Logo
Logo

कोरोना कसलाई, कति जोखिम ?


- एमपी सुब्बा


  • एमपी सुब्बा

चीनको हुबेई प्रान्तस्थित वुहान सहरबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट यतिखेर विश्व आक्रान्त छ । विश्वभरि कोरोनाभाइरस संक्रमण र त्यसबाट हुने रोग (कोभिड–१९)को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधि अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएका उपायस्वरुप अधिकांश मानिस घरभित्रै सीमित छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार श्वासप्रश्वास, मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप र क्यान्सर तथा दीर्घ रोगबाट पीडित बिरामीहरु कोरोनाको उच्च जोखिममा छन् । नियमित औषधि र उपचार नपाउँदा यस्ता बिरामी थप जोखिममा छन् । डब्लुएचओका अनुसार विश्वमा कोभिड–१९ बाट ज्यान गुमाएकामध्ये १३ दशमलव २ प्रतिशत मुटु रोग, ९ दशमलव २ प्रतिशत मधुमेह, ८ दशमलव ४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७ दशमलव ६ प्रतिशत क्यान्सरपीडित छन् । नियमित उपचार र औषधि नपाएर यस्ता बिरामीको जीवन झन् जोखिममा परेको छ ।

सन् २०१९ को डिसेम्बर अन्तिम साता वुहान सहरमा पहिलोपटक कोरोनाभाइरस देखिएको चीन सरकारले पुष्टि गरेको थियो । त्यसयता ८ महिना वित्दैछ । यस अवधिमा विश्वभर ८ लाख ५० हजारभन्दा बढी मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने, करिब दुई करोड ५४ लाखभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका विकाशित र शक्तिशाली मुलुकहरुसमेत कोरोनाभाइरसको संक्रमणबाट त्राहिमाम बनेका छन् । मानवतामै संकट निम्तिने गरी विश्वव्यापी बनेको कोरोनाका कारण युरोप, अमेरिकी र एसियाली मुलुकहरु यति धेरै आक्रान्त छन्, त्यसका विश्लेषण दैनिक अखबार र सोशल मिडियाहरुमा आइरहेका छन् । कोरानाका कारण विश्वमा आर्थिक संकट निम्तिने खतरा उस्तै छ । विकाशित मुलुकहरुले समेत जीवनशैलीमा परिवर्तन गर्न थालेका छन् ।

के हो कोरोना ?

आखिर के हो कोरोना ? अझै ठ्याक्कै यकिन छैन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धानमा खटिरहेका छन् । तर, अहिलेसम्म उपलब्धी हासिल गर्न सकेका छैनन् । संक्रमित हुनेक्रम बढिरहेको छ भने मृत्युदर रोकिएको छैन । यस्तो अवस्थामा कसरी संक्रमण हुन्छ, कसलाई संक्रमणको बढी जोखिम छ ? कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ ? उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा विश्वसामु छ ।

आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरुले कोरोनाभाइरस नामकरण गरेका थिए । भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अंग्रेजीमा उक्त नाम दिइएको हो । सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा संक्रमण देखिन थालेको थियो । विस्तारै भाइरस समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लागेको थियो । चीनको वुहाननजिकै एक पशुपंक्षी व्यापार हुने बजारमा पहिलोपटक यसको संक्रमण देखिएको थियो । तर, केही सातामै उक्त भाइरस विश्वभरि फैलियो । उक्त भाइरसको वैज्ञानिक नाम सार्स (कोभ–२) हो । संक्रमणबाट हुने रोगलाई (कोभिड–१९) भनिन्छ ।

कोरोना संक्रमण फैलिएको ८ महिनाको अवधिमा नेपालमा समेत भयावह बन्दै गएको छ । हालसम्म नेपालमा कोरोनाका कारण २२१ जनाले ज्यान गुमाइसकेका छन् । यो सोमबार मध्यान्हसम्मको विवरण हो । यस्तै, नेपालमा कोरोनाबाट ३८ हजार ५६१ जना संक्रमित भइसकेका छन् । पछिल्लो समय नेपालमा संक्रमित र मृत्युदर बढ्दो छ । हरेक दिन एक हजारका दरले नयाँ संक्रमित भेटिन थालेका छन् । दैनिक १० जनाले ज्यान गुमाउन थालेको अवस्था छ ।

यसरी कोरोनाबाट मृत्यु हुने अपवादबाहेक कुनै न कुनै दिर्घरोगी, जेष्ठ नागरिक रहेका छन् । पछिल्लो समय कोरोनाका कारण दैनिक ज्यान गुमाइरहेकाहरुको विवरणका आधारमा समेत दीर्घ रोगीहरुका लागि कोरोना निकै जोखिम छ । स्वास्थ्य मन्त्रालयले पनि यही निक्र्यौल गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण जेष्ठ नागरिक, मुटु रोगी, दम, मिर्गौला, क्यान्सरजस्ता दीर्घ रोगीलाई बढी खतरा छ ।

कोरोनाको उच्च जोखिम

चीनमा कोरोनाभाइरस पुष्टि भएको करिब चार महिनापछि नेपालमा पहिलोपटक एक सुत्केरीले ज्यान गुमाएकी थिइन् । सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोनाभाइरसका कारण जेठ ३ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । उनीमा उच्च ज्वरोका साथै श्वासप्रश्वासमा समस्या थियो । उनको धुलिखेल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । यो नै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु थियो । तर, त्यसयता तीन महिनामा नेपालमा कोरोनाबाट मृत्युको ग्राफ दिनदिनै बढिरहेको छ । तर, त्यसरी ज्यान गुमाउनेहरु अधिकांश कुनै न कुनै दीर्घरोगी भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार श्वासप्रश्वास, मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप र क्यान्सर तथा दीर्घ रोगबाट पीडित बिरामीहरु कोरोनाको उच्च जोखिममा छन् । नियमित औषधि र उपचार नपाउँदा यस्ता बिरामी थप जोखिममा छन् । डब्लुएचओका अनुसार विश्वमा कोभिड–१९ बाट ज्यान गुमाएकामध्ये १३ दशमलव २ प्रतिशत मुटु रोग, ९ दशमलव २ प्रतिशत मधुमेह, ८ दशमलव ४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७ दशमलव ६ प्रतिशत क्यान्सरपीडित छन् । नियमित उपचार र औषधि नपाएर यस्ता बिरामीको जीवन झन् जोखिममा परेको छ ।

नेपालमा दीर्घरोगी

स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घरोगी छन् । आर्थिक वर्ष ०७५÷०७६ मा चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्यांक छ । देशभर उच्च रक्तचापको समस्या भएका बिरामीमात्रै पाँच लाख ७५ हजार १२ जना छन् । यस्तो अवस्थामा बन्दाबन्दीका कारण उनीहरूले नियमित सेवन गर्नुपर्ने औषधि पाउन छोडेको छ । अहिले पनि बिरामीलाई स्वास्थ्य संस्था वा औषधि पसल पुग्न यातायातको समस्या छ । कोरोनाको त्रासले अस्पतालसम्म पुग्न सकेका छैनन् । डब्लुएचओ भन्छ, ‘कोरोना संक्रमण हुँदैमा मृत्यु हुुँदैन ।’ तर, यहाँ कोरोना त्रास र औषधी नपाएर धेरैले ज्यान गुमाउने अवस्था छ ।

यस्तै, अर्को एक तथ्यांकअनुसार कोरोना संक्रमण भएकामध्ये करिब ०.६६ प्रतिशत मानिसको मात्र मृत्यु हुने गरेको छ । गत अप्रिल महिनामा चिकित्साशास्त्रको जर्नल ‘द लान्सिट इन्फेक्शस डिजीजेज’मा प्रकाशित अध्ययनले संक्रमण भएका व्यक्तिमध्ये करिब ०.६६ प्रतिशत मानिसको मात्र मृत्यु हुने अनुमान गरेको छ । यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा केहीमात्र धेरै हो । विश्वभरि मौसमी रुघाबाट पीडित करिब ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको डब्लुएचओको तथ्यांक छ ।

केही समयअघि ‘इम्पीरिअल कलेज अफ लन्डन’ले एक आँकलन सार्वजनिक गरेको थियो । जतिखेर बेलायतले कोरोना कहरको उच्च संक्रमण अवस्था झेल्दै थियो । उक्त समयमा सार्वजनिजक सोध तथा आँकलनअनुसार ८० वर्षभन्दा माथिका कोभिड–१९ बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ । चीनमा ४४ हजार संक्रमित बिरामीको अभिलेख अध्ययनमा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोनाभाइरसका कारण मृत्यु हुने सम्भावना पाँच गुना बढी पाइएको उल्लेख छ ।

दक्षिण एसियामा संक्रमण

यतिखेर दक्षिण एसियाली मुलुकहरु कोरोना संक्रमणबाट बढी आक्रान्त छन् । पछिल्लो समय भारतमा संक्रमितको बृद्धिदर विश्वलाई उछिँदैछ । एक समय अमेरिका, इटली, ब्राजिल, बेलायत, फ्रान्सजस्ता मुलुकहरु कोरोना संक्रमणको उच्च संकटमा थिए । तर, पछिल्लो सातायता भारतमा संक्रमितहरुको बृद्धिदरमा बढेसँगै नेपाल समेत जोखिममा परेको छ ।

नेपालमा एक सातायता कोरोना संक्रमणको बृद्धिदरमात्रै नभएर मृत्युको ग्राफसमेत बढ्दै गएको छ । अहिलेकै अवस्थामा संक्रमित बढ्दै जानु र नियन्त्रण गर्न नसकेका नेपाल कोरोनाभाइरसको संक्रमण भयावह बन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत अनुमान गरिसकेको छ ।

रक्त समूह

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोनाभाइरसले रक्त समूहअनुसार प्रभाव गर्ने बताएका छन् । दुई महिनाअघि गरिएको उक्त शोधका अनुसार रक्त समूह ‘ए’ भएका व्यक्ति भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ‘ओ’ भएका व्यक्तिलाई संक्रमण हुन समय लाग्छ । चीनको वैज्ञानिकहरुको उक्त अध्ययन कोरोना संक्रमणको केन्द्र वुहानमा गरिएको थियो ।

वुहानमा वैज्ञानिकहरुले कोरोनाभाइरसबाट संक्रमित २,१७३ जनामा अध्ययन गरेका थिए । कोरोनाका कारण ज्यान गुमाएका २०६ व्यक्तिमध्ये ८५ जनाको रक्त समूह ‘ए’ थियो । त्यो करिब ४१.२६ प्रतिशत । ५२ जनाको ‘ओ’ थियो, त्यो २५ प्रतिशत । २,१७३ व्यक्तिमध्ये रक्त समूह ‘ए’ हुने धेरै थिए । तीमध्ये ३२ प्रतिशतको ‘ए’ थियो भने ‘ओ’ समूह भएका व्यक्ति २६ प्रतिशत थिए ।

अनुसन्धाताले आफ्नो अनुसन्धानमा रक्त समूह ‘ए’को तुलनामा ‘ओ’ भएकाहरु कोरोना भाइरसबाट निकै ढिलो संक्रमित भएको बताएका थिए । समूह ‘ए’ भएकाहरु कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको जनाइएको छ । तर, अहिलेसम्म उक्त अनुसन्धानको कतै स्वतन्त्र पुष्टि गरिएको छैन । यस सन्दर्भमा डब्लुएचओले समेत केही बताएको छैटन । तर, चीन तियानजिनस्थित स्टेट ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले भने यो अनुसन्धान संक्रमणको उपचारका लागि थप मद्दत गर्ने दावी गरेका छन् ।

(विभिन्न एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्