काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रँदै गएको र नेपालीहरूलाई भिसा तथा रोजगारीमा कठिनाइ भइरहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार भक्तपुरको गुन्डुमा पार्टी निकट युवा र विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल बदनाम भएको भन्दै यसलाई जोगाउन युवाहरूले भूमिका खेल्नुपर्ने बताए । ‘नेपालीलाई भिसा र काम नदिने अवस्था बनिसक्यो, नेपाल बदनाम भएको छ,’ ओलीले भने, ‘हामीले यो स्थितिबाट देशलाई बचाउनुपर्छ ।’
उनले नेपाललाई इमान्दार, कर्मठ र सभ्य नागरिकहरूको देश भएको उल्लेख गर्दै सभ्यताको लामो इतिहास बोकेको मुलुकलाई नयाँ पुस्ताले विकासको बाटोमा लैजानुपर्ने बताए ।
ओलीले काठमाडौं महानगरका मेयर बालेन साहप्रति संकेत गर्दै सिंहदरबार र संसद् भवन योजनाबद्ध रूपमा जलाइएको दाबी गरे । ‘सिंहदरबार कसले जलायोरु देशलाई माया गर्नेले जलाउँदैन,’ उनले भने, ‘यो घुसपैठिया तत्त्वहरूको योजनाबद्ध कदम हो ।’
उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पटक–पटक आक्रमण भएको भन्दै यस्ता कार्य योजनाबद्ध भएको बताए । नेपालको सभ्यता र इतिहासलाई जोगाउँदै देशको छवि सुधार्न युवाहरूलाई एकजुट भएर लाग्न उनले आह्वान गरे ।














