दक्षिण एसियाको नेपाल जस्तो भुपरिवेष्ठित मुलुक करिब तीन करोड जनसंख्या छन् । युरोपमा आजभन्दा साँढे आठ सय बर्षअगाडि नै बिश्वबिध्यालयहरु बनिसकेका थिए । तर, नेपालमा जहाँनियाँ राणा शासकले नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने शिक्षा, स्वास्थ्य, रोजगार र बोल्न लेख्न पाउने लोकतान्त्रिक अधिकारको घाँटी समाएर आफ्नो शासन ब्यबस्था एकलौटी संचालन गरेका थिए ।

चेतनाको आवाजलाई दबाएको परिणामस्वरूप २००७ सालमा मुलुकमा निक्कै ठूलो परिवर्तन भयो । बोल्न, लेख्न पढ्ने, सभा, सम्मेलन गर्न पाउने अधिकारहरु जनताको मौलिक अधिकारभित्र आइपुग्यो । त्यसैताकादेखि क पुष्पलालले स्थापना गरि अगाडि बढाएको कम्युनिस्ट आन्दोलन चलिरहेकै थियो । राजनीतिक दलहरुले राम्रोसँग राज्य संचालन गर्न नसकेको आरोपमा २०१७ साल पौष १ गते राजा महेन्द्रद्वारा ‘कु’ गरी निरंकुस निर्दलीय पञ्चाती ब्यबस्था लागु भयो । दलहरुमाथी प्रतिबन्ध भयो । सबै दलहरु भुमिगत ढंगबाट संगठन संचालनमा लागे । पञ्चाती ब्यबस्थामा शाही शासनको हुकुमी शैलिबाट ३० बर्ष नेपाली राजनीतिक दलहरुले शान्तिको श्वास फेर्न पाएनन् । शैयौं वीर नेपालीले शहादत प्राप्त गरे ।
त्यसैबेलादेखि पुष्पलाल समूहबाट संगठित हुँदै झापा बिद्रोहदेखि माले हुँदै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै नेकपा एमाले बनाएर २०४८ सालको आमनिर्वाचनमार्फत संसदमा प्रमुख प्रतिपक्षको बेन्चबाट रचनात्मक भुमिका निर्वाह गर्दा गर्दै दासढुङ्गा जिप दुर्घट्नाबाट सदाका लागि अस्ताएका जननेता स्व मदन भण्डारीको अधुरा सपनाहरु पूरा गर्न लागि तमाम नेपाली बामपन्थीहरु एकजुट भएर लाग्नुपर्ने अबस्था आएको देख्छु ।
तथापी, आज मदन हुनुहुन्न । नेकपा एमाले जिबितै छ । मदनले जबजद्वारा पार्टीभित्र आन्तरिक लोकतन्त्रको बिकाश र सुनिश्चितता गर्दै पार्टी र देश एकसाथ अगाडि बढाउने इच्छा अधुरो र अपुर्ण रह्यो । मदन भण्डारी केवल एउटा नेता मात्र थिएनन, उनी एक युगका प्रतीक थिए । उनका विचार, त्याग र उनको संगठनात्मक क्षमताले एमाले मात्र होइन, सम्पूर्ण वाम आन्दोलनलाई नयाँ जीवन दिएका थिए । जब पार्टी आन्तरिक द्वन्द्व, सत्तालोभ र विचार हीनतामा डुबिरहेको छ, स्वर्गबाट मदन भण्डारीको आत्मा आफ्नी जीवनसाथी विद्या भण्डारीलाई आह्वान गरिरहेजस्तो लाग्छ ।
यहि भदौ ३ गतेको सनराइज अनलाइन खबरमा हो क्यारे स्वर्गबाट मदनले बिद्याको बर्तमान गतिबिधिलाई देखेर गिज्याइरहेका होलान ? भन्ने शीर्षक राखेर बिद्याप्रति आक्रोश पोख्ने उक्त पंक्तिकार अर्थात पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी ओलीका निजि प्रशंसक ती साथीलाई मेरो अनुरोध ।
हो, पक्कै पनि गिज्याइरहेकै होलान् मदनले । नेकपा एमालेमा आफ्नी धर्मपत्नीले पार्टी सदस्यता नविकरण दुई बर्षअघि नै गरिसकेकी तर उनले मिडियामार्फत आफू सक्रिय पार्टी राजनीतिमा आउने अभिव्यक्तिले र वर्तमान नेतृत्वप्रति प्रतिस्पर्धी देखिएकी कारण पार्टी सदस्यता नै खोसेर नेतृत्वले नाङ्गो नाच देखाउँदा पक्कै मदनले लाज मानेर गिज्याए होलान् । अनि केन्द्रीय कमिटीको बैठकबाट एकढिक्का एकमनाका साथ बिद्याले राजनीतिमा फर्कनु हुन्न भन्ने शब्दावली प्रयोग गर्नुभयो । त्यो सरासर गलत कुरो हो । नत्र उपाध्यक्षद्वय क सुरेन्द्र पाण्डे र युवराज ज्ञावालीले किन केन्द्रीय कार्यालयमा मुद्धा हाल्नुभयो ? नवौँ केन्द्रीय कमिटिमा आफुले उठान गरेका बिषयहरु तल्लो कमिटीमा किन सर्कुलर गरिएन भनेर मुद्धा परेको बिषय के एउटा शसक्त र जिबित कम्युनिस्टमा चानचुने कुरा होइन । के यो कुरालाई ठट्टा सम्झिने ?
हो, यिनै र यस्ता अपारदर्शी व्यवहारहरुले गर्दा स्वर्गबाट हेर्दै मदन भण्डारी पक्कै छक्क परेकै हुनुपर्दछ । अर्को कुरो, बिद्याले महागल्ती गरिन् भन्ने वाक्यांश उल्लेख छ । बर्तमान नेतृत्वले यस्तो महागल्ती गर्नु हुन्नथ्यो ? पार्टी सदस्यता खोस्नुहुन्नथ्यो ? बिद्यालाई बिधान माहाधिवेशन प्रतिनिधि बन्नबाट रोक्नु हुन्नथ्यो । के बिग्रिन्थ्यो नेकपा एमालेको ? किन यति धेरै थुरुरु ? बिद्यालाई चुलाको गृहिणीबाट उठाइ् राष्ट्रपतिसम्म बनाइयो । सायद तपाइँ सायद कोक्रामै हुनुहुन्थ्यो होला विद्या बिद्यार्थीको केन्द्रीय राजनीतिमा पुग्दा ।
यदि गृहिणीलाई नै राजनीतिमा सक्रिय गराउन सकिन्थ्यो भने आश्रितका शपरिवारहरु कहाँ के गर्दै होलान ? हामीले कहिल्यै खोज्यौं ? उनी पनि गृहिणी थिइन् होलिन् ? यही र यस्तै हर्कतका कारण स्वर्गबाट नेतृत्वलाई गिज्याइरहेका होलान् कमरेड मदन भण्डारी र जिबराज आश्रित । सँगै सहिद भएकामध्ये एउटाको श्रीमती राष्ट्रपति हुने, अर्काको परिवारको पुर्ण बिचल्ली । यो कस्तो न्याय हो ? यहि हो समानता ? तपाइँसँग उत्तर छ ?
हो, अब मदन भण्डारी फाउण्डेसनद्वारा कसकसको राजनीति र आर्थिक जीबनमा कायापलट भएको छ ? परिआए अर्को अध्यायमा विशेष वर्णन गरुँला, त्यो फाउण्डेसनको केन्द्रीय कार्यालय मेचीदेखि माहाकालीसम्म कसकसको डेरा डण्डासहित रजाइँ थियो ? त्यो द्ृश्यलाई पनि स्वर्गबाट मदन आश्रितले निराश भएर गिज्याइरहेको हुनुपर्छ ।
यी सम्पुर्ण ब्यथितिबाट ग्रसितभै स्वर्गबाट मदन भण्डारी भन्दैछन्, ‘विद्या, अघि बढ । म लगायत हजारौं नेता कार्यकर्ताको दुःखले निर्माण गरेको पार्टीलाई डुब्न नदेऊ । नक्कली स्टालिन प्रबृतिबाट पार्टीलाई बचाउ बिनागुट नेता कार्यकर्ताको संरक्षण गर । गएर पार्टी उठाऊ, बचाउ पार्टीलाई । अझ शसक्त र लोकतान्त्रिक बनाउ । जनता अझै तिम्रो बाटो हेरेर बसिरहेका छन् ।
आज नेकपा एमाले एउटा राजनीतिक दलको मात्र नाम होइन, नेपाली वामपन्थी आन्दोलनकै मेरुदण्ड हो । तर, यही मेरुदण्ड कमजोर हुँदै गएको छ । आन्तरिक गुटबन्दी, पदलोभ, सिद्धान्तभन्दा स्वार्थ र संगठनभन्दा सत्ता समिकरणमा रमाउने प्रवृत्तिले पार्टीलाई भित्रैदेखि खोक्र्याउँदै लगेको छ । यसरी नै चल्यो भने पार्टीको अस्तित्वमै संकटमा पर्न सक्छ भन्ने कुरा कार्यकर्ताले पनि भोगिरहेका छन् । बुझेकै छन्् । कति दिन एकांकी तरिकाले पार्टी चलाउँदै लाने अथवा जाने हो अझै हेर्न बाँकी छ ?
बिगतमा मदन भण्डारीको मुखराबिन्दबाट संधै गुन्जिरहने यी भनाइहरु ‘सत्ता क्षणिक हुन्छ है । विचार त अमर रहन्छ ।’ यही कारण उहाँले जनताको बहुदलीय जनवादलाई राजनीतिक नारा मात्र होइन, आन्दोलनको आत्मा बनाउनु भएको थियो ।
तर, बिद्या भण्डारीको अघिल्तिर अनगिन्ती चुनौतिका चाङ्गहरु ठडिएका छन् । आफ्नै पार्टी कार्यालय प्रबेशमा निषेध गरिएको अबस्था छ । बिगतमा पनि विद्या भण्डारीका जीवनका संघर्षहरू सजिला थिएनन् ।
युवावस्थामै जीवनसाथी गुमाउनु, राजनीतिक आन्दोलनमा निरन्तर संघर्ष गर्नु, अनि पुरूष प्रधान राजनीतिमा आफ्नो पहिचान स्थापित गर्नु । आज यी सबै अनुभवहरु उहाँसँग छन् । यिनै अनुभवहरूले उहाँलाई अझै दृढ बनाएका छन् । तर अहिले चुनौती अझ ठूलो थपियो । पार्टी राजनीति गर्नै नपाउने भनेर नेतृत्व तहबाटै विभिन्न मन्चहरुबाट लल्कार्ने काम भैरहेका छन् । तल्लो तहसम्म सर्कुलर गरिएको छ ।
यहाँ जनता निराश छन् । नेताहरू सत्ता र पदका खेलमा व्यस्त हुँदा उनीहरूको अपेक्षा ओझेलमा परेको छ । त्यही निराश जनतालाई फेरि आशावादी बनाउन सक्ने नेतृत्व किन चाहियो त ? आफ्नै पार्टीभित्रैबाट हेपिएका मिचिएका ऐतिहासिक नेता कार्यकर्ताहरुबाट बिद्याको खोजी भैरहेको छ ।











