काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका सङ्घको १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा दाहालले अष्ट्रेलियन सभामुखसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल गरिएको हो । अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।
१ लाख ८० हजार बढी नेपालीहरू अष्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययन गरिरहेको बताए । अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे ।
आइपियू महासचिव र भारतीय प्रतिनिधि मण्डलसँग भेट यसैबीच अध्यक्ष दाहालले जेनेभामा अनुराग सिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग भेट वार्ता गरेका छन् ।
भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अौपचारिक र देशबीचको मात्रै नभई जनता-जनताबीचको सम्बन्ध निकै बलियो रहेको बताए ।
नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।
त्यस्तै आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे ।
आइपियूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए । संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन अन्तर व्यवस्थापिका सङ्घसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालले बताए ।










