
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएकी छन् ।
बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी हुन् ।
‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन् ।
११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शंखधर साःख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए ।
शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो ।
साःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताइन् ।










