
अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रातो कार्पेट ओछ्याएर विमानस्थलमै स्वागत गर्न पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई दुई महाशक्ति देश मिलेको सन्देश दिन खोजेका छन् । यी दुईको भेटअघि अमेरिका र रुसका अन्तरिक्ष मामला प्रमुखहरूको भेट भएको थियो । रुसी अन्तरिक्ष प्रमुख डिमिट्री बाकानोभले अमेरिकी अन्तरिक्ष प्रमुख सियन डफसँग भेटेर अन्तरिक्ष सहकार्यको निरन्तरताबारे छलफल पनि गरेका थिए ।
पृथ्वीमा जतिसुकै प्रतिस्पर्धा गरेपनि अन्तरिक्षमा अमेरिका र रुसबीच सहकार्य छ । यी दुई देशबीच धेरै मामलामा समझदारी र सम्झौता पनि भएका छन् । विश्वकै सबैभन्दा ठूलो आणविक शक्ति रुस र दोस्रो आणविक शक्ति अमेरिकाबीच जतिसुकै टकराब देखिए पनि अन्तत्वगत्वा मेलमिलाप हुने गरेको छ । ट्रम्पले त्यही अमेरिकी नीति पछ्याए । पुटिनलाई अलास्कामा बोलाएर रातो कार्पेट ओछ्याउनु ट्रम्पको रहर नभइ बाध्यता हो ।
नाफा र घाटाको हिसाबकिताबमा बढी केन्द्रित हुने व्यापारिक पृष्ठभूमिका ट्रम्पले युक्रेन युद्धबाट अमेरिकाले धेरै गुमाइरहेको तथ्यहरू भेटे । अमेरिकाले अरबौं डलरको हतियार सहयोग गर्दा पनि केही नपाएको मुखै फोरेर भने । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई खनिज सम्झौताका लागि बाध्य पारेका छन् । रुसमाथि अमेरिकालगायत युरोपेली युनियनसम्वद्ध देशहरूले प्रतिबन्ध लगाउँदा पनि उसको अर्थतन्त्र उकासिएको भेटे । रुसले प्रचुर मात्रामा कच्चा तेल, कोइलालगायत खनिज चीन र भारतलाई बेचेर युद्धका बखत आर्थिक प्रगति गरिरह्यो ।
सस्तो मूल्यमा तेल, कोइला र ग्यास खरिद गरेर चीन र भारतले आर्थिक लाभ लिन सके । उनीहरूले सस्तो मूल्यमा खरिद गरेको कच्चा तेल बजार मूल्यमै बेचेर प्रचुर नाफा पनि निकाले । दुवै देशले रुसको अत्याधुनिक हतियार किने । आफ्नै देशमा रुससँग मिलेर हतियार कारखाना खोले ।
यसबाट उनीहरूको सैन्य शक्ति वृद्धि हुन थाल्यो । भारतले त रुसबाट खरिद गरेको एस ४०० हवाई प्रतिरक्षा प्रणाली र रुससँग मिलेर निर्माण गरेको ब्रम्होस मिसाइलको शक्ति पाकिस्तानको आतंकवादी अखडामा हमला गर्दा प्रदर्शन ग¥यो । अमेरिकी एफ १६ जस्ता अत्याधुनिक युद्धका विमान नै खसालेको तथ्य भारतका हवाई सेना प्रमुखले सार्वजनिक रूपमै बोले ।
एकातर्फ, चीन र भारतको तीव्र आर्थिक वृद्धि अर्कोतर्फ सैन्य शक्तिको द्रुत विकास । ट्रम्पले यी तथ्यहरूलाई गम्भीरतापूर्वक लिएका छन् । भारतको सामानलाई ५० प्रतिशत कर लगाउने घोषणा गरेर चिढ्याएका छन् । भारतलाई दबाबमा राख्ने र गलाएर रुसी तेल नकिन्न बाध्य पार्ने उनको रणनीति असफल भयो । भारत जहाँ सस्तो पर्छ उही किन्छु भन्ने अडानमा कायम रह्यो ।
अमेरिकालाई नै चुनौती दिने गरी भारतले चालेको कदम ट्रम्पका लागि धक्का थियो । रुससँग टकराब कायमै राख्ने हो भने एसियाका दुई शक्तिशाली देश चीन र भारतले पश्चिमा शक्तिलाई अझ कडा चुनौती दिन सक्ने सामथ्र्य आर्जन गर्छन् भन्ने बुझाइ ट्रम्पको देखियो । रुसमाथि प्रतिबन्धले युरोपमा अन्धकार बढेको जगजाहेर छ । युरोप भित्रभित्र खोक्रिने गरी आर्थिक संकटमा फस्दै गएको छ ।
युरोपको सबैभन्दा दरिलो जगको अर्थतन्त्र भएको जर्मनीसमेत समस्यामा पर्दै गएको छ । जर्मनीका सडकहरूमा रातमा कमै बत्ती बल्छन् युक्रेन युद्धपछि । कहिले सूर्यास्त नहुने बेलायत खुम्चिइसकेको छ । फ्रान्सले अफ्रिकामा आफ्नो प्रभाव गुमाउँदै गएको छ । कुनैबेला फ्रान्समा आफू अनुकूलको शासन स्थापित गर्न सैनिक कूसमेत गराउने फ्रान्स अहिले प्रतिकूलको सैनिक कूका कारण अफ्रिकामा कमजोर बन्न पुगेको छ ।
कुनैबेला फ्रान्सको उपनिवेश रहेका बुर्किना फासो, माली र नाइजरमा सैनिक कूबाट फ्रान्सविरोधी सरकार बनेका छन् । फ्रान्सेली सेना अफ्रिकी देशहरू चाड, माली, बुर्किना फासो, नाइजर जस्ता देशबाट हटेका छन् । सेनेगल र सेन्ट्रल अफ्रिकी रिपब्लिकबाट पनि हटिसकेका छन् भने आइभोरी कोष्टमा केही मात्र बाँकी छन् । बेलायत, बेल्जियम, जर्मनी, पोर्चुगल, इटाली जस्ता देशहरूको अफ्रिकामा ठूला प्रभाव रहेकोमा घट्दै गएको छ । चीन र रुसको बढ्दो प्रभावसँगै भारतले पनि अफ्रिकी देशहरूमा आफ्नो प्रभाव बढाउँदै लगेको छ । पश्चिमा विरोधी भावना मौलाउँदै गएको छ त्यहाँ ।
एशियामा चीन र भारतको निरन्तरको आर्थिक र सैन्य क्षमता वृद्धिको असर विश्वव्यापी पर्दै गएको छ । जता शक्ति उतै ढल्कीको नीति कमजोर आर्थिक र सैन्य क्षमताका देशका शासकहरूमा हुन नै भयो । बदलिँदो विश्व परिस्थितिको सन्देशहरू युक्रेन युद्ध पश्चिमा शक्तिका लागि बाघको सवार हुनुले पनि देखिइसकेको छ ।
ट्रम्पले युक्रेन युद्धको सुरक्षित अन्तको प्रयास त्यसै गरेका होइनन् । जति युद्ध लम्बिँदै जान्छ उति उति युरोप खोक्रो हुँदै जान्छ । त्यसको नोक्शान अमेरिकाले पनि भोग्नुपर्ने हुन्छ । यसकारण ट्रम्पले पुटिनलाई भेटेर युक्रेन युद्धको जे खाका तयार गरेका छन् त्यसबारे छलफल गर्न जेलेन्स्कीलाई वासिङ्टन बोलाएका छन् ।
जेलेन्स्की पनि युरोपेली नेतासहित पुग्ने तय छ । यसले यो युद्ध युक्रेनको मात्र नभई सिंगो युरोपेली युनियनको हो र अमेरिका पनि आवद्ध छ भन्ने सन्देश दिएको छ । रुसले सिंगो पश्चिमा शक्तिसँग युक्रेन युद्धमा लडेकै हो । खुलेर या छद्म जुनसुकै रुपमा लडेपनि आफूलाई पूर्वेली मान्ने रुस र पश्चिमा मान्ने अमेरिका र युरोपेली यूनीयनसम्वद्ध देशहरुबीचको युक्रेनको भूमिमा भएको सन् २०१४ यताको टकरावले क्षेत्रीय शक्तिहरु मजबुत भएको देखिइसकेको छ ।
रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका मुख्य शक्ति रहेको ब्रिक्स विस्तार र प्रभावशाली बन्दै गयो यही बेलामा । अमेरिकी डलर र यूरोपका मुद्रालाई चुनौती दिने गरी तयारीहरु चलिरहे । ब्रिक्सको अर्थतन्त्र अमेरिकाको भन्दा ठूलो भइसकेको छ । ब्रिक्सका तीनवटा देश आणविक हतियार सम्पन्न छन् ।
आर्थिक र सैन्य शक्ति जसको मजबुत हुन्छ उही शक्ति बलियो हुन्छ । त्यसमाथि बलिया देशहरूको संगठित शक्तिसँग एउटा ठूलो शक्तिको पनि केही लाग्दैन । अमेरिका एक्लैले ब्रिक्स शक्तिसँग जुध्ने विश्व व्यवस्था रहेन अब ।
युरोपेली युनियनसम्वद्ध देशहरू एसिया र अफ्रिकामा समेत प्रभावहीन बन्दै गएको घटनाक्रमले देखाइसकेको छ । प्रोपोगान्डाले केही समय दुनियाँलाई झुक्याउन सकिएला तर त्यो लामो चल्दैन । हिटलरले पनि जर्मनी युद्ध हारिरहँदा सिंगो जर्मनलाई जितिरहेको प्रोपोगान्डाले अलमलाइरहेका थिए । विश्वव्यापी प्रोपोगान्डा मार्फत पश्चिमा शक्तिले आफ्नो प्रभाव मजबुत रहेको देखाउन खोजेपनि विश्व राजनीतिमा निकै उतारचढाव आइसकेको छर्लंग छ ।
ट्रम्पलाई ब्राजिलका लुलाले विश्वका सम्राट होइनौँ भनी त्यसै जवाफ फर्काएका होइनन् । यो परिवेशमा अमेरिकाका लागि रुससँग जुधिरहँदा ब्रिक्स शक्ति झन् मजबुत हुनु हो । यसै पनि ब्रिक्सलाई अमेरिका, बेलायत र युरोपेली युनियनसम्वद्ध देशहरूले सुरक्षा खतरा देखेका छन् । यसकारण पनि ट्रम्पले रुससँग जुध्ने भन्दा मिल्ने रणनीति सारेका छन् ।
उनले पुटिनलाई अलास्कामा डाकेर युक्रेन युद्ध अन्तमार्फत पश्चिमा शक्तिको उद्धार गर्न खोजेका छन् । जनसंख्यालाई वरदान साबित गरेका, अमेरिकासँग आर्थिक र सैन्य शक्तिमा प्रतिस्पर्धी बन्दै गएका भारत र चीनको रफ्तारको प्रगतिका कारण पनि अमेरिकाले रुससँग द्वन्द्व होइन समझदारी चाहेको देखिन्छ ।
रुसको खनिजबाट यी देशले लाभ लिन नसकुन् भन्ने अमेरिकी उद्देश्य देखिन्छ । तर, ३ अर्ब जनसंख्याको बजारलाई रुसले पनि टुटाउन चाहेको देखिदैन । आर्थिक र सैन्य स्वार्थले मिल्ने र टकराब गर्ने बलिया देशहरू को कतिबेला सिधा या छद्म युद्ध गर्छन्, कतिबेला हातेमालो गर्छन् भन्ने ट्रम्प र पुटिनको हातेमालोले देखाइसकेको छ । अब चाँडै मोदी र सी चिनफिङको बेइजिङमा हातेमालो हुँदैछ ।
ब्रिक्सका नेताहरूको हातेमालो झन् बलियो देखिन्छ । गैर पश्चिमा देशहरूको संगठित शक्ति मजबुत बन्दै गएको संकेत हो यो । कम जनसंख्याका बाबजुद चार शताब्दीयता प्रविधि, उपनिवेश, औद्योगिकरणका माध्यमले बढी जनसंख्या र खनिज भएका देशहरुमाथि समेत प्रभाव जमाउन सकेको पश्चिमा शक्तिको विश्वभर एकल प्रभाव यथावत् रहेन अब ।











