अमेरिका र रुस दुवैका लागि महत्त्वपूर्ण शक्ति मात्र रहेनन् प्रतिस्पर्धी पनि रहे । उनीहरूको तीव्र आर्थिक वृद्धि र सैन्य शक्तिमा वृद्धि एसिया बाहिरका शक्तिले ठूलो सुरक्षा चुनौती देख्न थाले ।

एक्काइसौँ शताब्दीमा चीनको उदय आक्रामक तरिकाले देखिन थाल्यो । यो शताब्दीको एक चौथाइ समय बित्दै गर्दा भारत अर्को शक्तिका रूपमा उदाइसकेको छ । यसका प्रभावहरू विश्व राजनीतिमा देखिइसकेको छ ।

अबको विश्व कुनै एक देशको दबदबामा सिमित नहुने देखिइसकेको छ । अमेरिका, रुस, चीन अनि भारत विश्वको मुख्य शक्तिका रूपमा देखिएका छन् । यूरोपका मुख्य शक्तिहरु मिल्दा मात्र उनीहरूको शक्ति प्रभावशाली हुने देखिन्छ । युक्रेन युद्धले यूरोपलाई भित्र भित्र खोक्रो पारिसकेको यथार्थ हो । शक्ति र सामथ्र्य अब अमेरिका, रुस, चीन र भारतको सेरोफेरोमा नै घुमिरहने देखिएको छ ।

यी देशहरू जो जो एक अर्कामा निकट हुन्छन् उनीहरूकै पल्लाभारी हुन्छ । अमेरिका र रुस, रुस र चीन, अमेरिका र चीन, अमेरिका र भारत, चीन र भारत, रुस र भारत स्वार्थ अनुकूल मिल्छन् स्वार्थ प्रतिकूल द्वन्द्वमा जान्छन् । विश्वमा यो घटना देखिइसकेको छ । सिधा युद्धमा नजाने यी देशहरूको सम्बन्धको असर अन्य देशको राजनीतिमा पनि देखिन्छ नै ।

भारत र चीन अमेरिकी नीतिका कारण नजिकिएका छन् अहिले । अमेरिकाले कर बढाउने र दबाब दिने गरेबाट भारत चीनसँग पुरानो शत्रुता बिर्सेर सुमधुर सम्बन्ध बनाउन पुगेको छ । अमेरिका रुससँग समझदारीका लागि आतुर छ । १५ अगष्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भेट गजबकै आइसब्रेक हुने नै छ ।

रुससँग द्वन्द्वमा रुमल्लिदा चीन र भारतले भरपूर लाभ लिइरहेको बुझेर ट्रम्प पुटिनलाई अलास्का निम्तो गर्ने निर्णयमा पुगेका हुन् । अमेरिका र यूरोपेली देशहरूको प्रतिबन्धका बाबजुद भारत र चीनले रुसबाट सस्तो मूल्यमा किर्तिमानी ठूलो परिमाणमा तेल, ग्याँस र कोइला खरिद गरेर भरपूर लाभ लिन सके । दुवै देशले रुसबाट अत्याधुनिक हतियार किने ।

भारतले फ्रान्स, इजरायल जस्ता देशबाट पनि अत्याधुनिक हतियार खरिद गरेर सैन्य शक्ति वृद्धि ग¥यो । उसले आफ्नै देशभित्र अत्याधुनिक हतियार उत्पादन गरेर देखाइसकेको छ । भारतले ब्रम्होसले यही मिसाइललाई अझ सुधारेर हाइपरसोनिक मिसाइल बनाउने घोषणा गरिसकेको छ । कुनैबेला हतियारको राम्रो बजार रहेको भारत अब हतियारको विक्रेता बन्न पुगेको छ ।

आर्थिक प्रगतिले मात्र कुनै देश बलियो हुँदैन । त्यो सँगसँगै सुरक्षाका लागि सामरिक शक्ति पनि महत्त्वपूर्ण कुरा हो । १२औं शताब्दीमा विश्वकै धनी बेइजिङ सैन्य शक्ति कमजोर हुँदा घुमन्ते मँगोलहरुको एकीकृत सेनाबाट पराजित भएको थियो । चेगिँज खाँका घोडचडी सेनाले बेइजिङलाई ध्वस्त पारिदिएका थिए । कमजोर सैन्य शक्तिका कारण चीन जापानबाट समेत पराजित भएको इतिहास साक्षी छ । त्यसैले भारतले आर्थिक समृद्धिसँगै सैन्य शक्ति पनि वृद्धि गर्दै लगेको छ ।

भारतले उपनिवेशको पीडा भोगेको छ । उसले विश्वको तेस्रो धनी देश बन्दै गर्दा सैन्य क्षमता पनि बढाउँदै लगेको छ । आणविक शक्ति सम्पन्न हुन भारतले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो । अटल विहारी वाजपेयी प्रधानमन्त्री हुँदा पोखरणमा आणविक हतियार परीक्षण गरेपछि अमेरिकी प्रतिबन्ध नै खेप्यो । साउदी अरबको आर्थिक सहयोगमा पाकिस्तानले आणविक अस्त्र निर्माण ग¥यो । यस्ता चुनौतीका बाबजुद भारतले सैन्य क्षमता बढाउन जल, थल र आकाश तीनै क्षेत्रमा सैन्य लगानी बढाएको छ । अन्तरीक्षमा भारतको बलियो उपस्थिति देखिन थालिसकेको छ ।

एकातर्फ चीनको सैन्य क्षमता बढिरहेको छ । अर्कोतर्फ भारतले ठूलो लगानीसँगै सैन्य प्रविधिको पर्याप्त विकास गरिरहेको छ । एशियाका यी दुई ठूला शक्ति विश्व राजनीतिमा पनि प्रभावशाली देखिँदै गएका छन् । यसकारण उनीहरूले प्रतिस्पर्धी देशहरूबाट विभिन्न रणनीतिका चुनौती सामना गर्ने नै छन् । यी देशका छिमेकमा तेस्रो या चौथो शक्तिको गतिविधि बढ्न सक्छ । जसका कारण नेपाल जस्ता देशहरूले नयाँ प्रकारका सुरक्षा चुनौती भोग्ने सम्भावना बढ्छ । पछिल्लो विकसित घटनापछि पाकिस्तानी सैनिक जनरलले इकोनोमिष्टमा अन्तवार्ता दिदै पूर्वतर्फबाट सुरु गर्ने भन्दै चिकेननेक क्षेत्रतर्फ संकेत गरेका छन् । बंगलादेशबाट भारतले नयाँ चुनौतीको सामना गरिरहेको छ ।

पश्चिमा र पाकिस्तानसँग निकट युनुस सरकार भारतलाई चुनौती दिइरहेछ । चीन र भारतको बीचमा रहेकाले नेपालमा पनि त्यस्ता शक्ति सक्रिय हुन थालिसकेका छन् । एकातर्फ, भारत र चीनको बढ्दो चासो र अर्कोतर्फ तेस्रो शक्तिको सक्रियताले नेपालमा पनि नयाँ सुरक्षा चुनौतीहरु विभिन्न रुपले देखिन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्