काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ ।

असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही ठगी र बैङ्किङ कसुरको फरार अभियुक्त रहेको खुलेको हो ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याएको थियो । उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका वडा नम्बर २ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ ।
रोजन थापा मगर सहितका युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानबाट खुल्नमा आएको हो । रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउँछु भनेर उनले खाली चेक लिएका हुन् । प्रतिव्यक्ति १२ लाख लाग्छ भनेर उनले चेक लिएको पीडितहरूको भनाइ छ ।
पीडितहरूले सो चेकमा रकम भरेर बाउन्स गरेको भन्दै शाही विरुद्ध काठमाडौं प्रहरीमा उजुरी गरेका छन् । शाहीले जापान पठाउँछु भनेर पनि ठगी गरेको खुलेको छ । जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा यत्रतत्र छ । सरकार विस्तार भएसँगै उनले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउन थालेका हुन् ।










