मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेको हुँदा प्रदेश खारेज गर्ने सोच नै नरहेको बताए ।
पत्रकारहरूले उठाएको प्रश्नमा उहाँले अहिलेको अवस्थामा रु १००० र रु ५०० दरका नोट प्रतिबन्ध लगाउने विषयमा कुनै पनि छलफल नभएको जानकारी दिए ।
त्यसैगरी, भारत सरकारले लागू गरेको ‘गुड्स एन्ड सर्भिस ट्याक्स ( जिएसटी ) घटाएको विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै मन्त्री खनालले नेपालका उद्योग, व्यापार तथा औद्योगिक प्रतिष्ठानमा त्यसको असर पर्ने अवस्था आए आवश्यक सुधार गरिने बताए ।














