Logo
Logo

समाजवादी मोर्चा कि बुख्याचा ?


शरद् रिजाल

1.2k
Shares


समाजवादी मोर्चा गठन भएको दुई वर्ष पूरा भए पनि उल्लेख्य उपलब्धि हासिल गर्न नसकेर औपचारिकतामा मात्रै सीमित हुन पुगेको छ । सुरुमा कार्यगत एकता हुँदै पार्टी एकतासम्मको उद्देश्यले नेकपा(माओवादी केन्द्र), एकीकृत समाजवादी, तत्कालीन जसपा नेपाल र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा गठन भएको थियो ।

जसपा, नेपाल विभाजित भएपछि समाजवादी मोर्चाबाट बाहिरिइसकेको छ भने पछि सहभागी भएको नेपाल समाजवादी पार्टी(नेसपा) समेत विभाजित भएर एउटा समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले मोर्चाकै प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी विभाजनमा प्रमुख भूमिका खेलेको बताउँदै रुष्ट भएर बाहिरिएका हुन् । अहिले मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेसपा रहेका छन् ।

समाजवादी मोर्चा गणतन्त्रको रक्षा र समाजवादको आधार तयार गर्दै पार्टी एकताको लक्ष्य राखेर गठन गरिए पनि यसमा आबद्ध दलहरूबिच ठोस कार्यक्रम तय हुन सकेको छैन । बरु मोर्चामै सहभागी दलहरूबिच यसको कार्य योजनामा नै मतैक्यता हुन नसक्दा आजभोलि निष्क्रिय बनेर विघटनको चर्चा समेत चल्न थालेको छ ।

मोर्चाले अहिलेसम्म आफ्नो मूर्त योजना र कार्यक्रमको प्रारूप समेत तयार गर्न असमर्थ भएको छ । सोही कारण समाजवादी मोर्चाको आगामी भविष्य समेत अन्योलग्रस्त बन्दै औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो ।

सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक रहेका थिए । अहिले संयोजकको जिम्मा नेकपाका महासचिव विप्लवले पाएका छन् । उनै विप्लव स्वयंले केही समय अघि मोर्चाको औचित्य सकिएको भन्दै विघटनको अवस्थामा पुगेको बताएका थिए ।

प्रायजसो वामपंथी पार्टीहरूले एजेन्डा मिल्ने दलहरूबिच आवश्यकता अनुसार कार्यगत एकता गर्दै सहकार्य गर्ने गर्छन् । सोही रणनीति अनुरूप समाजवादी मोर्चा गठन गरिएको थियो । तर, दुई वर्ष पूरा भए पनि मोर्चाले परिणाममुखी काम गर्न नसक्दा विघटनउन्मुख भएको छ । यस अवधिमा सहयात्री दलहरूबिच विश्वासको वातावरण बनाउन नसकेर झनै आपसमै अविश्वास र विभाजन समेत निम्त्याएको छ । मोर्चाकै एक घटक जसपाले अर्को प्रमुख घटकबाटै आफ्नो पार्टी गराइदिएको आरोप लगाएर बाहिरिने अवस्था सिर्जना हुनु आपसी असमझदारी र अविश्वासकै पराकाष्टा हो ।

उसोत मोर्चाको गठन नै प्रचण्डको सत्ता टिकाउने उद्देश्यले भएको त्यसबेला चर्चा चलेको थियो । २०८० साल असार ४ गते समाजवादी मोर्चा घोषणा हुने समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए । पालैपालो सत्ता सहयात्री कांग्रेस र एमालेलाई बदलेर सरकारको नेतृत्व गरेका उनले आफ्नो शक्ति देखाउन मोर्चा निर्माणमा प्रमुख भूमिका खेलेको आरोप लागेको थियो । यद्यपि, प्रचण्डकै पहलमा मोर्चाले विप्लव नेतृत्वको नेकपालाई भने संसदीय राजनीतिमा अवतरण गराउन सफल भएको छ ।

मोर्चा घोषणाकै दिन एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले सत्ताको सौदाबाजी गर्ने अस्त्र यसलाई बनाउन नहुने भन्दै सबैलाई सचेत गराएका थिए । प्रचण्ड सरकारमा रहोउञ्जेल मोर्चा केही हदसम्म सक्रिय रहेको थियो । तर, उनी सरकारबाट बाहिरिएपछि मोर्चाले सोचे अनुरूप गति लिन सकेको छैन । पछिल्लो समय मोर्चामा आबद्ध सबै दलहरूमा आन्तरिक किचलो समेत बढेको छ । त्यसकै उपज मोर्चाले सक्रियता जनाउन नसकेको आङ्कलन पनि गरिन्छ ।

मोर्चाकै प्रमुख घटक माओवादी केन्द्रमा बढेको आन्तरिक किचलो साम्य पार्न प्रचण्डले पार्टी एकताको अस्त्र समेत फ्याँकेका छन् । प्रचण्डले मोर्चामै सहभागी आफूबाट विभाजित विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय नै स्थायी समितिबाट गराएका छन् भने अर्कोतिर मोर्चाकै घटक एकीकृत समाजवादीसँग समेत पार्टी एकताका लागि छलफललाई तीव्रता दिएका छन् । तथापि, एकता प्रक्रियाले भने अझैसम्म मूर्तरूप लिन सकेको छैन ।

एकीकृत समाजवादीमा एमालेबाट विभाजन भएको औचित्य पुष्टि हुन नसकेको भन्दै सम्मानित नेता झालनाथ खनालले पार्टी नेतृत्वमाथि नै प्रश्न गरेका छन् । यसले पार्टीमा आन्तरिक किचलो बढ्नुका साथै भातृ सङ्गठनहरूमा समेत समानान्तर गतिविधि समेत सुरु भएको छ ।
उता, मोर्चाको संयोजक रहेका नेकपाका महासचिव विप्लव पनि पछिल्लो समय माओवादी केन्द्रप्रति असन्तुष्ट देखिएका छन् । लामो समयदेखि एकताको गृहकार्यमा रहेका विप्लवले प्रचण्ड नै एकताका लागि तयार नभएको आरोप लगाएका छन् ।

अर्का मोर्चामा पछि जोडिएको महिन्द्रराय यादव नेतृत्वको नेसपाले समेत माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ । यसअघि नै सोही समूहबाट विभाजित भएर गंगानारायण श्रेष्ठ लगायत माओवादीमा समाहित भइसकेका छन् ।

यसरी समाजवादी मोर्चाभित्रकै दलहरूबिच एकता र विभाजनको क्रम निम्तिएपछि मोर्चाको आवश्यकता झनै हराउँदै गएको छ । जसपा विभाजित भए लगत्तै बाहिरिएपछि बाँकी रहेका दलहरू कुनै न कुनै रूपमा एक अर्कासँग एकताका लागि छलफल गरिरहेका छन् । मोर्चामा सहभागी माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र महिन्द्रराय नेतृत्वको नेसपा सबैले एक अर्कासँग एकता लागि छलफल गरिरहेका छन् ।

साथै सांगठनिक रुपले समेत कमजोर अवस्थामा रहेका यिनै मोर्चामा सहभागी दलहरूमाथि आन्तरिक किचलो पनि बढ्दै जाँदा विभाजित हुने आशंका समेत व्याप्त छ । यस्तो अवस्थामा मोर्चालाई मात्रै टिकाएर आन्तरिक रूपमा झनै कमजोर बन्ने कार्य कुनै पनि दलका लागि हितकर छैन ।

आगामी चुनावी प्रयोजनका लागि मोर्चालाई उपयोग गर्न खोजिएको हो भने पनि यसले मत परिणाममा उल्लेख्य उपलब्धि हासिल गर्नेमा सन्देह नै छ । नेताहरू मात्रै थुप्रिएर जनताको आकर्षण बढ्ने होइन, जनताका समस्या समाधान लक्षित कार्य योजना ल्याएर आशा जगाउन नसके जति नेताहरू मिले पनि आशातीत परिणाम आउन मुस्किल छ ।

त्यसैले सर्वप्रथम जनताका समस्या सम्बोधन गर्ने कार्यक्रम ल्याएर संगठन बलियो बनाउन सके मात्रै बाह्य साझा मोर्चा पनि सशक्त हुन्छ । त्यसका लागि मोर्चामा आबद्ध दलहरूले आन्तरिक एकतामा जोड दिँदै पार्टीलाई सबल बनाउनुपर्छ । त्यसपछि मात्रै मोर्चालाई सक्रिय र मजबुत बनाउँदै पार्टी एकतामा जोड दिए मात्रै त्यो परिणाममुखी हुनसक्छ ।

नत्र आफ्नै दल बलियो बनाउन नसकेर निरीह बनेका नेताहरूले मोर्चा मजबुत बनाउने प्रयत्न आफैँमा विरोधाभासपूर्ण कार्य हो । संसदीय व्यवस्थामा सांगठनिक रूपमा बलियो दल भए चुनावमा अरू कसैको बैसाखीको जरुरत नै पर्दैन । तर, समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू भने आफ्नो दलको आन्तरिक संकट टार्ने बाह्य प्रयत्नस्वरुप मोर्चालाई उपयोग गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्