Logo
Logo

निजामती कर्मचारी दिवसमा प्रधानमन्त्रीको शुभकामना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुभएको छ । निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक बधाई दिनुभएको हो ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ । तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य नै छन् । यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु । तपाईंहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका छन् र तपाईंहरुका मागहरु पनि पूरा भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ– ‘आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।’

‘यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना ब्यक्त गर्दछु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनु भएका राष्ट्र सेवकहरुप्रति यस अवसरमा सम्मान समेत प्रकट गर्न चाहन्छु’, सन्देशमा भनिएको छ ।

नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने छ । राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक ब्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता छ ।

निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पनि जरुरी छ । निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्था अनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।

कोभिड–१९ लगायत समय समयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपदका अवस्थाहरुमा कर्मचारीहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय छ । अन्त्यमा, निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्