Logo
Logo

ऊर्जा मन्त्री घिसिङसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट


315
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालका लागि बेलायती राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

ऊर्जा मन्त्रालयमा आज सम्पन्न उक्त भेटका क्रममा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल–बेलायत सम्बन्ध, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहकार्य विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहलहरू, लगानीको सम्भावना लगायतका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्री घिसिङले जेनजी प्रदर्शनपछि गठन भएको सरकारले क्षति भएको संरचनाको पुनर्निर्माण, आम निर्वाचन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराउँदै, नेपालको विकासमा बेलायतले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नुभयो।

उहाँले कार्बनरहित नेपाल निर्माणको उद्देश्यसहित विद्युतीय सवारीसाधनको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माणमा बेलायतको सहयोग प्रभावकारी रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा राजदूत फेनले बेलायत नेपालको पुरानो मित्र राष्ट्र भएको र नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणमा बेलायतले आगामी दिनहरूमा पनि निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्