स्वच्छन्दतावादी युगको अन्त्य


Published On : 1 September, 2020

  • छविरमण सिलवाल

शताब्दी आयु बोकेर संसारमा धेरै कममात्र मान्छेहरु जन्मन्छन् । बाँचेरमात्र पनि जीवनको सार नबुझि धेरै बाँचेका पनि होलान । देश, समाज र विश्वमा चर्चित बनेर शताब्दी बाँच्ने युग पुरुष धेरै कम छन् । त्यस मध्ये हाम्रा कविवर राष्ट्रकवि माधव घिमिरे युग पुरुष भएर बाँच्नु भयो । राष्ट्र र राष्ट्रियता प्रति अगाध स्नेह बोकेर बाँच्नु भयो । युगौँयुगसम्म साहित्यिक चेतनाको नयाँ लहर हामीलाई छोडेर जानुभयो । हरेक मान्छेले आफूले गरेका कार्यहरु यहि छोड्नु पर्छ । कोही राम्रा कामले चिनिन्छन्, कोही नराम्रा कामले । हाम्रो चाहना अझै उहाँको दीर्घजीवनको थियो । तर, एकाएक उहाँको निधनको खबरले हामीलाई निकै दुःखी तुल्यायो । विधिको विधान हामीले टार्न सक्दैनौ । उहाँलाई हामीले जुन युगमा पायौँ त्यो हाम्रो लागि पक्कै पनि सुखद रह्यो भन्ने ठानेकाछौं । मैले उहाँको कविता भन्दा पहिले गीत सुनेको थिएँ । जतिबेला उहाँका गीत सुन्थे त्यति बेला मैले उहाँसँग भेट होला भन्ने कल्पनासम्म गरेको थिइन् । म पनि साहित्य क्षेत्रमा रुचि नराख्ने भएको भए, सायद भेट हुने थिएन उहाँसँग । मेरो साहित्यमा रुचि भएकै कारणबाट उहाँको माया स्नेह पाएँ । उहाँको घरमा धेरै पटक पुगेको छु । केही न केही कामले उहाँको स्नेह मेरो मुटुमा अमिट भएर बसेको छ । केही साहित्यिक कार्यक्रममा गाडीमा ल्याउँने र पुर्याउँने पनि गरेकोछु । उहाँ अत्यन्तै ख्ुशि हुनुहुन्थ्यो, केही स्रष्टाहरुलाई भेट्दा जहिले पनि तपाईको नाम के हो ? भनेर सोधेका धेरै उदाहरणहरु मसँग ताजै छन्, तर घिमिरेसँग फोनमा होस् वा भेट्दा सिलवालजी के छ खबर ? भन्दा मनै आनन्दित हुन्थ्यो । उहाँ सँग मैले तिन ओटा अन्र्तवाता लिएको थिए । त्यस मध्ये एउटा मधुपर्कको ५०० अंकको लागि । सम्पादक श्रीओम श्रेष्ठको आग्रहमा मधुपर्कमा उहाँको अनुभव समेटेर एउटा लेख तयार गर्नको लागि म उहाँको निवासमा पुगेको थिएँ । उहाँसँग एक घण्टाको समय मैले मागेको थिए । तर तिन घण्टासम्म हामी गफिएका थियौँ । मेरो साथमा डा.गीता त्रिपाठी र कवि रमेश सागरजी पनि जानुभएको थियो । त्यसबेला उहाँ निकै खुशी हुनुभएको थियो ।

उहाँले त्यसबेला भन्नुभएको थियो, “एकेडेमीमा ०३८ सालमा केदारमान ब्यथित आएपछि म बाहिर रहें । घर गृहस्थी चलाउन कठिन अवस्थामा पनि मैले लेख्ने अवसर पाएँँ । मेरा चेला भैरव अर्याल गोरखापत्रमा आएपछि फोनबाट नै रचना टिपाइ दिन्थे र छापिन्थ्यो पनि । यो एउटा साझा पूmलवारीको रुपमा अगाडि बढ्दै छ । मैले फूलवारी किन भनेको भने सबैका धेरै विशुद्ध साहित्यिक रचनाहरु छापिने भएकोले पनि मलाई फूलवारी भन्न मन लागेको हो । जस्तो कि हेर्नोस् यी बगैँचाहरु (आफ्नै घरको बगैँचामा देखाउदैं) यहाँ धेरै थरिका रचनाहरु अटाएका छन् । विभिन्न प्रकारका मानसिक खाना पस्किने अवसर प्राप्त भयो । नढाटी कन भन्नु पर्दा म आफू प्रकट हुने आधार नै ‘मधुपर्क’ हो ।”

राष्ट्रकवि नेपाली कवितामा कुरामात्र लेख्ने होइन भन्नुहुन्छ । एउटा सिर्जनाले समाज निर्माणमा धेरै प्रभाव पार्छ भन्ने कुरा उहाँको सिर्जनाले देखाई सकेको छ । उहाँका कालजयी सिर्जनाहरु सबैका प्रिय बनेका छन् । नेपाली भाषा बिग्रन गएकोमा उहाँ निकै चिन्तित हुनुहुन्छ, र नेपाली कविता र नेपाली भाषाका बारेमा उहाँ यस्तो भन्नु हुन्छ–“कविता लेख्नुपर्छ कुरामात्र लेख्ने होइन, साहित्यिक समाज निर्माण भएपछि प्रभाव र प्रेरणा पर्नु स्वभाविक हो । आफूलाई सुधार गर्ने मौका मिल्छ । रचनाहरुले नयाँ दिशा देखाइरहेका हुन्छन् । रचनाहरुका माध्यमबाट सूचना पनि प्राप्त गर्न सकिन्छ । कविताले मौलिक सिर्जनाका निम्ति प्रेरणा दिन्छन् । मलाई के लाग्छ भने शुद्ध भाषाको विशेषता कवितामा भेट्टाइन्छ । तर आज भाषा भत्केको छ । परम्परालाई कायम गर्नू बेश हुन्छ, किनकि पहिलेको भाषा नेपालीहरुको कलेजोमा अड्केको छ । प्रयोग शिष्ट भयो भने ब्याकरण बन्छ, भाषा बन्छ, भाषाको शैली भत्किएमा भाषा पनि भत्किन्छ । फूलको थुङ्गा भत्कियो भने सौन्दर्य कहाँ रहन्छ र…….? भाषामा रहेको सम्प्रेषणीयता नरहे भाषाको अर्थ के रहला र ?”

एकसय एक वर्षको उमेरमा पनि लेखनमा सक्रिय रहनु भएका राष्ट्रकविको अद्भूत क्षमताको नेपाली साहित्यमा भरपुर उपयोग भएको छ । उहाँको अवधिमा कैयौ सर्जकहरु उदाए अस्ताए तर उनीहरुले आफ्नै मौलिकताको छाप छोड्न कतिले सके कतिले सकेनन् । त्यो आफ्नै बौद्धिकताको कुरा होला तर राष्ट्रकविको हकमा आफ्नो मौलिकता उहाँले सग्लो नदीझैँ समाजमा बगाउँन्ु भएको छ, त्यहीँ सग्लो नदीमा तैरिन सिकाउँनु उहाँको खुवी हो । उहाँ पार्टीको झण्डा भन्दा पनि राष्ट्रिको झण्डामा विस्वास गरेर राष्ट्र र राष्ट्रियता भन्दा ठूलो केही हुन सक्दैन भन्ने सन्देश बोकेर सिर्जना गर्नुहुन्थो । उहाँ भौतिक रुपमा हामीमाझँ नभए पनि उहाँका कालजयी सिर्जनाहरु हामीले युगौयु्गसम्म पढ्नेछौ, सुन्नेछौं । त्यसैले उहाँका सिर्जनाहरु सदाबहार भएका हुन् । अबका दिनहरुमा उहाँलाई जीवन्त बनाउने उहाँका यिनै कर्णप्रिय गीत र सुमधुर कविताहरुले नै हुन् । वास्तवमै अब दुःखद्का साथ भन्नुपर्दा स्वच्छन्दतावादी धाराको युगको अन्त्य भएको पक्कै हो । घिमिरेसँग मैले एउटा कुराकानी गर्न नसकेकोमा भने थकथकी लागिरहेको छ । देश देशावर कोरोनाले त्रसित बनिरहेको बेलामा ज्ञानगुन प्रकाशनका संस्थापक तथा न्यायमूर्ति शेषराज शिवाकोटीसरले केही जिम्मेवारी दिनुभएको थियो । नासो कथाका कथाकार गुरुप्रसाद मैनाली बारेमा उहाँको संस्मरणहरु लिनको लागि तर म अर्समर्थ रहेँ । त्यो मेरो दोष भन्दा पनि कोरोना कहरको दोष थियो, हामी सबै घरबन्दी रहेको बेलामा यो सम्भव भएन । फोनमार्फत मैले कुरा गर्न खोजेको थिए, उहाँले मान्नु भएको थिएन । समय अलि सहज भएपछि आउँने बाचा गर्नु भएको थियो । अब त्यो बाचा अधुरै रह्यो । गुरुप्रसाद मैनालीसँग निकटतम दुई व्यक्तित्वहरु डा.ताना शर्मा र कविवर माधव धिमिरे । ताना शर्मा पनि अल्जामरसँग पौठाजोरी खेलिरहनु भएको थाहा पाएँ र, राष्ट्रकविज्यूसँग कुराकानी गर्ने अवसर पनि जुर्न सकेन । मैले यसै लेख मार्फत शेषराजसर सँग माफी माग्न चाहन्छु ।

अन्त्यमा, १३ औँ दिनको पुण्यतिथिमा दिवंगत राष्ट्रकवि घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

प्रतिक्रिया दिनुहोस्