Logo
Logo
अन्तर्वार्ता

‘एउटै व्यक्ति कतिपटक प्रधानमन्त्री बन्ने ? स्पष्ट विधि बन्नुपर्छ’


सुदन किराती, नेता, नेकपा (माओवादी केन्द्र)

1.1k
Shares

प्रमुख प्रतिपक्ष दल माओवादीभित्र अन्तरसंघर्ष चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले निरन्तर प्रश्न उठाउँदै आएका छन् । गत स्थायी समिति बैठकमा एकअर्काविरुद्ध सार्वजनिक रूपमा नबोल्ने सहमति गरे पनि आरोपप्रत्यारोपको क्रम रोकिएको छैन ।

प्रचण्डले बैठकमै आत्मालोचना गर्न प्रभाकरलाई दबाब दिएका थिए । तर, ३१ लाख मतबाट ११ लाखमा झर्नुको कारण खोजेर सबैले जिम्मेवारी लिने हो भने आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएपछि प्रचण्ड ब्याक हटेका थिए । प्रभाकरले आत्मालोचना नगरेको विषय सर्कुलरमार्फत माओवादीले तल्लो तहसम्म पु¥याएको छ ।

पार्टीभित्रको अन्तरसंघर्ष, आन्तरिक लोकतन्त्रको अवस्था, प्रचण्डको विकल्प, माओवादी र समाजवादी पृष्ठभूमिका दलबिच एकताको सम्भावनालगायतका विषयमा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुदन किरातीसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

माओवादीमा पछिल्लो समय देखिएको विवादको मूल जड के हो ?
यो नेपाली समाजको प्रतिबिम्ब हो । नेपाली समाज अशान्त छ । त्यसको प्रतिबिम्ब हाम्रो पार्टीमा मात्रै होइन, सबै पार्टीमा देखिएको छ । एउटै परिवारले खोलेको पार्टीभित्र पनि आन्तरिक बहस सतहमा आइराखेको परिस्थिति छ ।

उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा तपाईँहरूले आन्तरिक लोकतन्त्रको कुरा उठाउँदै आउनुभएको छ । तर, हेडक्वार्टरबाट त उल्टै तपाईँहरूलाई आत्मालोचना गर्नुस्, पार्टी नै छाडेर गए पनि हुन्छ भन्ने सम्मका कुरा आयो नि ?
पार्टी छाडेर जानुहोस्, आत्मालोचना गर्नैपर्छजस्ता कतिपय प्रश्नहरू बाहिर सुनेको भरमा गरिएका छन् । पार्टीभित्र प्रश्न उठ्छन् । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन सकिन भने बाह्य लोकतन्त्रलाई पनि हामीले अगाडि बढाउन सक्दैनौँ । हाम्रो स्थायी समिति बैठक भर्खरै मात्र गहन छलफल, बहसका बिच सम्पन्न भएको छ । उपमहासचिव जनार्दन शर्मा प्रभाकरले स्पष्ट रूपमा–‘३१ लाखबाट हाम्रो भोट घटेर ११ लाखमा झ¥यो । हाम्रो पार्टी २१ पल्टसम्म फुट्यो । हाम्रा कमजोरीहरू कहाँ कहाँ छन् ? क–कसले कति कति कमजोरी गरेका हौँ ? सबैले आत्मालोचना गर्नु पर्छ । म तयार नै छु ।’ भन्नुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मालोचना गरेपछि मात्र उपमहासचिव शर्माले पनि आत्मालोचना गर्ने भन्ने हो ?
हामी सबैले नै गम्भीर समीक्षा गरेर हाम्रा आन्तरिक समस्या के के हुन् भन्ने स्पष्ट गर्नुपर्छ । हाम्रो जाज्वल्यमान इतिहासको जगमा वर्तमानलाई हाँक्नका निम्ति के के गर्नुपर्छ । कस कसको ठाउँबाट कति कमजोरी भएर हामी निरन्तर ओरालो झरिराखेका छौँ ? हामी कमजोर हुँदा हाम्रा मुद्दा, राष्ट्रका मुद्दा, संघीय लोकतान्त्रिक गणतन्त्रका सवालहरू कमजोर हुँदै गएका कुरा हामी सबैले महसुस गरेर हाम्रो पार्टीले बोकेको विचार र हाम्रो नेतृत्वलाई अमर बनाउने हो भने गहन छलफल गर्नुपर्छ ।

माओवादीको मध्यपहाडी जागरण अभियानको दोस्रो चरण सुरु हुँदैछ । यसअघि उपमहासचिवसम्म अभियानमा खटिने गरेकोमा अब जनार्दन शर्माकै कारण उपमहासचिवलाई छुटाएर केन्द्रबाट अध्यक्षदेखि महासचिवसम्म मात्रै अभियानमा सहभागी गराउने निर्णय भएको हो ?
आज मात्रै होइन, यसअघि पनि अध्यक्षदेखि महासचिवसम्म मात्रै केन्द्रीय टोली अभियान हिँड्ने भन्ने कुरा आएको थियो । व्यवस्थापकीय पक्ष निकै भारी भएका कारण पनि यस्तो निर्णय लिइएको हुन सक्छ । २१ जना पदाधिकारी, कति त पूर्वसम्माननीयहरूको सुरक्षा, उहाँहरूको आन्तरिक स्टाफसहित धेरै ठूलो संख्या हुने भयो । जनताको सुख, दुःख बुझ्न जाने नाममा जनतालाई नै बढी भार पर्ने गरी ठूलो संख्यामा नजाँदा नै राम्रो हुन्छ भन्ने कोणबाट यो गरिएको होला । तर, व्यक्तिलाई नै निषेध गर्ने तरिकाले त्यसो गरिएको हो भने त्यो राम्रो हुँदैन । खासमा हाम्रो पार्टीमा २१ जनाको केन्द्रीय समिति हुनुपथ्र्यो । आज पदाधिकारी २१ बनाइएको छ । विधानमा १५ सदस्यीय पदाधिकारी भनिएको छ । विधान विपरीतका कामहरू भइराखेको छ । त्यसैको उपज आजको समस्या हो ।

विशेष महाधिवेशनको कुरा हरायो कि बाँकी नै छ ?
विशेष महाधिवेशनको कुरा हराएको छैन । विशेष महाधिवेशनबारे हाम्रो बैठकले गरेको निर्णय हो । ६ महिना जनतासँग माओवादी रूपान्तरण अभियान चलाएर त्यसपछि विशेष महाधिवेशन गर्ने हाम्रो निर्णय हो । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बाँकी नै रहेको हुँदा उक्त अभियान सकिएलगत्तै हामी केन्द्रीय समिति बैठक बस्छौँ । त्यो बैठकले महाधिवेशनको तिथिमिति तय गरेर जान्छौँ ।

नेतृत्व हस्तान्तरणको विषय पनि उठाउँदै आउनुभएको छ, माओवादीमा नेतृत्व हस्तान्तरण कति सम्भव छ ?
हस्तान्तरण भनेको के हो ? यो परिभाषित हुनुपर्छ । एकजनाले अर्कोलाई टीका लगाइदिएर हुने नेतृत्वको निर्माण हस्तान्तरण हो कि होइन ? आजको आन्दोलन, परिस्थितिलाई, मनोविज्ञानलाई नेतृत्व गर्नका निम्ति अब कसैले कसैलाई टीका लगाइदिएर होइन, समाजवाद नै अनुमोदित भएर आएको मान्छे चाहिन्छ । त्यसकारण आजको प्रश्न नेतृत्वको होइन, नेतृत्व निर्माणको निम्ति विधिको प्रश्न पनि हो ? कुन विधिबाट नेतृत्व निर्माण हुँदै जाने, उत्तराधिकारी निर्माण हुँदै जाने भन्ने कुराको बहस हो ।

महाधिवेशन भए पनि जित्ने त फेरि पनि प्रचण्डले नै होला । प्रायः सबै नेता प्रचण्डकै वरिपरि घुमेको देखिन्छ ? माओवादीमा प्रचण्डसँग भिड्ने आँट अरू नेतामा छ त ?
आँट र बेआँटको कुरै होइन । पहिला त कसरी जाने भन्ने कुराबाटै जानुपर्छ । हामीले विधि निर्माण ग¥यौँ भने धेरै कुरा स्पष्ट हुँदै जान्छन् । कति पटकसम्म अध्यक्ष हुन पाइने, सम्माननीय पदहरूमा पुगेको व्यक्तिहरू कति पटकसम्म त्यो ठाउँमा पुग्न पाइने, एकजना व्यक्ति प्रधानमन्त्री र मन्त्री कति पटकसम्म बन्ने, सांसद कतिपटक बन्ने भन्ने कुराको छिनोफानो विधिले गर्छ । हामीले नीति र विधि तयार नगर्दा आजको भद्रगोल स्थिति आइलागेको हो ।

त्यसैले को कति कहाँ गोलबन्द भयो, केन्द्रित भयो, चाकरी ग¥यो, घेराबन्दी ग¥यो भन्ने दोस्रो कुरा हो । पहिलो कुरा त, त्यो विधिमा हालेपछि धेरै कुराको निकास आउँछ । महाधिवेशन आउनुभन्दा ६ महिना अगाडि नै अब हाम्रो अध्यक्ष, महासचिव, उपाध्यक्ष यो यो हुँदै छ भनेर कार्यकर्ताले थाहा पाउनुभएन । महाधिवेशन हललाई नै अधिकार सम्पन्न गराउनुपर्छ । पहिले नै पद तोक्दै जाँदा पार्टी कमजोर बन्यो । आन्तरिक प्रतिस्पर्धाबाट आएको नेतृत्वले मात्रै बाह्य प्रतिस्पर्धा गर्न सक्छ ।

भनेपछि तपाईँहरूको मुख्य जोड प्रचण्डको विकल्पभन्दा पनि विधि तय गरौँ भन्नेमा हो ?
विधि निर्माण गरेपछि सबै कुरा त्यहीबाट आउँछ । पुराना, योगदान गरेका नेतालाई कुन स्थानमा राख्ने ? कसरी सम्मान गर्ने भन्नेदेखि नेतृत्व विकास कसरी गर्ने भन्ने सम्मका कुरा विधिमा आउँछ । विधि निर्माण नभएपछि पछि अप्ठेरो पर्छ । कसैले टीका लगाएको भरमा नेता हुने हो भने, चाकारी, घेराबन्दी, षडयन्त्र हुन्छ । विधिमा गएपछि यस्ता विकृति देखिँदैन ।

अध्यक्षदेखि सबै पदमा चुनाव गरेरै नेतृत्व छान्नुपर्छ भन्ने हो ?
नेतृत्व चयन ‘टप टु बटम, बटम टु टप’ प्रतिस्पर्धाको माध्यमबाट गर्नुपर्छ । नत्र भने युवा पुस्ता आउने सम्भावना नै नहुने भयो । एउटा जिल्लामा राम्रो सम्भावना भएको युवाले पार्टीमा भविष्य नै नदेख्ने भयो । मभन्दा अगाडि २५ जना नेता छन् भन्ने हो भने त २ वर्षको कार्यकाल मात्रै हिसाब गर्दा पनि ५० वर्ष जान्छ । त्यस्तो अवस्थामा युवाले केको लागि काम गर्छ ? त्यसकारण जनताबाट निरन्तर परिष्कृत भएर आउने कुरा नीति र विधिमार्फत स्थापित गर्ने कुराको छलफलमा हामी छौँ ।

जनार्दन शर्मा, घनश्याम भुसाल र विप्लव संयुक्त रूपमा देशव्यापी कार्यक्रम गर्दै हिँड्नुको कारण के हो ? कतै नयाँ पार्टी गठनको अभ्यास त होइन ?
नेपालमा आवश्यकताभन्दा बढी तरङ्गित हुने हाम्रो पुरानै सोच छ । एक प्रकारले यो सामन्ती सोच नै हो । राष्ट्रिय रूपमा बहसहरू सिर्जना भइसकेपछि कम्युनिस्ट आन्दोलनमा यी राम्रा हुन् । यी नराम्रा हुन् । यसरी प्रवृत्ति विकास भइरहेको छ । विश्व राजनीतिक कता जादैछ ? नेपालमा हामीले के गर्नुपर्ने हो ? भन्ने सन्दर्भमा देशव्यापी बहस गर्नु राम्रो हो । अर्को पार्टी पो बन्दै छ कि ? पार्टी नै कसैले विभाजन गर्न खोज्दै छ कि ? कसैमाथि यो शक्ति प्रयोग गर्न खोज्दै छ कि भन्नेतिर अहिले जानू भएन । छलफल, बहस जनस्तरसम्म पुगोस् र पु¥याउनुपर्छ । त्यसले मात्रै जनहितको विचार, राष्ट्रको प्रतिनिधित्व गर्ने विचार, नेपाली सापेक्षताको विचार, आजको राजनीतिक संकटको समाधानको उपाय निकाल्न सक्छ ।

माओवादीकै नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीसहित एमाले र कांग्रेसका नेताको बिचमा बसेर उपमहासचिव जनार्दन शर्माले डिनर गरिरहेको तस्बिर राखेर आलोचना गरिरहेका छन् । विरोधीसँग मिलेर शर्माले प्रचण्डविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको आरोपसमेत लगाएका छन् । साँच्चिकै ओलीसँग तपाईँहरूको हिमचिम बढेकै हो ?
यस्तो फोटो इतिहासदेखि पल्टाउँदै ल्याउने हो भने ककसको कहाँ कहाँ, के के भेटिन्छ । यो असान्दर्भिक ढंगले जसले उठाइराखेको छ, जसले परिचालन गरेको छ र जो परिचालित छ । यो सही निकास निस्कियोस् भन्ने मान्यताबाट परिचालित छैन । यसलाई खारेज गर्नुपर्छ । इतिहासको फोटो निकालेर हुन्छ त ? कहिले कुन प्रसंगमा फोटो खिचिएको हुन सक्छ, त्यसलाई विनाप्रसंग वा फरक प्रसंगमा जोडेर हुँदैन । हिजो राजासँग टीका थाप्नेहरू आज गणतन्त्रमा के के भइसके ? इतिहासमा कुन सन्दर्भमा बसेर डिनर गरेको कुरालाई निकाल्ने हो भने त कहाँ कहाँ होलान् ? कोही नख्खु जेलमा होलान्, कोही भद्रगोलमा होलान्, कोही सजाय पाइन्छ भनेर विदेश पो भागे कि ? यो खोज्दै जाने हो भने कहाँ पुगिन्छ । यो गलत समयमा गलत कुरा निकालेको हो ।

प्रचण्डनिकट नेताहरूले पुरानो फोटो खोजेर प्रचार गरे भन्न खोज्नुभएको हो ?
हामीलाई खासमा झोले भन्छन् । खासगरी यो भाष्य एमालेमा बढी स्थापित भयो । समग्रमा त्यसको सांकेतिक अर्थ भनेको राजनीतिक कार्यकर्तालाई अहिले झोले भन्दैछन् । यो झोले प्रवृत्ति युवाहरूले प्रदर्शन गर्न हुन्थेन । सडकमा मान्छे हिँडिरहेको छ । बार्दलीमा बसेको कुकुरले त्यही मान्छेलाई हेरेर भुक्छ । विचार बोक्ने नेता तथा कार्यकर्ता कुरै नबुझी दौडनु हुँदैन ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीमा भित्र्याएपछि तपाईँहरू थप सशङ्कित र त्रसित हुनुभएको हो ?
युद्धकलामा पनि सशक्त रूपमा भूमिका निर्वाह गरेको र शान्तिकलामा पनि दुई दुई पटक उपराष्ट्रपतिजस्तो गरिमामय पद सम्हालिसकेको नेता हाम्रो पार्टीमा काम गरिरहँदा सशङ्कित हुनुपर्ने कारण छैन । सम्मानित पद सम्हालिसकेको व्यक्तित्वहरू विभाजित हुने ठाउँमा नझरौँ, एउटा संस्कृतिको मूल्यलाई स्थापित गरौँ भनेर गत केन्द्रीय समिति बैठकमा मैले भनेको थिएँ । तर, अब पार्टीले निर्णय गरेर ल्याइसकेपछि त्यो निर्णय मैले लागू गर्नुपर्छ । संस्कृति बसालौँ भनेर मात्रै मैले त्यतिबेला पूर्वउपराष्ट्रपतिलाई पार्टीको राजनीतिमा नल्याऔँ भनेको हुँ । आतंकित हुनुपर्ने कुनै कारण छैन । उहाँ पार्टीको राजनीतिमा आइनै सक्नुभयो ।

समाजवादी र माओवादी पृष्ठभूमिका दलहरूको एकतामा विशेषगरी प्रचण्डले जोड दिनुभएको छ । तपाईँ एकता हुने देख्नुहुन्छ ?
सैद्धान्तिक र रणनीतिक रूपमा नेपालका क्रान्तिकारीहरू ध्रुवीकरण हुँदै जानुपर्छ । तर, सबैभन्दा पहिला को नेता हुने र कति नेता बनाउनेबाट सुरु गर्नु हुँदैन । हाम्रो एकताले देशको राजनीतिक संकटको मोचन गर्छ कि गर्दैन ? आज उठेको प्रश्नहरूको जवाफ हामी दिन सक्छौँ कि सक्दैनौँ ? यो ढंगले पहिला नै नीति र विचारमा स्पष्ट भएर हामीले एकताको थालनी गर्नुपर्छ ।

अहिले एकताको निम्ति हाम्रो स्थायी समितिले नेकपासँग एकता गर्ने भनेको छ । त्यो स्वागतयोग्य कुरा नै हो । हिजो हाम्रो जरा पनि एउटै हो । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पूर्वमाओवादीहरू सबैभन्दा पहिला एक ठाउँमा आउँदा नै देशलाई पनि हित हुन्छ । नेकपाका नेताहरूलाई एकता गरेर जस्तोसुकै जिम्मेवारी दिए पनि हाम्रो लागि स्वीकार्य नै हुनेछ । को नेता आउँछ र को आत्तिनुपर्ने भन्ने कुरा अघि तपाईँले गर्नुभयो, त्यस्तो कुरा होइन । देश र पार्टीको हित हुन्छ भने जो सुकै नेतालाई पनि म चाहिँ स्विकार्न तयार छु । त्यसका लागि पद त्याग्न पनि तयार छु ।

अब ८४ को निर्वाचनमा माओवादीको मत अझै खस्कन्छ कि सुधार हुने देख्नुहुन्छ ?
८४ मा हामीले राम्रो परिणाम निकाल्नका निम्ति आजको युगलाई हाँक्न सक्ने योजना, कार्यक्रम, संगठनको ढाँटा सबै कुरा स्पष्ट हुनुपर्छ । एकता गरेर मात्रै चुनाव जितिने होइन । ६४ को चुनावमा हाम्रो सयजना हाराहारी केन्द्रीय सदस्य थिए । आज तीन÷चार हजार केन्द्रीय सदस्य भएर पनि परिणाम आउँदैन । हामीले पूर्वमा १४ सिटमा १२ सिट जित्यौँ, १६÷१७ जनाको समिति हुँदा । अहिले ८÷९ सयको कमिटी हुँदा के भएको छ ? एउटा केन्द्रीय सदस्यले एउटा वडा पनि जित्न सक्दैन भने केन्द्रीय सदस्य किन बनाउनुपर्ने हो ? के को मूल्यांकनको आधारमा पदमा बस्नुपर्ने हो ? सबैभन्दा पहिला यस्तो भद्रगोल अवस्थाको अन्त्य गर्नुपर्छ । त्यसपछि मात्र हामीले राम्रो परिणाम ल्याउन सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्