
–ओली पात्र मात्र हैनन्, प्रवृत्ति हुन् । पात्रका रूपमा उनी एक दम्भी, हठी र अहंकारी एन्टोगोनिष्ट पात्र हुन्। अनि, प्रवृत्तिका रूपमा चाहिँ ‘मैँ खाऊँ, मै लाऊँ सुख, सयल मोज मै गरूँ’ भन्ने चरम स्वार्थी प्रवृत्ति। यही नै ओली पात्र र प्रवृत्तिको मूल चरित्र हो ।
–ओली समाधान हैनन्, समस्या हुन् । उनी जहाँ हुन्छन्, त्यहाँ समस्या हुन्छ । उनीसँग केही कुराको पनि समाधान हुँदैन, जे कुराको पनि समस्या मात्रै हुन्छ । समाधान भैसकेका विषय पनि गिजोलेर ओलीले समस्या नै बनाउँछन् ।
–ओली भष्मासुर हुन् । उनले आफूलाई त सक्छन् नै, एमाले र सिंगो वाम आन्दोलनलाई पनि खरानी बनाएरै छोड्छन् ।
–ओली जहाँबाट उठे, त्यही पछारिन्छन् । धर्मप्रसादको टाउको काट्ने नरसंहारबाट सुरू भएको उनको यात्रा यस्तै रगतको आहालमा नखेली टुंगिदैन । अतिवादी ओलीका लागि अहिलेलाई यति मात्र भन्न सकिन्छ, पुनः मुसिक भवः ।
प्रिय पाठकहरू,
ओलीका बारेमा मैले एकपटक हैन, अनेकपटक यस्तै यस्तै लेखेँ । मेरो लेखनको यो सोच र कोण यहाँहरूबाट कति पनि लुकेको छैन । धेरैपटक लेखेको देखेर तपाईंहरूमध्ये केहीलाई अलि बढी पनि लागेकै हो । अझ केहीले त मुखै खोलेर भन्न पनि भ्याउनु भयो, ‘तपाईँले लेख्ने भनेकै ओलीको विरोध त हो ।‘ तर, मलाई भने कहिल्यै त्यस्तो लागेन । न मैले ओलीको विरोध लेखेको थिएँ, न नचाहिँदो वा बढी नै । त्यसैले धेरैजसो स्तम्भको बिट मार्दै गर्दा लेख्ने गर्थे, ‘बाँकी त समयको ऐनामा हेरौला– त्यसका लागि बाँच्नु चाहिँ पर्छ । बाँचे देखिन्छ ।‘
नभन्दै भदौ २३ गते त्यो समय आयो । समयको ऐनामा एक रक्तपिपासु तानाशाहको रूपमा ओलीले आफ्नो पूरै कद देखाए । त्यही दिन उनले जेन जी आन्दोलन दबाउने क्रममा कलकलाउँदा १९ युवाहरूको ज्यान लिए । अर्को दिन प्रतिरोधमा देशका तमाम धरोहरहरू जले, अथाह सार्वजनिक सम्पत्ति भष्म भयो । त्यसयता ७२ जनाको ज्यान गैसकेको छ ।
मूल कारण खोज्दै जाँदा भेटिने उही हो, ओली पात्र र प्रवृत्ति । ओली भष्मासुर नै भए, पुनः मुसिक भवः नै साबित भयो । एकजना धर्मप्रसादको रगतको आहालबाट सुरू भएको उनको राजनीतिक यात्रा ७२ जना निर्दोष नेपालीको खुन खाएर लगभग सकिएको छ ।
प्रकारान्तरमा यस्तो दिन आएको छ, दुई तिहाइको बहुमत बनाएर सरकार प्रमुख बनेका उनी भदौ २३ यता भूमिगत छन् । भदौ २४ गते राजीनामा दिएको र त्यसपछि सुरक्षाका लागि सेनाले लगेको भनिएको छ । तर, त्यसको कुनै आधिकारिकता पुष्टि भएको छैन । उनी कहाँ छन् ? कुनै आधिकारिक जानकारी छैन । एक किसिमले भूमिगत नै छन् । भूमिगत मालेबाट सुरू भएको उनको यात्रा भूमिगत ओमालेमा पुगेर टुंगिएको छ ।
जेनजी आन्दोलनका क्रममा ओलीका तेह्रथुम, झापा र भक्तपुरका तीनवटै घर खरानी भएका छन् । उनी चाहेर पनि अब घरमा फर्कन सक्ने अवस्थामा छैनन् । यो भनेको उनको घरबारविहीन अवस्था हो । एक किसिमले भन्दा उनी अहिले साँच्चीकै सर्वहारा भएका छन् । यो पनि पुनः मुसिक भवः को अर्को आयाम हो ।
के पी ओली अहिले नेपालमा सर्वथा बदनाम र अलोकप्रिय नाम हो । त्यति मात्र हैन, यो नाम मस्ट वान्टेड र सबैभन्दा असुरक्षित नाम पनि हो । भदौ २३ सम्म दुई तिहाइ बहुमतको प्रधानमन्त्री र एमालेको सर्वशक्तिमान् अध्यक्ष रहेका ओलीको नाम लिन सक्ने अवस्था नै छैन । उनको किचन क्याविनेटका सकुनीहरू नै पनि उनको नाम लिन सक्दैनन् । हुँदाहुँदा अवस्था यति नाजुक छ कि ओलीको नाम लिनु भनेको आफ्नै असुरक्षा बढाउनु हो ।
ओलीकै कारण खरानी भएको च्यासल पार्टी कार्यालयमा उनको तस्बिर बिनाको ‘हामी फेरि उठ्नेछौ’ ब्यानर टाँगिएको छ । यो भनेको अब ओली बिनाको एमाले मात्र सम्भव हुने स्पष्ट स्वीकारोक्ति हो । हुन पनि हो, अझै ओलीसहितको एमालेको लिढेढिपी गर्ने हो एमाले बिनाकै नेपाल पनि हुन सक्छ । त्यसको छनक पाएर पनि हुन सक्छ, एमालेको तर्फबाट अहिलेसम्म आएका धारणाहरूमा ओलीको नामोनिशाना छैन ।
जेनजी आन्दोलनले केपी ओली मात्र सकिएनन्, उनको देवत्वकरण गरेर फाइदा लुटिरहेका एमालेका दोस्रो पुस्ताका नेताहरूको राजनीतिक भविष्य पनि लगभग सकिएको छ । हिजो ओलीको पक्षमा बोलीको फालिम लगाउनेहरू अहिले लापत्ता छन् । केहीले आत्मसमीक्षा, पश्चाताप आदि–इत्यादि भन्दै ओली बिनाको एमाले ब्राण्डको ललिपपको मिडिया ट्रायल गरिरहेको देखिन्छ । तर, त्यो ललिपपले बजारमा कुनै तेजी ल्याएको छैन । अझ, ओलीलाई नै मालिक बनाएर ‘एमाले ललिपप’को बजारीकरण गर्ने हो भने त कम्पनी नै ब्यांकक्रप्सीमा जाने निश्चित छ ।
ओलीले आफू र एमाले मात्रै सकेनन्, सत्ता साझेदार कांग्रेस सुप्रिमो शेरबहादुर देउवा र उनको कम्पनी नेपाली कांग्रेसको पनि बातो बसाइ दिए । भुटानी शरणार्थी प्रकरणमा जोडिएकी श्रीमती आरजु जोगाउन ओलीको पाउ परेका देउवा एक वर्षपछि छैटौपटक प्रधानमन्त्री हुने मुख मिठ्याउँदै थिए । अब त्यो ‘आकाशको फल आँखा तरी मर’ मात्र भएन, बाँकी जीवन नै कसरी सुरक्षित भएर बाँच्ने भन्ने स्थितिमा पुग्यो । स्मरणीय रहोस्, बूढानीलकण्ठमा ‘जेनजी– धुलाई’ भेटेका देउवा दम्पती अहिले उपचार गराइरहेको समाचार बाहिर आएको छ । धुलाई मात्र क्यामरामा कैद छ, उपचार कैद छैन । त्यसैले यसको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।
जेनजी आन्दोलनले कांग्रेसलाई देउवामुक्त बनाउने लगभग निश्चित छ । यद्यपि, अझै पनि कांग्रेसमा देउवाको पक्षमा नेताहरूले बोल्न छोडेका छैनन् । उनका गुटका त बोलिरहेकै छन्, विपक्षी गुटका पनि उनीमाथि भएको रामधुलाईको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तर, युवा पुस्ता भने देउवाको लिगासी बोकेर जाने पक्षमा देखिदैन । युवापुस्ताको नेतृत्व गरिरहेका पार्टी महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने आत्मसमीक्षा र ग्लानीको भाषामा क्षमायाचना गरिरहेका छन् ।
सत्तारूढ दुई पुराना दलका सुप्रिमो देउवा र ओली त घानमा परका छन् नै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका सुप्रिमो प्रचण्ड पनि यो घानबाट बाहिर हुने छाँट देखिँदैन । बितेका १० वर्षमा म्युजिकल चियरजस्तै सत्ताको खेल खेलिरहेका प्रचण्ड पनि जेन्जी आन्दोलनको निशानामै छन् । उनको चितवनको घर र पार्टी कार्यालय पनि ध्वस्तै भएको छ । उनकी सदाबहार पिए छोरी गंगा दाहालको पनि घर खरानी नै भयो ।
जेनजी आन्दोलनको चुरो कुरो भनेको भ्रष्टाचारमुक्त नेपाल नै हो । यो पुस्तालाई लागेको छ कि भ्रष्टाचारको जरो भनेकै ओली–देउवा–प्रचण्ड हुन् । यिनीहरूलाई नउखेलेसम्म नेपाललाई भ्रष्टाचारमुक्त बनाउन सकिन्न । त्यसैले आन्दोलनकर्मीहरूले छानी छानी यी तीन सुप्रिपो र यिनीहरूका नाममा लुटतन्त्र चलाइरहेकाहरूमाथि निशाना साँधे ।
यस क्रममा मानवअधिकारको कोणबाट हेर्दा केही ज्यादति पनि नभएको हैन तर आन्दोलन राम नाम जपेर मात्र सम्भव हुन्न भन्ने सत्यलाई पनि हेक्का राख्नैपर्ने हुन्छ । आन्दोलनमा धनजनको खती गराएरै छोड्ने केही अप्रिय घटनाहरू पनि हुन्छन् ।
जेनजी आन्दोलनको क्रममा अकल्पनीय धनजनको क्षति भएको छ । यसलाई लिएर अरू स्वार्थ समूहहरूको घुसपैठ भएको भन्ने कुरा पनि बाहिरिएको छ । त्यसमा केही सत्यता पनि हुन सक्छ । यो सरकारले पिर दिएका रवि लामिछाने, दुर्गा प्रसाईँ र ज्ञानेन्द्र शाहका मानिसहरूले उपद्रो मच्चाएका हुन सक्छन् । तर, आन्दोलनको पहिलो दिन नै १९ जना युवाको निर्मम हत्या भइसकेपछि युवाहरूले हातमा दही जमाएर बसे भन्न पनि सकिन्न । यद्यपि, यस्ता हरेक घटनामा षडयन्त्रका सिद्धान्तहरूमाथि मिडिया ट्रायल हुन्छ नै, यसमा पनि नहुने प्रश्नै छैन ।
चरम बेथिति भएका देशका युवाहरू जहिले पनि यथास्थितिको विरोधमा हुन्छन् । यस्तो सोचको प्रदर्शनले कहिलेकाहीँ आन्दोलनको आकार लिन्छ । नेपाली युवाहरूमा पनि यस्तो सोच हुनु अस्वाभाविक हैन । त्यही सोचले जन्माएको नेपालको जेनजी आन्दोलन मूलतः यथास्थिति विरोधी आक्रोशको प्रदर्शन नै हो । त्यसैले यसमा सबल नेतृत्व नहुनु जति स्वाभाविक हो, कुनै राजनीतिक दर्शन र सिद्धान्तले निर्देशित नहुनु पनि अस्वाभाविक हैन ।
जेनजी आन्दोलनमा नसोचेको धनजनको क्षति मात्र भएन, यसले सोच्दै नसोचेको ठूलो सफलता पनि हासिल गर्यो । तर, यो सफलतालाई तार्किक निष्कर्षमा पु¥याउने न कुनै सुझबुझपूर्ण नेतृत्व थियो, न कुनै बनिबनाउ योजना नै थियो । त्यस्तो भएको भए यो आन्दोलनले जेनजी पुस्ताकै नेतृत्वमा अन्तरिम सरकार बनाउन पनि सक्थ्यो र संविधान संशोधनमार्फत् कार्यकारी राष्ट्रपतिको व्यवस्था पनि गर्न सक्थ्यो । तर, विडम्बना त्यसो हुन सकेन । आन्दोलनले फेरि हजुरआमा पुस्ताकै नेतृत्व पायो । संविधानलाई बचाउने नाममा यति ठूलो सहादतलाई विचैमा तुहाइयो । यस कोणबाट हेर्दा यो एक किसिमको कटमिरो आन्दोलन नै रह्यो भन्दा पनि हुन्छ ।
जे भए पनि मुलुकले ठूलो परिवर्तनलाई संस्थागत गर्न कोशेढुंगा स्थापित गरेको छ । मुलुकले तुलनात्मक रूपमा भ्रष्टाचार विरोधी छवि बनाएकी हक्की पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम नागरिक सरकारको प्रमुखका रूपमा पाएको छ । यो भनेको नेपालले पहिलो महिला प्रधानमन्त्री पाउँनु हो । यस कोणबाट हेर्दा यो आफैँमा एक ऐतिहासिक परिघटना हो । पहिलो लटमा सरकारमा समावेश तीनैजना मन्त्रीहरू नेपाली समाजमा आशा जगाएका व्यक्तित्व हुन् । समाजले भरोसा गरेका यस्ता व्यक्ति समावेश गरेर सरकार बनाउनु बिहानीले दिउँसोको संकेत गर्नु नै हो ।
तर, जेनजीको एक गुटको नेता सुदन गुरूङलाई खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालको नियुक्ति मन परेन । त्यसको बिरोध गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीकै राजीनामा मागे । गजब त के छ भने तिनै गुरूङले दुई दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा प्रधानमन्त्री कार्कीको गोडा ढोगेका थिए । सरकारले काम गर्न सुरू नगर्दै गुरूङले देखाएको यो ब्यहोरालाई शुभ भन्न सकिन्न ।
आन्दोलनका कारण संसद विघटन भएपछि बेरोजगार भएका पुराना पार्टी र तिनका नेता कार्यकर्ता पनि टाउको उठाउन थालिसकेका छन् । उनीहरूले सार्वजनिक रूपमै संसद पुनस्र्थापनाको माग गरिसके । उनीहरूले अहिलेको परिवर्तनलाई गैर संवैधानिक भनेका छन् । उनीहरूले दल र शीर्ष नेतृत्वको आलोचना नगर्न पनि उर्दी जारी सके । जालझेल राजनीतिमा पारंगत उनीहरूलाई के थाहा छ भने नेपालीको स्मरण शक्ति कमजोर छ, नौ दिनमा नौलो, बिस दिनमा बिस्र्यो । अझ, त्यसमाथि पनि ‘फुटाउ र राज गर’ मा त उनीहरूलाई विशारद नै प्राप्त छ ।
अन्तरिम सरकारसामु यो आन्दोलनमा जितेका र हारेका दुवै पक्षलाई सँगै लगेर फागुन २१ गते आम चुनाव गराउने चुनौती तेर्सिएको छ । त्यसका लागि आवश्यक तयारी त गर्नु छ नै, मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्दै भ्रष्टाचारमाथि लगाम लगाउनु पनि छ । आन्दोलनको क्रममा भएको धनधनको क्षतिलाई सम्मान पूर्ताल गर्दै सबैको साथ लिएर अगाडि बढ्नु छ । तर, अति राजनीतिकरण भैसकेको देशमा सबैलाई एकसाथ लिएर अगाडि बढ्न र खुसी पार्न सम्भव छैन । त्यसका लागि आवश्यक पर्याप्त स्रोत र साधन पनि छैन, सकारात्मक सोच र चिन्तन पनि छैन ।
समग्रमा यो सरकारसामु चुनौतीको पहाड नै चुलिएको छ । त्यसलाई सम्माएर अवसरको मैदान बनाउनु छ । यो काम सहज छैन तर नगरी पनि धेरै छैन । सरकारले पाएका म्यान्डेटहरू समयमै पूरा गर्नुपर्ने हुन्छ । असफल हुने छुट नै छैन । त्यसका लागि सबै पक्षले सघाउनुपर्ने हुन्छ । अझ त्यसमाथि पनि पुराना राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूले त सघाउन आवश्यक हैन, अपरिहार्य नै छ । उनीहरूको राजनीतिक जीवनलाई बचाउन पनि यसो नगरी धरै छैन ।
धन्धुकारी केपी ओली इतिहासमा एक रक्तपिपासु तानाशाहका रूपमा अभिसप्त भएका छन् । अहिले उनी भूमिगत छन् । जहाँ लुके पनि उनको खुनी हातमा ७२ जना निर्दोष नेपालीको आलो रगत प्रष्टैसँग देखिन्छ । निधारमा रगतकै कलंकको टीका छ । यी खुनी अझै पनि एमालेको अध्यक्ष छन् । एमालेले आफूलाई जोगाउने हो भने ओलीलाई पार्टी अध्यक्षबाट बर्खास्त गरेर जनतासँग माफी माग्नुपर्छ । अन्यथा, एमाले पनि ओलीसँगै साँधैका लागि डुब्नेछ ।











