
नेकपा(माओवादी केन्द्र)को पछिल्लो स्थायी समिति बैठक व्यक्ति केन्द्रित प्रशंसा र आलोचनामै सीमित भयो । अधिकांश नेताहरू पार्टी उपमहासचिव जनार्दन शर्माविरुद्ध खनिए । बैठकमा शर्माको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलक्षित टिप्पणी नै माओवादी बैठकको एजेन्डा जस्तै बन्यो । अन्य महत्त्वपूर्ण एजेन्डा ओझेलमा परे ।
यो बैठकका एजेन्डा मुलुकका ज्वलन्त समस्या, पार्टीको भावी कार्यदिशा र आगामी रणनीतिमा केन्द्रित हुनुपथ्र्यो । तर पार्टीले समसामयिक राजनीतिमा निर्वाह गर्नुपर्ने दायित्वबाट पूर्णतया विमुख भएर व्यक्ति केन्द्रित आलोचना र प्रशंसामै बैठक सकायो । तथापि, यसले पार्टीभित्र र बाहिर केही प्रश्न र बहस भने अवश्य सिर्जना गरेको छ ।
उपमहासचिव जनार्दन शर्माको एजेन्डा छलफलको विषय बनेको छ । यसले पार्टीमा नेतृत्वको परिवर्तनको बहस कार्यकर्ता तहसम्मै पु¥यायो । तर, माओवादीको गाली संस्कृति भने यो बैठकमा झनै उदाङ्गो हुन पुग्यो । माओवादी गठन यताका हरेक घटनाक्रम नियाल्ने हो भने यो दृश्य त्यति अनौठो भने होइन ।
विगतमा मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ लगायतलाई अनेकौँ आक्षेप लगाएर गाली गर्दै प्रचण्डप्रति भक्तिभाव दर्शाउने प्रवृत्तिकै निरन्तरता हो । उपमहासचिव हरिबोल गजुरेल लगायतको अस्वाभाविक प्रशंसाले केही स्थायी समिति सदस्यहरूलाई समेत लज्जित तुल्याएको थियो । बैठकमा हरिबोलको प्रचण्ड लक्षित प्रशंसा अप्रत्याशित र उदेकलाग्दो थियो ।
बैठकमा अपवादबाहेक अधिकांश नेताको प्रचण्डको चाकडीमा निकै प्रतिस्पर्धा चलेको थियो । त्यसको अग्रस्थानमा रहेका हरिबोलले यसअघि प्रचण्डका भक्तका रूपमा हरेक बैठकमा प्रस्तुत हुने अग्नि सापकोटालाई समेत माथ खुवाउँदै प्रचण्डको गुणगान गाएका थिए ।
अन्य अधिकांश नेताहरूले समेत आलोचना गरे पद र सुविधाबाट वञ्चित हुने भयले प्रचण्डको प्रशंसा गर्दै उनको गुणगानमै समय खर्चिएका थिए । पार्टीमा क्षमता र योग्यताको आधारमा कार्यविभाजन नभएर नेतृत्वसँगको निकटताको आधारमा जिम्मेवारी तय हुने भएकाले अधिकांशले प्रचण्डको बखान गर्दै जनार्दनलाई सत्तोसराप गरेका हुन् ।
त्यसोत नेतृत्वको चाकडी र विरोधीलाई आरोपित गर्ने प्रवृत्ति नेपाली कम्युनिष्ट आन्दोलनकै महारोग हो । विरोधी र आलोचकलाई अनेकौँ संज्ञा दिएर आरोपित गर्दै बाहिरिन बाध्य पार्ने प्रवृत्ति हरेकजसो कम्युनिष्ट पार्टीमा देखिँदै आएको छ । माओवादीमा त झनै स्थापनाकालदेखि नै एकल नेतृत्वसहित सम्पूर्ण स्रोत साधन अध्यक्ष प्रचण्डमा निहीत छ । माओवादी पार्टी निर्माणको चरणदेखि निरन्तरता पाइरहेको गाली संस्कृतिले निरन्तरता पाउँदै अहिले थप बढोत्तरी भएको हो । २०५१ सालमा एकता केन्द्र विभाजित भएर माओवादी बन्दा निर्मल लामा र रुपलाल विश्वकर्मालाई गाली गर्दै सुरु भएको उक्त संस्कृति अहिले जनार्दन शर्मासम्म पुगेको मात्रै हो ।
जनयुद्ध सुरु भएपछि अर्का शीर्ष नेता रामबहादुर थापा ‘बादल’लाई समेत प्रचण्डले लिनप्याओवादीको संज्ञा दिँदै कारबाही गरे । माओवादीमा रहुन्जेल यस्तै आरोप र उपेक्षा सहँदै बसेका बादल यसबाट आजित भएर एमाले रोज्न पुगे । उनी प्रचण्डसँगको युवाअवस्थादेखिको सम्बन्ध तोडेर एमालेमा बस्न बाध्य छन् ।
जनयुद्धमा आन्तरिक जनमत आकर्षित गर्न प्रमुख भूमिका खेलेका अर्का नेता डा.बाबुराम भट्टराईलाई अनेकौँ आरोप लगाएर उपेक्षित गर्दै जनयुद्धमा कारबाही समेत गरियो । तर अन्ततः केही सीप नलागेपछि चुनवाङ बैठक हुँदै बाबुरामकै एजेन्डामा संसदीय राजनीतिमा अवतरण गर्न प्रचण्ड बाध्य भए । यो सबै प्रचण्डको कुटिल रणनीति अनुरूपका अनेकौँ प्रयोग हुन् । उनले पार्टीभित्र आफूलाई चुनौती दिने नेतालाई अनेकौँ तवरले आरोपित गर्दै किनाराकृत गर्दै आएका छन् ।
तत्कालीन अवस्थामा पार्टीका प्रतिभाशाली नेताका रूपमा परिचित यानप्रसाद गौतम ‘आलोक’लाई बाबुराम विरुद्ध उपयोग गरेर अन्तिममा फ्याँकिदिए । त्यसकै परिणाम आलोकले ज्यान समेत गुमाउनुपर्यो ।
युद्धको समयमा भारतीय जेलमा रहेका अर्का शीर्ष नेता मोहन वैद्य किरणलाई पनि गाली गर्ने र उनलाई किनाराकृत गर्ने प्रवृत्ति मूल नेतृत्वबाटै भयो । उनी जेलमै रहेको बेला माओवादी शान्ति प्रक्रियामा प्रवेश गरिसकेको थियो ।
जेलबाट रिहा भए लगत्तै वैद्यले आफ्नो अनुपस्थितिमा भएका केही निर्णयमाथि असहमति राख्न खोजे । फेरि उनलाई जडसूत्रवादीको आक्षेप लगाएर बाहिरिन बाध्य पारियो । त्यसकै उपज वैद्य विभाजित भएर अहिले धेरै टाढा पुगिसके । यसरी माओवादी आन्दोलनमा मूल नेतृत्व र त्यसको वरपर रहेकाबाटै प्रश्न उठाउनेलाई आरोपित गर्दै लखेट्ने कार्य विगतदेखि नै हुँदै आएको छ । अहिले फेरि दाहोरिएको त्यही प्रवृत्तिले पार्टीलाई थप हानि पुर्याउनेमा कार्यकर्ता पंक्ति सशंकित छ ।
प्रतिस्पर्धी नेतालाई अनेकौँ आरोप लगाएर पार्टीबाट विभाजित हुन बाध्य पार्ने र कमजोर बनाउँदै मुख्य नेता बाहेक अरूलाई पुनःसमाहित गर्ने प्रचण्डको रणनीति देखिन्छ । बाबुराम र वैद्य बाहेक ती समूहमा रहेका अधिकांशलाई पार्टीमा भित्र्याएर आफ्नो असली भक्तमा प्रचण्डले रूपान्तरित गरिसकेका छन् । माओवादीमा अहिले स्मरणीय के छ भने हिजो प्रचण्डकै कारण पार्टी र क्रान्ति ध्वस्त भएको भन्दै सर्वाधिक गाली गर्दै बाहिरिएकाहरू नै अहिले प्रचण्डको विकल्प नभएको बताउन थालेका छन् । यद्यपि, विभाजित भएर फर्किएकाहरूले आफूहरूले पार्टी विभाजन गर्नु गलत भएको भने सार्वजनिक रूपमै स्वीकारेका छन् ।
यसरी पार्टीमा पछिल्लो समय जनार्दनबाहेक प्रश्न र फरक मत राख्नेहरू कोही पनि बाँकी छैनन् । पार्टीमा वैचारिक बहस निषेध गर्दै एकाधिकार लादेर नेतृत्वले पार्टी सञ्चालन गरेको परिणामस्वरूप नेताहरू पार्टीमा रहन सकेनन् । त्यसै कारण रोक्नै नसकिने विभाजनको पीडा माओवादीले खेपेको छ । अझै पनि नेताहरू विवेकशून्य भएर नेतृत्वको गुणगान गाउँदै प्रश्न उठाउनेमाथि जाइलाग्ने प्रवृत्ति कायम राख्ने हो भने फेरि अर्को दुष्परिणाम भोग्न तयार हुनुपर्छ ।
वैचारिक बहस, आलोचना र प्रश्नबाट भाग्ने नेतृत्वले पार्टीमा कहिल्यै पनि स्वस्थ प्रतिस्पर्धा हुन दिँदैन । यसले विवेकशील होइन, आदेशपालक र दास मनोविज्ञानका कार्यकर्ता जन्माउँछ । स्वास्थ्यकर आलोचना नै पार्टी जीवनलाई गतिशील बनाउने माध्यम हो । यसले पार्टीलाई गतिशील तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, त्यही गति रक्तसञ्चार गर्ने धमनी नै बन्द गराउन वैचारिक बहस निषेध गर्ने हो भने पार्टी पूर्णतया निर्जीव र भजनमण्डलीमा परिणत हुन्छ । अहिले माओवादीमा मुख्य समस्या भनेकै आलोचनालाई प्रतिशोधका रूपमा लिएर त्यस विरुद्ध षड्यन्त्र गर्दै किनाराकृत गर्ने प्रवृत्ति हो ।
समयमै नेतृत्वले आफू विरुद्ध उठेका प्रश्नलाई सहजताका साथ लिएर पार्टीलाई वैचारिक बहसको थलो बनाउँदै फरक मतको सम्मान गर्नुपर्छ । त्यस विपरीत विगतकै गाली संस्कृतिलाई निरन्तरता दिँदै अनेकौ आरोप लगाएर पार्टी छाड्न सुझाउने कार्य अर्को विभाजन निम्त्याउने दुष्प्रयत्न हो ।











