काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले जेनजीका माग पूरा गर्न माओवादीसँगको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

‘जेनजी र माओवादी मिलेर चुनाव लडे मात्रै जेन–जीका माग पूरा हुन्छन्, अरुले यी माग बुझ्दैनन्,’ प्रचण्डले भने । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र समावेशी लोकतन्त्रको मुद्दा माओवादीले विगतदेखि उठाउँदै आएको बताए । यी मुद्दाविरुद्ध रहनेहरूले जेनजीको भावना नबुझ्ने उनको भनाइ छ ।
प्रचण्डले जेनजी युवालाई मित्र र बैरी छुट्याउन आग्रह गर्दै भने, ‘मित्रलाई बैरी र बैरीलाई मित्र ठान्नु देशका लागि दुर्भाग्य हुन्छ ।’ उनले जनयुद्ध र जनआन्दोलनका बेला आफू पनि जेनजी भएको स्मरण गरे । कार्यक्रममा ठूलो सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश भएको थियो । प्रचण्डले प्रवेश गर्नेहरूमा ६० प्रतिशत जेनजी युवा रहेको र मधेशमा भएको यो कार्यक्रम ऐतिहासिक भएको दाबी गरेका छन् ।










