
काठमाडौं । प्रधानसेनापति अशोकराज सिक्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । अन्तरिम सरकार गठनको पहल भइरहेका बेला केहि बेरअघि उनी शीतलनिवास प्रवेश गरेका हुन् ।
सोमबारबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता देशको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।
जेनजीहरुले संसद विघटन गरेर पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकार नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् । बिहीबार रातभर प्रधानमन्त्रीमा प्रस्तावित कार्की, प्रधानसेनापति सिक्देल र राष्ट्रपति रामचन्द्र पौडलबीच भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ ।
संसद विघटन गर्न राष्ट्रपति सहमत छैनन् । सोही विषयमा आज पुन वार्ता गर्न सेना प्रमुख राष्ट्रपति निवास पुगेका हुन् । केहि बेरअघि जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।











