
काठमाडौं । नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनपश्चात उत्पन्न नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि सेनाले निषेधाज्ञा र कफ्र्यु जारी गरेको हो ।
नेपाली सेनाका अनुसार आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि २६ गते बिहान ६ बजेसम्म कफ्र्यु आदेश लागू हुनेछ । परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने छ ।
आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र ती घटना नरोकिएपछि निषेधाज्ञा र कर्फ्यू जारी गरिएको सेनाले जनाएको छ ।
निषेधाज्ञा र कफ्र्युका बेला एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन् ।
आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न र आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।
जेनजी आन्दोलन चर्किएपछि देशमा लुटपाटका घटना बढेको छ । काठमाडौं र भक्तपुरबाट मंगलबार राति मात्रै लुटपाटमा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिइसकेको छ ।













