-प्रतिशोध लाई प्रतिशोधले नै अन्त्य गर्न सकिँदैन, केवल मित्रताले मात्र अन्त्य गर्न सकिन्छ- गौतम बुद्ध ।
-दार्शनिकहरूले केवल संसारलाई विभिन्न तरिकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा संसारलाई परिवर्तन गर्नेनै हो- कार्ल मार्क्स ।
कार्ल मार्क्स भन्दा नेपालका दार्शनिक अर्थात भगवान गौतम बुद्ध चौबीस सय बर्ष अगाडि नै जन्मिएका थिए भने पुर्वी एसियाका चीन, जापान, कोरिया, थाईल्याण्ड जस्ता मुलुकहरुमा बुद्धका दर्शनहरु व्यापक भैसकेको पाइन्छ । तर त्यतिबेलाको युरोपमा बुद्धको दर्शनले स्थान नपाएको भेटियो किनकि त्यतिबेलाको समय पनि युरोपियन बादको समय रहेछ । एसियन दार्शनिकहरुको दर्शन युरोपमा प्राय निषेध पाइयो ।

केही सताब्दी अघिनै युरोपमा बुद्धको अहिंसाबदी करुणाको दर्शन त्यी युरोपियन हरुले अध्यन गर्न पाएका अथवा गरेका थिए भने कार्ल मार्क्सले रचना गरेको कम्युनिस्ट मेनुफ्यस्टोमा हिँसा र बारुदको गन्धको मिश्रण हुन्थेन होला । यदि कार्लमाक्र्सले साँच्चिकै बुद्ध दर्शनलाई गहिराइमा अध्यन र आत्मसात गरेका थिए भनेर उनका उत्तराधिकारीहरूले आजको जस्तो राजनीति गर्थे होला त ?
यो प्रश्न अहिले नेपालका कम्युनिस्ट नेताहरू विशेषत: माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली र विद्यादेवी भण्डारी प्रचण्ड र जनार्दन शर्माबीचको तिक्तता हेर्दा झन् असाध्यै मार्मिक र कारिणिक लाग्छ । कम्युनिस्ट आन्दोलन जुन जनताको वर्गीयमुक्ति र सामाजिक न्यायका लागि उभिएको थियो, आज व्यक्तिगत महत्वाकांक्षाको जालोमा अल्झिएर करुणा र विचारशून्य शक्तिसंघर्षको रंगमञ्च जस्तै बनेको छ, सिँगै कम्युनिस्ट आन्दोलन, पहिरोको डिलमा उभिएको सुकेको रुखजस्तै भएको छ । त्यो रुखमा न त चराको बास छ । न त त्यो रुख हरियो हुनसक्ने आश छ । चराचुरुंगीले समेत बास बस्न विश्वास नगरेको र हाँगा झरिसकेको सुखड ठुटे रुखको अबस्था कस्तो होला ?
हिजोको आदर्श र आजको ईर्ष्या
आफ्नो मुलुक बाहिर बसेर २००६ साल बैशाख १० तदनुरुप १९४९ अप्रिल २२ शुक्रबार का दिन कं पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी । जहाँनियाँ राणा शासन विरुद्धको संगठित र चेतनामुलक सन्देशको शंखघोष थियो ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास आदर्श र त्यागको कथा समेटिएको झापा बिद्रोहदेखि माओवादी सशस्त्र युद्ध ०६२÷६३ को जनआन्दोलनसम्म आईपुग्दा नेपाली काङ्ग्रेसलाई पनि साथमा लिँदै कम्युनिस्टहरूले देशलाई निर्णायक मोडमा पुर्याएकै हुन् । वर्गीय समानता, जनताको शक्ति र शोषणविहीन समाज निर्माणको सपनाले लाखौँ युवालाई नेपाली राजनीतितिर तान्यो र हजारौं युवाको बलिदानी पनि भयो । जब इतिहासका ती संघर्षका पन्नाहरु पल्टाइन्छ र वर्तमान नेतृत्वले देखाउने व्यवहार पार्टी र राज्य सन्चालनका तौर तरिकाहरु हेरिन्छ अनि वर्गीय शोषण विरुद्धको समाजवादी आन्दोलनलाई सत्ताको खेलमा चुर्लुम्म डुबुल्की मारेको अनुभूति हुन्छ ।
के यसैको लागि थियो त त्यही अनगिन्ती ज्ञातअज्ञात सहिदहरु र क पुष्पलाल, मनमोहन र मदन भण्डारीले देखेका सपनाहरु ? यी र यस्तै ब्यथितिका कारण आज समग्र नेपाली जनता सरकारको रवैयाप्रति किन आक्रोशित छन् ? यहाँ केही ऐतिहासिक पार्टी र ब्यक्तीहरुले हाँकेका पार्टी गतिबिधिको बारेमा अलिकति उल्लेख गर्न मन लाग्यो ।
दासढुङ्गामा भएको मदन-आश्रित जिप दुर्घटनापश्चात् एकाएक माधवकुमार नेपालले नेकपा एमालेको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाए । तत्पश्चातदेखि माधब नेपालले नेकपा एमालेको नेतृत्व गरुन्जेल आधारभुत तहसम्म लेनिनबादी संगठनात्मक सिद्धान्तको आधारमा सांगठनिक कामहरु भएकै हुन् । त्यहिबेलाका संगठनका ढाँचाहरु आज पनि छन् । त्यी कमिटीहरु आज पनि जिबित छँदैछन् ।
तर, माधब नेपाल नेतृत्वमा रहिन्जेल उनले सत्तासमीकरण पार्टी र नेता कार्यकर्ता जोगाउने बहानामा सत्तालाई प्राथमिकतामै राखेर यतिसम्म गर्न र भन्न भ्याएकि राजा ज्ञानेन्द्रको प्रतिगमन आदि सच्चिएको निष्कर्ष र ठोस विश्लेषणसहित कम्युनिस्ट पार्टीलाई अर्धसत्तासिन बनाए । त्यो गलत थियो र भयो ।
अब नेपाली मुलधारको कम्युनिस्ट पार्टीको उँधोगतिको आरम्भ यहिबाट सुरु भएको हो कि भन्ने लाग्दछ । नेकपा एमालेका नेताहरू कम्युनिस्ट पार्टीको दस्ताबेजभन्दा अलिक फरक ढँगबाट विचारधारा भन्दा संगठनगत समीकरण र सत्तासन्तुलनको खेलमा पटकपटक सत्तासिन हुने दाऊमा नयाँ दौरा सुरुवाल सिलाउँदै दराजमा पट्याउँदै राख्ने संस्कृति जत्तिकै बनाउन थालेका थिए ।
तथापि, पछिल्लो समय माधव नेपालको ब्यक्तिगत स्वार्थमा अर्थात आफू र आफ्नाखाले बिचार समूहहरुको पार्टी र सांगठनिक राजनितिक रुपमा अपमानित भएको महशुस गर्दै यत्रो इतिहास बोकेको देशकै कम्युनिष्टहरुको मुलधारको नेतृत्व गरेको गौरवशाली पार्टी नेकपा एमालेबाट चोइटिएर आज सिँगो नेतृत्व गर्न सक्ने हैसियतका नेता कार्यकर्तालाई घर न घाटको अबस्थामा पु¥याएर आफू पनि जिबनको उत्तरार्धमा भ्रष्टाचारको मुद्धा लागेर बिचल्नीमा परे ।
क प्रचण्डले नेतृत्व गरेको माओबादी पार्टीको हबिगतको बारेमा धेरै नबोलम् होला । नेपाली जनता भुक्तभोगी नै छन् । एकता केन्द्र र माओबादी मिलेर बनेको माओबादी केन्द्रमा पुर्वउपराष्ट्रपति नन्दकिशोर पुनको पुनः पार्टी प्रवेशले क नारायणकाजीको छटपटाहटले अत्तालियका प्रचण्ड झन् जनार्दनको गर्जनले आगोमाथि घ्यु थपिएझैँ गरि अट्टाहास हाँसोसहित पार्टीलाई वानम्यान बनाउने प्रवृत्तिबाट दनदनी जलिरहेका देखिन्छ ।
क झलनाथ खनाल उपचारको क्रममा चीनमा रहेका बेला माधवसँग पनि खासै परामर्श नगरि यता केपी ओली र प्रचण्ड मिलेर पार्टी एकता गरि दुई पाइलट मिलि संयुक्तरुपमा कम्युनिस्ट नामको जेट बिमान उडाउने योजना बन्यो । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबिच पार्टी एकतामा बामदेब गौतमको अहंम् भुमिका रह्यो । तर दुई पार्टी एकैठाउँ दुई बर्षभन्दा बढी टिक्न सकेन । टिक्न नसक्नुमा पनि बामदेवको हात रह्यो किनभने दुई पार्टी एक भएपछि नौं जनाको सचिवालय थियो ।
कम्युनिष्ट पार्टी फुटको अन्तिम चरणमा पुग्यो । त्यतिबेला चार–चार जनाको टिम बन्यो । जता बहुमतको निर्णय हुन्थ्यो, त्यहि पार्टी रहन्थ्यो बामदेबको तटस्थताले कतै बहुमत पुगेन् । इतिहासमा जुटेको पार्टी नेताहरुको निजि स्वार्थका कारण बाध्य भएर मिलिसकेको कम्युनिस्ट पार्टी बिभाजन संघारमा पुग्यो ।
अब प्रचण्ड र केपी ओली आआफ्नो झण्डा बोकेर तितरबितर भए । नेपाली कम्युनिस्टहरु र अन्तर्राष्ट्रिय कम्युनिस्टहरुको इतिहास सैद्धान्तिक आधारमा फुटेको हुनुपर्नेमा यहाँ त सर्वोच्च अदालतले पार्टी फुटाउन मिल्ने बाटो देखाइदियो । अब यी पार्टीहरु तितरबितर हुनुको प्रमुख कारण सत्ता र पदीय लोलुप्ताबाहेक अन्य कुनै राष्ट्रिय र अन्तर्रास्ट्रिय तत्काल समाजवाद वा साम्यबाद अथवा (एमसिसि कि बिआरआई) भन्ने सैद्धान्तिक बहसको वादबिबाद थिएन । दुबै थरिले जतिसुकै गफ दिएपनि कम्युनिस्ट पार्टीमा आएको र देखिएको सैद्धान्तिक बिचलनबाहेक अरु कुनै एजेण्डै थिएन ।
एजेण्डा यदि थियो भने इतिहासमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य छाप कब्जा गरेर त्यसको नेतृत्व लिने र नेकपा एमाले समुल रुपमा नष्ट भएको घोषणा गर्दै अनि बिशाल कम्युनिस्ट पार्टीभित्र पसेर आन्तरिक लोकतन्त्रको बहस चलिरहेका बेला वानम्यान प्रबृत्ति लागू गरि देशमै कम्युनिस्ट पार्टी इन्डिङ्ग अबस्थामा पु¥याउने प्रचण्डको उत्कट चाहना । कुनै हालतमा त्यसको नेतृत्व सुम्पन नसकिने ओलीको दृढ संकल्प खास मुद्दा यिनै थिए । बिग्रिएको कुरा यतिमात्र हो । यहाँ बुद्धले दिएका कुनै उपदेशहरुको पालना कसैले गरेनन् । द्वैष नै द्वैषले पराकाष्ठा नाघ्यो । मित्रता र प्रेमभाव कहीँकतै र कसैले देखाएनन् ।
एकले अर्काको नाम लिंदा मुख कुल्ला गर्नेसम्म भए । बहादुरीका साथ पार्टी फुटाउन सफल साथीहरु केहीदिन देउवाको राजपाठमा रमाए । २०७९ को चुनावको रिजल्टको परिणामले एमाले र एस पार्टी दुबैको इच्छापुर्ण भयो । कम्युनिस्ट पार्टीहरुको फुटका कारण नेपाली काङ्ग्रेस २०७९ को निर्वाचनको मतपरिणामले स्थानिय तहदेखि संघीयसम्म गणितिय हिसाबबाट श्रेष्ठ पार्टी बन्यो । स्पष्ट बहुमत कसैको भएन ।
तत्पश्चात संघमा प्रचण्डजि म्याजिक नं सहित यता र उता गर्दै सरकारि मारुनी नृत्य नाटक गर्दै हुनुहुन्थ्यो। प्रतिपक्ष दर्शक दीर्घामा रहेको नेकपा एमाले र काङ्ग्रेसको नजरमा प्रचण्ड नृत्य सुनैसुनमा ठेस्सिएर लडला भन्ने डरले उनको नृत्यलाई ‘ब्रेक थ्रु’ गर्न पुग्यो । तब नेकपा एमाले र नेपाली काङ्ग्रेसको बिचमा सत्ता गठबन्धन बन्न पुग्यो ।
हाल प्रचण्ड माओबादीलाई सत्तामा नाच्न किन नदिएको भनेर बरबराई रहनु भाछ क्यारे ? जसरी हिजो उहाँले कसैको आड र निर्देशनमा सशस्त्र युद्ध सन्चालन र सुसम्पन्न गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन सफल हुनुभो तर आज सरकार संचालन गर्ने कला देखाउन सक्नुभएन । यदि कसैको कठपुतली साथ र सहयोग पाएको भए उनी अरु केहि महिना या दिन सत्तामा रहिरहन्थे । उनको सत्ता लिप्साको नृत्यप्रति त्यता ठुलाघरे छिमेकले खासै आँखा लगाएनन्, र उनी सत्ताबाट गलेर ढले ।
लोकतान्त्रिक कम्युनिस्ट पार्टीहरुले सत्ता सन्चालन गर्न यदि सिक्नुथियो भने क. मनमोहन अधिकारीको जनतामा प्रत्यक्ष प्रभाव र योजनासहितको आचरणबाट सत्तालाई सदुपयोग गरेर देखाउन सिक्न र सक्नुपथ्र्यो । तर, त्यस्तो देखिएन । संसदीय ब्यबस्थामा अभ्यस्त नेपाली कम्युनिस्टहरुको अब बर्गीय दुश्मन कोही छैनन् । जुनसुकै दुईखुट्टे पार्टीसँग किन नहोस् सत्तामा सहभागी हुनैपर्ने । बिचौलिया, ब्यापारी, ठेकदार र उद्योगपतिहरुलाई खुसी बनाउनुबाहेक अन्य काम अघि बढ्न सकेनन ।
भ्रष्टाचार त वर्तमान सरकारको मौलिक क्षेत्राधिकार भित्र नै पर्दछ । जस्तो कि जाँण र दूध मिसाउँदा जुन प्रकारको पेय पदार्थको स्वाद बन्ला । त्यस्तै वर्तमान सरकारले दिने सुशासन त्यही प्रकारको होला । हेर्दा त्यस्तै देखिन्छ । होइनभने त्यत्रो भ्रष्टाचारको आरोप लागेका मन्त्रीले राजिनामा गर्नुको सट्टा कति अटेर गरेर सत्तासिन छन् । किन नेपाली जनताले बुझ्या छैनन र यो कुरो ?
पद र सत्तालोलुपताको चरमरूप केपी शर्मा ओलीले पुर्वउपाध्यक्ष तथा स्वः मदन पत्नी क विद्यादेवी भण्डारीप्रति देखाएको ब्यवहारले प्रस्ट देखिन्छ । ओलीको आक्रामक नेतृत्व शैलीले जसले एउटा जिवित र लोकतान्त्रिक पार्टीलाई ‘एउटा व्यक्तिको परियोजना’ बनायो । उदाहरणस्वरुप नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको पुर्ण बैठकका निर्णयहरु हुन् । त्यसले लोकतान्त्रिक संसदीय कम्युनिस्ट आन्दोलनको धरातलीय र आधारभूत नैतिक जगनै हल्लाइदियो ।
एक समयको सहयात्री वैचारिक योद्धाहरु आज आरोप–प्रत्यारोप र प्रतिशोधको अग्निकुण्डमा होमिएका छन् । यो केवल व्यक्तिगत कटुतामात्र होइन, यो नेपाल कम्युनिस्ट आन्दोलनभित्र करुणा हराएको र वर्गीय संघर्षलाई ‘सत्तासंघर्ष’ मा खुम्च्याइएको ऐतिहासिक र पितृसत्तात्मक कथा हो ।
आज ओलीको पार्टी कार्यालयमा विद्या भण्डारीलाइ प्रवेशमा निषेध गराइयो । भण्डारीको दुई बर्ष अघि नै नविकृत पार्टी सदस्यतालाई पार्टीको वेभसाइटबाट नै हटाइयो । यति निर्मम किन ? यो सिँगो जबज र जननेता स्वः मदन भण्डारी परिवारप्रति चरम र असैह्यय अपमान हो । नेतृत्वको यस्तो रवैयाले मिसन २०८४ त सम्झिनी पानी छम्किनीबाहेक अर्को के नै कल्पना गर्न सकिएला र ? भकुण्डो जति प्रेसले भु्इँमा थेचार्नुहुन्छ, त्यो त्यति नै प्रेसले माथि उफ्रन्छ । किनकि त्यो (फोर्स) अर्थात बलको नियम नै हो । बेलैमा नेतृत्वको चेतना खुलोस् ?
नेपालको कम्युनिस्ट आन्दोलनले निषेधको राजनीतिमार्फत आन्तरिक लोकतान्त्रिक विचार र करुणा दुवै गुमायो । सत्ता कब्जालाई नै क्रान्तिको सफलता ठान्ने प्रवृत्तिले आन्दोलनलाई भित्रैबाट हाडे रुखको धोँद जस्तै धोद्रो बनाए । बाहिर देख्दा चिल्लो तर भित्र क्यान्सरले ग्रस्त रुखजस्तै ।
जनताको मुक्ति भन्ने नाराभित्र स्वार्थी नेतृत्वको महत्वाकांक्षा लुकेको पाइयो । आजको विवादित कम्युनिस्ट राजनीति चाहे त्यो झलनाथ, माधव, ओली र प्रचण्डबीचको तिक्तता होस् वा ओली र बिद्या भण्डारी बीचको होस्, अब यहाँनेर बर्गीय न्याय रहेन । व्यक्तिगत वर्चस्व र स्वार्थ सिद्धिका लागि रहेछ । यदि बुद्धको करुणा र अहिंसा कम्युनिस्ट आन्दोलनमा मिसिएको भए यी नेताहरू प्रतिशोध होइन, आत्मा रूपान्तरण र संवादतर्फ उन्मुख हुन्थे होलान् । पार्टी भनेको त केवल सत्ता प्राप्तिको साँचोमात्रै होइन ? चेतनाको स्कुल पनि हो ?
यदि बुद्धको दर्शनलाई माक्र्सले अध्यन गरेका थिए भने ऐतिहासिक र द्वन्द्वात्मक भौतिकबाद र बैज्ञानिक समाजवादको व्याख्या गर्दा वर्ग संघर्षलाई रक्तिम नबनाई आत्मरुपान्तरणलाई प्राथमिकतामा राख्थे होलान् । भगवान गौतम बुद्धको भनाइ छ– दुःख तृष्णाबाट जन्मिन्छ । वर्गीय शोषण र आर्थिक असमानता पनि अन्ततः लोभ र मोहका सन्तान रहेछन् ।
तर, हिजोको वर्गीय शोषण अन्त्य गर्ने भनेर उठेका बामपन्थीहरू आज व्यक्तिगत सत्ता र स्वार्थमा झगडिएका छन् । क ओली र बिद्या भण्डारीको द्वन्द्व त्यसको प्रतिविम्ब हो । जहाँ विचार छैन, करुणा छैन । केवल कटुता, हैकम र निषेधको राजनीति छ । यसले के पार्टीलाई मात्र नोक्सानी हुन्छ र ? देशलाइ असर पर्दैन ?
त्यसैले मलाई भन्न मन लाग्छ– यदि माक्र्सले बुद्धलाई आत्मसात गरेका थिए भने कम्युनिज्म आजको जस्तो कठोर र कहिलेकहीँ तानाशाही झल्किने प्रवृत्तिको हुने थिएन होला । यो करुणा र अहिंसामा रोपिएको सभ्यताको बिश्वबिद्धालय बन्ने थियो होला ।
बुद्ध किन जन्मिए ? संसारका प्राणीलाई अज्ञानता दुःख र तृष्णाबाट मुक्ति दिलाउन जन्मिए ।
कार्लमाक्र्स किन जन्मिए ? श्रमिक वर्गको मुक्ति र वर्गविहीन समाजको परिकल्पना गर्न जन्मिए । तर, दुःख लाग्छ– नेपालमा राजनीतिक दलका यस्ता करुणाविहीन नेताहरु किन जन्मिए ?











