काभ्रेपलाञ्चोक । दोलखाको बिगु गाउँपालिका–१ देउरालीमा भीषण पहिरो खस्दा ६ जना पर्यटक लप्चीमै अड्किएका छन् ।
लामाबगर–खराने खोलामार्ग हुँदै लप्ची पुग्ने एक मात्र पैदल मार्गमा ठूलो पहिरो खसेपछि लप्ची पुगेका ४ जना विदेशी पर्यटक र उनीहरूका दुई नेपाली गाइडसहित ६ जना त्यहीँ रोकिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार लप्चीबाट फर्किने क्रममा ती पर्यटकहरू पहिरोको कारण बाटो बन्द भएपछि अड्किएका हुन् । उनका अनुसार उनीहरूलाई पहिरो क्षेत्रभन्दा माथि रहेको नासा हाइड्रोपावरको परिसरमा सुरक्षित राखिएको छ ।
चीन सीमासँग नजिक रहेको लप्चीमा बौद्ध गुम्बा र मेडिटेशन सेन्टर रहेको छ, जसले विभिन्न देशका पर्यटकहरूलाई आकर्षित गर्छ । अहिले पर्यटन सिजन चलिरहेका कारण सो क्षेत्रमा पर्यटकहरूको आवतजावत बढी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले तत्कालका लागि त्यस क्षेत्रतर्फको आवागमन रोक लगाएको जनाएको छ । साथै उज्यालो समयमा मात्र यात्रा गर्न र मौसमको अवस्था विचार गरेर हिँड्न अनुरोध गरिएको छ ।














