Logo
Logo

 बालेनले कांग्रेस-एमालेसँग गठबन्धन गर्नुपर्छ : कमल थापा


2.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरूले हाइज्याक गरेको दाबी गरेका छन् ।

The current image has no alternative text. The file name is: kamal-thapa.gif

बिहीबार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताले संविधान र व्यवस्था रक्षाका लागि आन्दोलन नगरेको भएपनि विभिन्न शक्तिहरूले हस्तक्षेप गरेको आरोप लगाए ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिले नै जेनजी युवा आन्दोलन हाइज्याक भएको प्रमाणित हुने  बताए । उनले भने, ‘देशी, विदेशी शक्तिहरुको सहयोगमा युवाहरूको आन्दोलनलाई हाइज्याक गर्ने काम गरियो । माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यो नै आन्दोलन हाइज्याकको प्रमाण हो ।’

उनले युवाहरूले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरिएको भए पनि वर्तमान व्यवस्थामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताए । उनले भने, ‘जेनजी युवाहरु यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरूको कुनै विशेष एजेण्डा नभए पनि भ्रष्टाचारको अन्त्य भनेका थिए । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ?’

यही व्यवस्थामा निर्वाचन गरिए जेनजी युवा आन्दोलन अधुरो हुने थापाको दाबी रहेको छ । हालकै निर्वाचन प्रणालीबाट चुनावमा गए बालेनले यदि पार्टी खोलेमा पुरानै दलहरूसँग गठबन्धन गर्नुपर्ने उनले बताए ।

‘यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आउलान् । तर कसैले पनि सरकार बनाउनेगरी बहुमत बनाउन सक्दैनन्,’ उनले भने, ‘अहिले बालेनले पार्टी खोल्छ र ठूलो पार्टी हुन्छ भनेर हल्ला गर्छन् तर उनले खोलेको पार्टी कांग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्छ । त्यसको के काम ?’

भ्रष्टाचारको मूल जडको रूपमा रहेको संविधान र व्यवस्थालाई यथावत् राखेर जनतालाई धोका दिन थालिएको उनले टिप्पणी गरे । यथास्थितिलाई कायम राखेर निर्वाचन भएमा देशमा थप खराब स्थिति आउनसक्ने बताउँदै उनले भने, ‘अहिलेकै राज्य संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्