Logo
Logo

ड्रागन र हात्ती सँगै नाच्लान् ?


डा. दीपेश केसी

252
Shares


सांघाई कोअपरेशन समिटका दौरानको तस्बिरले अबको विश्व राजनीतिबारे महत्त्वपूर्ण सन्देश दिएको छ । तियानजिनमा पुगेका यी तीन नेताको एकसाथको भेट र व्यक्त विचारहरू शक्ति पश्चिमबाट पूर्वतर्फ सर्दै गएको सन्देश पनि हो । त्यसमाथि पनि अबको शताब्दी एसियाको हो भन्ने स्पष्ट चित्रहरू पनि देखाप¥यो । रुस र चीन त निकट नै थिए, भारतको चीनसँग सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । यसपटक भने दुवै देश नजिकिए । यी दुईको निकटताले विश्व राजनीतिलाई नै प्रभावित पार्न थालिसकेको छ ।

मोदी सात वर्षपछि चीन पुगेका हुन् । यो आफैमा आइसब्रेक थियो चीनसँगको सम्बन्धमा । जापान हुँदै चीन पुगेका मोदीले बदलिँदो विश्व व्यवस्थाको सन्देश दिए । भारतका प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र भारतको एक अर्काको सही छनोटमा परेका मित्र भने ।

सीले ड्रागन र हात्ती सँगै नाच्ने बताउँदै संसार शताब्दीमा एकपटक हुने रूपान्तरणमा रहेको उल्लेख गरे । सीमा व्यवस्थापन सुल्झाएका दुवै नेताले क्षेत्रीय शान्ति र स्थिरताका लागि भूमिका खेल्ने सन्देश पनि दिए । यी सबै घटना त्यतिबेला विकास भयो जब अमेरिकाले भारत र चीन दुवैमाथि करको दबाब बढायो । भारतलाई रुसको तेल र कोइला नकिन्न ट्रम्पले दबाब दिए । उनले भारतमाथि पाकिस्तान कार्ड प्रयोग गरे ।

चीनसँग सम्बन्ध मजबुत बनाउँदै लगेको थियो पाकिस्तानले । तर, पाकिस्तानमा सबैभन्दा शक्तिशाली मानिने सेनाप्रमुख असिम मुनिरले ह्वाइट हाउसमा ट्रम्पसँग लन्चसहित भेट्ने अवसर पाए । उनी केही हप्ताअघि मात्र फेरि अमेरिका पुगेर फर्किए । यो घटनाले चीन पनि झस्कियो । यस्ता घटनाका कारण भारत र चीन दुवै नजिकिने परिस्थिति विकास भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही दिनअघि फोनवार्ता गर्ने प्रयास गरे । फोनवार्ता गर्न खबर पनि गरे तर मोदी ट्रम्पको फोन उठाउन तयार भएनन् । क्यानडामा जुनको मध्यतिर जी सेभेन सम्मेलनका लागि पुगेका मोदीसँग ट्रम्पको फोनवार्ता भएपछि कुराकानी भएको थिएन । यसपटक कुराकानी गर्न खोजेपनि हुन सकेन ।

अमेरिकाले भारतको सामानमाथि ५० प्रतिशत थप कर लगाउने घोषणा गरेपछि मोदी असन्तुष्ट छन् । उनका पछिल्ला कदम अमेरिकाप्रति असन्तुष्ट मात्र नभई अब भारत बहुध्रुवीय विश्व व्यवस्थामा प्रभावशाली शक्तिका रूपमा उभिइसकेको सन्देश पनि हो ।

भारतले पश्चिमा शक्तिको मात्र भर परेर आफूलाई विश्व राजनीतिमा संकुचित राखिनरहने गरी नयाँ कदम चालेको घटना पनि हो यो । भारतीय पक्षबाट त्यस्तै अभिव्यक्ति पनि सार्वजनिक भएको छ । जापानको भ्रमण पूरा गरी चीन पुगेका मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटेर सीमा व्यवस्थापनमा सहमति बनेको उल्लेख गरे । भारतका विदेश सचिव विक्रम मिश्रीले मिडिया ब्रिफिङमा भारत चीन सम्बन्ध एसियाको शताब्दी र बहुध्रुवीय विश्व व्यवस्थाका लागि मूल आधार हुने उल्लेख गरे ।

पश्चिमाहरुसँगको तनावपूर्ण सम्बन्धले रुसको ध्यान पूर्वतर्फ बढेको छ । बजार र मानवशक्तिका लागि पश्चिमबाट पूर्वतर्फ फर्किएको छ अहिले । युक्रेन युद्धका कारण नाटो देशहरूबाट प्रतिबन्धित रुसका लागि चीन र भारत निर्विकल्प बजार बनेका छन् । दुवै देशले कीर्तिमान तोड्ने गरी तेल खरिद गरिरहेका छन् रुसबाट । त्यहाँको अथाह स्रोतबाट चीन र भारत दुवैले लाभ लिइरहेका छन् । रुसको अत्याधुनिक हतियार खरिद गर्ने देखि संयुक्त रूपमा उत्पादन गरिरहेका छन् ।

पश्चिमा शक्ति रुसविरुद्ध केन्द्रित भएपछि रुसले भारत र चीन केन्द्रित व्यापार बढायो । विश्व बजारमा चल्तीको भन्दा सस्तो मूल्यमा तेल विक्री गर्न थाल्यो । अत्याधुनिक हतियार दुवै देशलाई विक्री ग¥यो । भारतसँग त संयुक्त लगानीमा ब्रम्होस मिसाइल नै बनायो । अत्याधुनिक राइफल बनाउने कारखाना रुससँगको साझेदारीमा भारतमै खोलियो । भारत र चीन दुवै सैन्य लगानी पनि बढाउन थाले । पाकिस्तानसँगको छोटो युद्धका दौरान भारतले प्रयोग गरेका हतियार प्रभावकारी ठहरियो ।

भारतका वायुसेना प्रमुखले त अमेरिकी निर्मित एफ १६ युद्धक विमान खसालेको खुलासा गरे । अमेरिकाले पेल्ने रणनीति बनाएपछि भारतले पनि चीनसँग व्यापार सुचारु गर्ने देखि विगतमा थाती रहेका समस्या समाधानको पहल थाल्यो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने दिशातर्फ उन्मु चीनसँग भारतले सुमधुर सम्बन्ध बनाएर जाने रणनीतिका साथ मोदी बढेको देखिन्छ । यसले विश्व राजनीतिलाई नयाँ मोडमा लगेको छ ।

भारत र चीन दुवै अन्तरिक्षमा यान पठाउने तीव्र प्रतिस्पर्धामा देखिइसकेका छन् । दुवै देशले चन्द्रमामा यान उतारिसके । आर्थिक प्रगति पनि द्रुत रूपमा गरिरहेका छन् । जनसंख्याको भरपुर सदुपयोग गरिरहेका छन् । जसका कारण उनीहरू सस्तो सामान उत्पादन गर्ने देश मात्र बनेका छैनन् उत्कृष्ट बजार पनि बनिरहेका छन् ।

जनसंख्या भारत र चीन दुवैको शक्तिको मुख्य आधारमध्येको हो । उनीहरूका लागि विगतमा ठूलो जनसंख्या अभिशाप जस्तै थियो अहिले वरदान साबित भएको छ । विश्वव्यापी रूपमा फैलिइरहेका उनीहरूका दक्ष जनशक्तिका कारण झन् प्रभाव बढाएका छन् ।

विश्वकै ठूलो देश भइकन रुस जनसंख्या कम हुँदा समस्यामा छ । भ्लादिमिर पुटिनले त साइबेरियाको अथाह प्राकृतिक स्रोतभन्दा ठूलो स्रोत रुसका १५ करोड जनता हुन् भनिसके । यूरोप पनि जनसंख्या वृद्धिदर कम हुँदा समस्यामा छ । जनसंख्या भारत र चीनमा छ ।

भारतमा दक्ष युवा जनशक्तिको अनुपात बढी छ । यही शक्तिलाई उसले मुख्य शक्तिका रूपमा बुझेर दीर्घकालीन योजनाहरू अघि सारेको छ । भारतको तीव्र आर्थिक वृद्धिदरको मुख्य आधार दक्ष जनशक्ति पनि हो । चीनले पनि जनसङ्ख्याबाट औधी लाभ लियो विगतमा । केही दशक एक सन्तान नीति ल्याएकोमा बुढ्यौली जनसंख्या बढेपछि फेरि नीति परिवर्तन गरेको छ । भारत युवा जनशक्ति अत्यधिक हुँदाको लाभ लिइरहेको छ ।

एकातर्फ, तीव्र आर्थिक वृद्धि अर्कोतर्फ ठूलो जनसंख्या अनि सैन्य शक्ति बढाउने कदमहरु । भारत र चीन निरन्तर प्रभावशाली बन्दै गएका छन् । विश्वको राजनीतिक व्यवस्था र शान्तिमै यी दुईको कदमले निकै ठूलो असर पार्न थालिसकेको छ । भारत र चीनबीचको द्वन्द्वले एसियालाई सबैभन्दा ठूलो असर पारेको थियो । बितेका पाँच वर्षमा एसियामा नकारात्मक असर पर्नुमा भारत र चीनबीचको टकराव नै हो ।

यसको नकारात्मक असर नेपालसम्म पनि प¥यो । अहिले भारत र चीनबीचको सम्बन्ध फेरि सुधारिएपछि एसियाको भलाई हुने अपेक्षा गर्न थालिएको छ । २१औँ शताब्दीको युग एसियाको युग भनिने गरेकोमा त्यो सत्य साबित हुने परिस्थिति विकास भइसकेको छ । सी चिनफिङले भनेजस्तै बदलिँदो विश्व परिस्थितिमा ड्रागन र हात्तीसँगै नाच्छन् जब यी दुई देशबीच मित्रता रहन सक्छ ।

यसले एसियाको शान्तिमा पनि सकारात्मक असर पर्छ । भारत र चीनबीच मेलमिलापयुक्त वातावरण हुनु विश्वको आधा जनसंख्याले शान्ति र स्थिरता भोग्न पाउनु हो । दक्षिण एसियामा मात्र झण्डै २ अर्ब जनसंख्याले शान्तिको स्वास फेर्न पाउँछन् । चीन र उसका वरपरका साना देश गरी डेढ अर्ब जनसंख्या प्रभावित हुन्छन् । यसको अर्थ विश्वको आधा जनसंख्या भारत र चीनको सम्बन्धबाट उत्पन्न हुने परिस्थितिबाट प्रत्यक्ष अप्रत्यक्ष प्रभावित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्