काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी र बेथानचोक गाउँपालिकाका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
रोशी गाउँपालिका वडा नं १ र २ खहरेपाँगु र शिखर आम्बोटेका जोखिम बस्तीका ३० परिवारलाई सुरक्षित स्थानमा सारिएको हो । उनीहरुलाई लक्ष्मी नारायण माध्यमिक विद्यालयमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

रोशी खोलामा पानीको बहाब बढ्दै गएपछि जोखिम हुने भएकाले नक्केल डाँडा, फलामेसाँघु, नारायणटार लगायतका स्थानका करिब ३० परिवारका १५० जनालाई शनिवार साँझबाटै विद्यालयमा राखिएको लामाले बताए ।
रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिएर गएकाले यस स्थानका बस्तीहरु जोखिममा छन् । बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिकाको भवनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै काभ्रेको बेथानचोक गाउँपालिका वडा नं २ र ३ को सिमानामा रहेको बस्तीका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार त्यस क्षेत्रका खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सिमाधारा, सयले र बनेपालीटोल गरि ७० परिवार सुरक्षित स्थानमा सारिएको हो ।
उनीहरूलाई मुक्तेश्वर सामुदायिक भवनमा राखिएको छ भने अन्य वडाका जोखिममा रहेका बस्तीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको छ ।
अविरल बर्षको कारण ढुंखर्क–खोपासी–पनौती सडक अवरुद्ध भएको छ । बेथानचोक २ का वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाका अनुसार पार्थली, खड्केचौर, बगर लगायतका ठाउँहरूमा पहिरो गएको र लेदो आएकाले सडक पूर्णरुपमा बन्द भएको छ ।














