सिरहा । गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

अभिषेकको शव आज बिहान हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब १०० मिटर टाढा आँपको बगैँचामा फेला परेको हो।
उनी आइतबार राति ८ बजेपछि बेपत्ता भएका थिए। सोमबार बिहान आमाको मोबाइलमा अभिषेकको मोबाइलबाट फिरौती मागिएको म्यासेज आएको थियो।
घटनामा आफन्त वा छिमेकीको संलग्नता हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। दोषी पत्ता लगाउन तालिम प्राप्त कुकुर समेत मगाइएको छ। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।














