
जेन-जी आन्दोलनले पुरातन सोचमा चुनौती दिँदै पारदर्शी, समानतामूलक र भ्रष्टाचारमुक्त समृद्ध नेपाल निर्माणको यात्रामा सकारात्मक ऊर्जा प्रदान गरेको छ । जेन–जी पुस्ताको सचेत सहभागिताले देशमा आमूल सुधार र जनमुखी शासनको आधार खडा गरेको छ । यसर्थ, जेन-जी आन्दोलन र त्यसको बलिदानलाई सकारात्मक रुपमा हेर्न सकियो भने भावी पुस्ताले देशमै सुखको अनुभूति गर्न पाउने छन् । त्यसका लागि सबैभन्दा पहिला भ्रष्टाचारमुक्त देश बनाउन आवश्यक छ ।
२००७ सालदेखि हालसम्म नेपाललमा जतिसुकै राजनीतिक व्यवस्था परिवर्तन भए पनि त्यो परिवर्तनले आमनेपाली जनताको अवस्था परिवर्तन गर्न नसकेकै कारण जेन-जी पुस्ताले आन्दोलन गर्नुपरेको हो । जेन-जी पुस्ता पढेलेखेका र संसारको प्रगतिलाई नजिकबाट हेरिरहेका हाम्रा छोराछोरीको पुस्ता हो ।
उनीहरूको सपना ‘समृद्ध नेपाल’ हो । यही भावनालाई बुझेर हामी अगाडि बढ्न सक्यौँ भने समृद्ध नेपालको यात्रा यहीबाट आरम्भ गर्न सक्छौँ । समृद्ध नेपालको सपनालाई ओठेभक्ति बनाएर मात्र पुग्दैन । सबभन्दा पहिला नेपालको राजनीतिक परिवर्तनमा जेलनेल भोगेका नेताहरूले देश किन बिग्रियो ? देश बिग्रनुमा स्वयं आफैँ कति जिम्मेवार छौँ भन्ने कुराको आत्मालोचना गर्नुपर्छ ।
भदौ २३ र २४ गतेको आगो एकै झिल्कामा देशभर फैलिएको होइन, वर्षौँदेखिको कुशासन, भ्रष्टाचार, बेरोजगारी, अन्याय, अत्याचारमाथिको डढेलो हो । अब त्यो डढेलोबाट शिक्षा लिँदै राजनीतिक दलहरू र तिनका नेता-कार्यकर्ता सुध्रिएर अगाडि बढे भने भ्रष्टाचरमुक्त, सवल, सफल र समुन्नत देश बनाउन सकिन्छ । यही विश्वास आमनेपाली जनतामा जगाउन आवश्यक छ । त्यस्तो अवस्थामा अब देश बन्छ भन्ने आत्मविश्वास हरेक नेपालीमा जाग्छ । यो चिन्तनबाट अगाडि बढ्न सक्यौँ भने आजका जेन-जी पुस्ताले नयाँ नेपाल बनाएर छाड्छन् भन्ने विश्वास गर्नुपर्छ ।
हुन त देश एकैरातमा बन्दैन, त्यसमा पुस्तौपुस्ताको रगत, पसिना खर्चिनुपर्ने हुन्छ । त्यसका लागि लगानीको वातावरण, रोजगारीको ग्यारेन्टी, शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुँच आवश्यक छ । राजनीतिक दलहरूले चुनावी घोषणापत्रलाई विश्वासिलो बनाउनुपर्छ । जे गर्न सक्ने हो, त्यो कुरा मात्रै राजनीतिक दलले घोषणापत्रमा उल्लेख गर्नुपर्छ । जनतालाई ‘उल्लु’ बनाउने कुरा अब कसैले पनि पत्याउँदैनन् । विगत ३०-३५ वर्षदेखि सत्तामा रहेका उही पुराना दल र त्यही अनुहारले त्यतिबेलादेखि अहिलेसम्मको घोषणापत्रको समीक्षा गर्नुपर्छ । कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।
बिपी कोइराला र पुष्पलाल श्रेष्ठले पनि सात दशकअघि युवा अवस्थामै व्यवस्था मात्रै होइन, जनताको अवस्था परिवर्तन गर्नकै लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् भन्ने कुरा आजका दिनमा अनुयायीहरूले बुझ्नुपर्छ । त्यही कुरा बुझाउनका लागि नाति-नातिना पुस्ता आज आन्दोलनमा उत्रिएका हुन्, जो भोलिका नेतृत्व पुस्ता हुन् ।
तर, जेन-जी पुस्ताको आन्दोलनलाई ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास’ ठान्यौँ भने नेपाली राजनीतिले भयावह परिणाम भोग्नुपर्नेछ । आफ्नो गल्ती, कमजोरी ढाकछोप गर्न जेन-जी आन्दोलनलाई विदेशी शक्तिको खेल ठानियो भने त्यो अर्को मूर्खता हुनेछ । नेपालमा विदेशी शक्तिहरूको आ-आफ्नै स्वार्थ होलान्, त्यसलाई मलजल गर्न दिने यिनै नेताहरू हुन् । त्यसैले यी नेताहरूले हलुका टिप्पणी गरेर जेन-जी आन्दोलनको बलिदानीलाई बेवास्ता गर्नु अर्को भूल हुनेछ ।
प्रधानमन्त्री सुशीला कार्कीले यस्तो संकटको बेलामा अभिभावकीय जिम्मेवारी सम्हालेकी छिन् । जेन-जी आन्दोलनलाई सम्बोधन गर्ने उनको ठूलो आकांक्षा छ । राष्ट्र शोकमा डुबेको बेला उनले दशैँको टीकासमेत थापिनन् । उनको यो भावनालाई पछ्याउन सकिएन भने फागुन २१ मा निर्वाचन नहुने अवस्था बन्न सक्छ । त्यस्तो बेला नेताहरूले भन्ने गरेको जस्तो विदेशी शक्तिले परेड खेल्नेछ । हरेक दलभित्र विदेशी एजेन्ट सक्रिय भएकाले जेन-जी आन्दोलनको बलिदानीलाई सकारात्मक रुपमा ग्रहण गर्नु बुद्धिमानी हुनेछ ।











