
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब रूसबाट भारतले तेल नकिन्ने आश्वासन दिएको बताएका हुन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो छ । तर, भारतले रूसबाट तेल किन्दा म खुसी थिइनँ,’ उनले भने, ‘तर आज मोदीजीले मलाई भारतले अब रूसबाट तेल नकिन्ने आश्वासन दिएका छन् । यो ठूलो कदम हो । अब हामीले चीनलाई पनि यस्तै गर्न लगाउनु पर्छ ।’
अमेरिकाले अगस्ट ०२५ मा रूसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । यसअघि अमेरिकाले २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेको थियो ।
फेब्रुअरी २०२२ मा रूस–युक्रेन युद्ध सुरु भएपछि युरोपले रूसी तेलमा प्रतिबन्ध लगाउँदा रूसले तेल बिक्री एशियातर्फ मोडेको थियो ।











