
काठमाडौं । ओमानले एक महिलासहित १९ जना नेपाली डिपोर्ट गरेको छ । साइबर ठगी गतिविधिमा संलग्न भएका १९ जनालाई डिपोर्ट गरेको हो ।
जसमध्ये ११ जना बिहीबार नेपाल आइसकेका छन् । ७ जना सोमबार आउँदैछन् । दुई जनाको भने उडान तय भइनसकेको गैरआवासीय नेपाली सोसल क्लव ओमानले जनाएको छ ।
रोयल ओमान प्रहरीले उनीहरूलाई गत मार्च १० गते ओमानको सोहरबाट पक्राउ गरेको थियो । स्थानीय अदालतले ६ महिना कैद र तीन सय ओमानी रियाल जरिवाना लगाएको थियो । दुई जनालाई भने ६ महिना कैद र ६ सय रियाल जरिवाना लगाएको क्लवका अध्यक्ष सुरेश खड्काले बताए ।
अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न डिजिटल माध्यम प्रयोग गरी नक्कली रोजगारी, अनलाइन लगानी र सामाजिक सञ्जालमार्फत पैसा ठग्ने कार्यमा प्रयोग गरिएको बताइएको छ । रायल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा उक्त सञ्जाललाई पछ्याउँदै पक्राउ गरेको हो ।










