गण्डकी । दसैँ नजिकिँदै जाँदा मुस्ताङका च्याङ्ग्रा पोखरा, बागलुङ र काठमाडौँ झारिन थालेका छन् । कास्कीको लुम्ले हुँदै मङ्गलबार सयौँ च्याङ्ग्रा पोखरा भित्रिए, जसले पोखरा–बागलुङ राजमार्गमा सवारी अवरुद्ध हुने गरी भीड बढाएको थियो।

व्यवसायीहरूले मुस्ताङ, डोल्पा लगायत हिमाली जिल्लाबाट हप्तौं समय लगाएर च्याङ्ग्रा झारिरहेका छन् । च्याङ्ग्राको प्रतिकिलो मासु पोखरामा रु २,२०० र चेलुको रु १,८०० मा बिक्री भइरहेको छ ।
व्यवसायीहरूको अनुसार यस वर्ष मुस्ताङबाट करिब १५ हजार च्याङ्ग्रा बजारमा आउने अनुमान छ । ट्रकबाट साथै हिँडाएर पनि च्याङ्ग्रा पोखरा र काठमाडौँ पुर्याइँदैछ ।
कोभिडपछिका वर्षहरूमा च्याङ्ग्राको मूल्य दोब्बर भएको छ । मूल्यवृद्धि, कर र दस्तुरका कारण व्यवसायीहरू व्यवसायमा संलग्न हुन हिच्किचाउन थालेका छन् । तर दसैँमा स्वादिलो र स्वास्थ्यवर्द्धक मानिने च्याङ्ग्राको माग भने उच्च नै छ ।














