
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको महाकाली नदीमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ भाषीस्थित घर पुर्याइएका उनले आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो भने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए । अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर पनि सम्मान गरेका थिए ।
उनका वुवा महानन्द जोशीले दागबत्ती दिएका थिए । गाजामा अपहरणमा परेको २ वर्ष १३ दिनपछि फ्लाई दुबईको विमानबाट विपिनको शव नेपाल ल्याइएको थियो । उनको शव सोमवार साँझ काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल हुँदै घर पुर्याइएको थियो ।
सन् २०२३ अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा विपिन जोशी बन्धक बनाइएका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि गत असोज २७ गते हमासले इजरायली सेनालाई विपिनको शव हस्तान्तरण गरेको थियो ।










