Logo
Logo

निजामती पुरस्कार पनि बिक्रीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ भदौ ।  नेपालमा निजामती प्रशासन किन असफल छ ? निजामती सेवा दिवसमा दिइने पुरस्कार हेरियो भने पनि त्यो प्रष्ट हुन्छ । दुर्गममा बसेर जनताको सेवा गर्ने तथा उच्च पदस्थको चाकडी नगरी इमान्दारीताका साथ काम गर्ने कर्मचारीहरुको निजामती सेवामा कुनै सम्मान नै छैन । चलखेल गर्नेहरुको हालीमुहाली छ । जुन कुरा यो वर्षको निजामती सेवा पुरस्कार छनोटमा देखियो ।

सोमबार सरकारले ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार दिइएकोमा त्यसमध्ये धेरै जसो चाकडीकै आधारमा पाएका छन् । उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाउनेमा काठमाडौंका सिडिओ जनकराज दाहाल समेत छन् । जबकी यतिबेला काठमाडौंमै कोरोनाको महामारी छ । यसमा प्रशासनको असफलता प्रष्ट देखिन्छ । अझ लकडाउनको समयमा पास समेत बिक्री गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका थिए । यस्तो महामारीको बेला कालोबजारी फस्टाएको छ । तर सिडिओलाई मतलब छैन । उनलाई सरकारले उत्कृष्ट कर्मचारी भन्दै एक लाख रुपैयाको पुरस्कार दिएको छ । उनी निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको आफन्त भएकाले यो अवसर पाएका हुन् । यसअघि उनी झापाको सिडिओ थिए ।

उनीसहित परराष्ट्रका सहसचिव सुशील लम्साल, कानून मन्त्रालयका मानबहादुर अर्याल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, संघीय मामिलाका उपसचिव डिलाराज रेग्मी, सिडिई सुरतकुमार बम, लोक सेवा आयोगका उपसचिव टामलाल पाण्डे, झापाको कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमल श्रेष्ठ, शुक्रराज ट्रपिकल अस्पतालकी उषादेवी देवकोटा तथा प्रधानमन्त्री कार्यालयका हल्का सवारी चालक धनबहादुर लामालाई दिइएको छ । उनीहरुलाई १÷१ लाख राशीको पुरस्कार दिइएको छ । जबकि पुरस्कृतहरुले के उत्कृष्ट काम गरियो भन्ने कुरा उल्लेख छैन । मन्त्री र मुख्यसचिवका निकट कर्मचारीहरुले पुरस्कार हात पारेका छन् ।

५० हजार राशीको निजामती सेवा पुरस्कार पाउनेहरुमा स्वास्थ्य मन्त्रालयका सहसचिव रघु बिष्ट, सह न्यायाधीवक्ता गोपाल बहादुर रिजाल, सह रजिष्ट्रार खोमराज कोइराला, सिडिई कुबेर नेपाली, महिला मन्त्रालयकी उपसचिव रोशनी देवी कार्की, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जन कुमार मिश्र, कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका प्रमुख डा वीरेन्द्र कुमार यादब, उर्जा मन्त्रालयका सिडिई बाबुराम अधिकारी छन् ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, महालेखा परीक्षकको कार्यालयका रञ्जित कुमार भट्ट, इन्जिनियर सन्तोष निरौला, जिल्ला हुलाक कार्यालय रोल्पाकी हुलाक अधिकृत सावित्री पौडेल बेलवासे, पुरातत्व विभागका मञ्जु सिंह भण्डारी थापा, तेह्रथुमको मेन्छयेम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी लगायत छन् । धेरै जना सिंहदरबारकै कर्मचारीले पुरस्कार पाएका छन् । निश्चित मापदण्ड नहुँदा यसरी पुरस्कारमा समेत चलखेल हुने गरेको हो । मुख्यसचिव नेतृत्वको पुरस्कार छनोट समितिले यसरी चलखेलका आधारमा पुरस्कार दिएको हो ।

प्रतिक्रिया दिनुहोस्